एजेन्सी– भारतमा १७ औं लोकसभाका लागि सात चरणमा भएको निर्वाचनको मत परिणाम आउन थालेको छ । ५४२ सिटका लागि भएको निर्वाचनको मतगणना बिहिबार विहानबाट सुरु भएको हो ।
यो निर्वाचनमा पहिलो पटक भिभिपिटी (भोटर भेरिफियबेल पेपर अडिट ट्रायल) को प्रयोग गरिएको छ । यसले गर्दा त्यहाँको निर्वाचन परिणाम आउन केही समय लाग्छ । यो प्रक्रिया भनेको इलेक्ट्रोनिक भोटिङ सँगसँगै पेपर भोटिङको पनि मिलान हो । यो माग त्यहाँको विपक्षी दलले मागेको हो ।
केही विपक्षी दलले त इभिएममाथि पनि आशङ्का राखेका थिए । तर, त्यहाँको निर्वाचन आयोगले यसलाई खारेज गरिदिएको छ ।
इभिएमको मतगणना गर्दा पनि भारतमा राजनीतिक दलका नेताले आफ्ना एजेन्ट मत गन्ने ठाउँमा राख्छन् । मतगणनाका लागि खटिएका अधिकारीले सपथ लिएपछि प्रत्येक मतदान केन्द्रको मत गन्छन् र एउटा क्षेत्रको जोडेर बल्ल नतिजा बाहिर ल्याउँछन् ।
सबैभन्दा पहिले पोस्टल मतपत्रको गणना हुन्छ । त्यसपछि इभिएमको ।
भारतीय निर्वाचन आयोगले जनाएअनुसार इभिएमका मत गनिसकेपछि मात्र त्यहाँ कागजी मतसँग मिलना गरिन्छ । यसको गणना चाहिँ छुट्टाछुट्टै मतदान केन्द्रमा हुन्छ ।
यो निर्वाचनमा भारतमा ३९.६ लाख इभिएम मेसिन र १७.४ लाख भिभिपिएटी मेसिनको प्रयोग गरिएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।