गाई पालनले फेरियो विष्णुदेवीको जीवनशैली

बेझाड– सात वर्ष अगाडि निकै कष्टसँग जीवन गुजारा चलाउन बाध्य रामपुर नगरपालिका–६ बस्ने विष्णुदेवी गैरेलाई अहिले गाईपालन व्यवसाय अर्थोपार्जनको माध्यम बनेको छ । 

आफ्नो परिवारमा कमाउने कोही व्यक्ति थिएन, व्यवसाय गर्न आफन्त, साथीभाइकहाँ ऋण सापटी माग्न पुग्दा सबै टाढिए । कसैको सहयोग र साथ नपाएपछि लालपुर्जा बैंकमा धितो राखेर सात वर्ष अघि नवलपरासीबाट रु ८० हजारमा होलस्टिन र जर्सी जातका गाई खरीद गरेर व्यवसाय शुरु गरेकामा गोठमा गाई बाध्न थालेको दिनदेखि आम्दानी गर्ने गतिलो माध्यम बनेको उनले जानकारी दिइन् । 

दूध बिक्रीबाट राम्रो आम्दानी हुँदै गएपछि व्यवस्थित गोठ निर्माण र गाईको सङ्ख्या पनि थप गर्दै जाँदा अहिले उनको फार्ममा छ वटा माउ गाई र छ वटा कोरली बाँच्छी छन् । 'चार गाई ब्याउने छन् अहिले दुई दुहुना गाईबाट ३० देखि ३५ लिटरसम्म दूध उत्पादन भइरहेको छ' भनिन् । दूध बिक्रीबाट खर्च कटाएर मासिक रु ३५ हजार बराबर आम्दानी गैरे गर्छिन् । 

दूध बिक्रीका लागि बजार सहज भएकाले पनि व्यवसायमा हौसला झन बढ्दै गएको गैरेले बताए । प्रतिलिटर रु ५५ मा दूध बिक्री भइरहेको छ । ‘पहिला निकै दुःख थियो आयस्रोत नहुँदा गाईपालन व्यवसाय चलाएपछि अहिले दिनहुँ हातमा दाम परिरहेको छ’, उनले भनिन् । गैरे जिल्लामै नमूना गाईफार्म सञ्चालन गर्ने एक अगुवा महिला कृषक हुन् । 

सात लाख खर्चिएर व्यवसाय शुरु गर्दै जाँदा अहिलेसम्म रु १५ लाख जति लगानी गरिसकेकी गैरले दुई चार पैसा आवश्यक परेका बेला समाजमा ऋण माग्दा पैसा सापटी नदिनेका अगाडि अहिले अरूलाई ऋण दिनसक्ने हुनाका साथै पाँच जनाको परिवार अहिले सुखसँग पाल्न, घर व्यवहार चलाउन र दुई छोरालाई उच्च शिक्षा पढाउन सजिलो भएको बताउँछिन् । 

गोठको क्षेत्रफल बढाएर ५०/६० वटा सम्म गाई पाल्ने लक्ष्य रहेको उनले बताइन् । मेहनत गरियो भने अवस्य पनि सफलता मिल्दो रहेछ भन्ने अनुभव म आफैँले लिएकी छु– उनले भनिन् ।  





  • प्रकाशित मिति : जेठ ६, २०७६ साेमबार २३:३१:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया