कीर्ते मुद्दामा राजपाका दुई नेता जेल चलान

सप्तरी– राष्ट्रिय जनता पार्टी (राजपा)का दुई नेता जेल चलान भएका छन् । राजपा केन्द्रीय सदस्य बिपी यादव र हरि मण्डल कीर्ते गरी उपभोक्ता समिति गठन गरेको आरोपमा जेल चलान भएका हुन् ।

कीर्ते गरी उपभोक्ता समिति गठन गरी प्रदेश सरकारबाट २५ लाख रुपैयाँ झिकेको आरोपमा सप्तरी जिल्ला अदालतका न्यायाधीश उमेश कोइरालाको इजलासले उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

जिल्लाको अग्निसाइर कृष्णासवरण गाउँपालिका २ र ३ का सडकमा माटो तथा ग्राभेल गर्न भन्दै उनीहरुले कीर्ते उपभोक्ता समिति गठन गरी प्रदेश २ सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत २५ लाख रुपैयाँ लिएका थिए ।

गत वैशाख ५ गते यी दुबैलाई जिल्ला प्रहरी कार्यालय, सप्तरीको टोलीले पक्राउ गरेको थियो । अदालतले पूर्वाधार विकास डिभिजन कार्यालय सिरहाका प्रमुख राजकुमार गोइत तथा निर्माण सामग्री आपूर्तिकर्ता दिलीपकुमार दास र राजपाका स्थानीय नेता रमानन्द ठाकुरलाई रिहा गर्न आदेश दिएको छ । गोइतलाई ४ लाख र दास र ठाकुरलाई जनही दुई लाख ५० हजार रुपैयाँ धरौटी तोकिएको छ । 

पक्राउ परेकाहरूले गाउँपालिकाको लेटरप्याड, प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्षको छाप किर्ते गरी उपभोक्ता समिति गठन गरेको प्रहरीले आरोप लगाएको छ । 





  • प्रकाशित मिति : जेठ ६, २०७६ साेमबार १८:१०:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया