[अन्तर्वार्ता] प्रविधिले नेपाली स्राेतालाई भ्रममा पार्दैछ: हरि लम्साल

 

 

हरि लम्साल अहिले चलेका संगीतकारमध्ये पर्छन् । उनले संगीत दिएका पानीको फोकाजस्तै, चाइनाको रेल, परानै दिन्छुलगायतका गीतहरु चर्चित छन् । तिनै लम्सालसँग फरक धारका कमल विष्टले कुराकानी गरेका छन् । त्यही कुराकानीको सम्पादित अंशः

 

संगीतमा अनेक अप्सन छन् । तर, तपाईं अधिकांश समय मेलोडी नम्बरमा नै रमाइरहनु भएको छ । किन ? 

खासमा एउटा मानिस बाल्यकालमा जसरी हुर्किएको हुन्छ, त्यसले उसको पूरै जीवनलाई प्रभावित पार्दो रहेछ । मेरो हकमा पनि भएको त्यही हो । म मेलोडियस गीत सुनेर नै हुर्किएँ, बढेँ । नारायण गोपाल, भक्तराज आचार्य, प्रेमध्वज प्रधानलगायतका गीतहरु सुनेर म हुर्किएँ, सिक्दै गर्दा त्यस्तै गीतहरु गाउन थालेँ । त्यसबाट प्रशंसा पनि पाएँ । 



अनि काठमाडौं आएपछि मैले शास्त्रीय संगीत सिक्न थालेँ । यसको प्रभाव ममा धेरै रह्यो । शास्त्रीय संगीतमा हुने राग, आलापहरु मेलोडीयुक्त हुने भएकाले म पनि त्यसैमा रमाउन थालेँ । 

त्यसैले पनि हुनसक्छ, ममा मेलोडीको गहिरो छाप रह्यो ।



 

त्यसो त मेलोडी सबै प्रकारका गीतमा हुनसक्छ । तर, तपाईंका अधिकांश गीत किन ‘सिरियस’ छन् ?

हो, मेरा गीत सुनिसकेपछि स्रोतामा उदासीपनाको भावना आउँछ भन्ने मलाई पनि लाग्छ । तर, त्यसमा मात्रै पनि म केन्द्रित छैन, मेलोडीमै पनि रोमान्टिक गीतहरुमा पनि काम गरेको छु । हुनसक्छ, स्रोताहरुलाई मन परेका अधिकांश गीत चाहिँ सिरियस खालका भए । 

अनि मसम्म आउने गीतकार तथा गायक साथीहरुले पनि त्यस्तै गीत लिएर आउनु भयो । अब त्यस्ता शब्द आएपछि त्यस्तै भाव तय हुने भयो, त्यस्तै संगीत भर्नु पर्ने भयो । किनकि संगीतले त शब्दलाई न्याय गर्नु पर्यो नि । 

 

यसको अर्थ गीतको मुटु शब्द हो, अनि स्वर र संगीतले शब्दलाई नै न्याय गर्ने हो ? 

हो नि । शब्द र शब्दले बोक्ने भाव निकै महत्वको हुन्छ । जस्तै, मलाई कसैले शब्द दियो भने सबैभन्दा पहिले म ती शब्दका भाव हेर्छु । शब्द राम्रो लागेर मात्र होइन, ती शब्दका भावार्थ पनि राम्रो भयो भने मात्र म संगीत भर्छु । मेरो हकमा कुनै पनि गीतमा म त्यति बेला मात्र संगीत भर्छु जब गीतका शब्द र तिनका अर्थले हिर्काउँछ । 

फेरि, शब्दले नै एउटा गीत कस्तो हुन्छ भन्ने पूर्वानुमान गर्न पनि सहयोग गर्छ । शब्द त संगीतको बोली हो, आवाज हो । राम्रो गीतका लागि स्वर र संगीत पनि उत्तिकै महत्वपूर्ण हुन्छ, राम्रो हुनुपर्छ । तर, यो सब शब्द राम्रो भएमात्र हुन्छ । त्यसैले, शब्द त गीतको आत्मा हो, मुटु हो ।

 

आजभोलि यति धेरै गीत गाइएका छन् कि बजारमा सुनिन्छ– अब त गीत गाउन स्वर चाहिँदैन, एरेन्ज गर्यो, बनायो, शब्द भए पुग्यो, के नेपाली सांगीतिक क्षेत्र यो अवस्थामा पुगेको हो र ?

हो, यो कुरामा सत्यता छ । म यो स्वीकार्छु । अहिले प्रविधिको सहयोगले आफूलाई जस्तो मन लाग्यो, त्यस्तै आवाज बनाउन सकिन्छ । यसलाई पनि पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रको विकृतीका रुपमा चित्रण गर्न सकिन्छ । 

त्यति मात्र होइन, अहिले त सामाजिक सन्जालमा बुस्ट गरेर युट्युबमा धेरै भ्युज देखाउने प्रचलन पनि निकै बढेको छ । खासै राम्रो नभए पनि भ्युज धेरै आएको देख्दा नेपाली स्रोता त्यही गीत नै राम्रो गीत हो भन्ने भ्रममा पर्नु स्वभाविक हो । 

यसले गर्दा हाम्रो समाजमा त्यस्ता प्रतिक्रिया सुनिन थालेका हुन्, त्यस्ता प्रश्न उठ्न थालेका हुन् ।

 
बाहिर स्रोताले भन्नेमात्र होइन, यही क्षेत्रमा लागेका गायक तथा संगीतकार पनि एकअर्काको खुट्टा तान्ने बढ्दै छन् भन्ने सुनिन्छ नि ?

यो पनि साँचो हो । नेपाली संगीत बजारमा कुनै कम्पोजरको गीत हिट भयो भने अर्को कम्पोजरलाई थोरै इस्र्या पलाउनु त स्वभाविक पनि होला । यो त नेपालमा मात्र होइन, विश्वमै पनि हुन्छ होला । 

तर, हाम्रो समस्या कहाँनेर हो भने पछिल्लो समय यो अलिक विद्रुप हुँदै गएको छ । हाम्रो क्षेत्रका साथीभाइमा इगो बढी पलाउन थालेको अनुभूत हुन थालेको छ, एकअर्कासँग रिसाउनेहरु बढ्न थालेका छन् । यो चाहिँ अस्वस्थ प्रतिस्पर्धा बढिरहेको छ । यसबारे चाहिँ हामी अलिक सचेत हुनु पर्ने अवस्था आएको हो । 

हुन त मलाई पनि अरु राम्रा संगीत सुन्दा मनमा कताकता नरमाइलो लाग्छ । तर, यो नरमाइलो भनेको वा गुनासो भनेको आफैंप्रति हो । मैले किन गर्न सकिनँ भन्ने भावना विकास हुनु त स्वभाविक हो नि ! यस्तो बेलामा चाहिँ मैले आफैंलाई भन्छु– तैले अझ राम्रो गर्नुपर्छ । अनि म आफैंसँग प्रतिस्पर्धा गर्न थाल्छु । मलाई त लाग्छ, अरुको राम्रो सिर्जनालाई प्रोत्साहन गरेर, तारिफ गरेर अगाडि बढ्ने हो भने हामीले अझ बढी सिक्न सक्छौँ । 

 

पछिल्लो समय तपाईंहरु रोयल्टीको विषयमा लामो समय आन्दोलनमा रहनु भयो । अहिले आएर हेर्दा तपाईंलाई के लाग्छ, नेपाली संगीत कहाँ छ, के कुरा अझै खड्किरहेका छन् ?

मलाई लाग्छ, पहिले संगीत सुन्ने कुरा थियो । अहिले संगीत पनि हेर्ने कुरा बनाइएको छ । सूचना प्रविधिको विकास हुँदा यस्तो हुनु स्वभाविक हो, यसलाई सकारात्मक रुपमा पनि लिनु पर्छ ।

यसले नेपाली संगीतलाई अझ फराकिलो पनि बनाउँदै लगेको छ । तर, प्रविधिको अत्याधिक प्रयोगले स्रोताहरुलाई भ्रममा पनि पारिँदै गइएको छ भन्ने लाग्न थालेको छ ।

अर्कोतिर हामी सर्जकलाई सरकार तथा समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन आउन सकेको छैन । नेपाली संगीत दिनमा करोडौंको करोबार हुने ठाउँ हो । तर, यसलाई उद्योगका रुपमा विकास गर्न सकिएको छैन । कतिसम्म भने अहिलेसम्म रोयल्टीबारे खास धारणा पनि बनाउन सकिएको छैन ।

  • प्रकाशित मिति : जेठ ४, २०७६ शनिबार १२:३१:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया