पलेँटीमा शान्ति ठटाल

काठमाडौं–  सांगीतिक कार्यक्रम‘पलेँटी शृङ्खला’मा यो महिना दार्जिलिङ र सिक्किमको सङ्गम हुने भएको छ । कार्यक्रमका लागि दार्जिलिङबाट संगीतकार शान्ति ठटाल आफ्नो टिम लिएर काठमाडौं आइपुगेकी छिन् । उनले गान्तोकका दुई गायिका बिमला सेन्चुरी प्रधान र अंजली प्रधानलाई पनि सँगै लिएर आएकी छिन् । 

शान्ति ठटाल नेपाली संगीतका सबै विधामा क्रियाशील सफल संगीतकार हुन् । उनले फुटकर गीत बाहेक काव्य(संगीत अथवा क्यान्टटा, गीति नाटक, चलचित्रलगायत विविध विधामा सफलता प्राप्त गरेकी छिन् । 

पलेँटीमा सहभागी हुन आएका बिमला सेन्चुरी प्रधान र अन्जली प्रधान लामो समयदेखि शान्ति ठटालकै सानिध्यमा रहेर निखारिएका कण्ड शिल्पी हुन् ।

बिमला सेन्चुरीले गाएको चलचित्र ‘बाँच्न चाहनेहरू’ का गीत‘नयाँनयाँ घामको किरण’ र ‘मिठो मिठो तिम्रो साथ मिठो’ सर्वकालिक गीतहरूको पङ्तिमा पर्छन् । 

सन् २००५ मा थालिएको पलेँटीमा शान्ति ठटालले यसअघि पनि आफ्नो प्रस्तुति दिएकी थिइन् । उनले सन् २००६ को पलेँटीमा नै जीवनको पहिलो एकल गायन प्रस्तुत गरेकी थिइन् । 

‘पलेँटीमार्फत् शान्ति दिदीसँग संगत गर्न पाउनु संगीत महाविद्यालयमा पढ्नु जत्तिकै हो । उहाँको सृजनशीलताले सँधै क्रियाशील हुन प्रेरित गर्छ । आठ दशक पार गरिसक्नु भएको शान्ति दिदीको सृजनात्मक सक्रियता देख्दा साँच्चै लोभ लाग्दो छ,’ शान्ति ठटालबारे पलेँटी संयोजक आभासको टिप्पणी छ । 



यही महिना १७ गते शुरु हुने शान्ति ठटालसँगको पलेँटी ३ दिनसम्म चल्ने छ । पलेँटी शान्ति ठटालसँगको सांगीतिक यात्रामा आधारित हुनेछ । कार्यक्रममा पलेँटीको शुरुवातदेखि नै संचालन गर्दै आएका संगीतकर्मी आभासले शान्ति ठटालसँगको संगतका सन्दर्भसहित आफ्ना सम्झना सुनाउँदै ठटालसँग अन्तर संवाद पनि गर्नेछन् ।

‘मैले शान्ति दिदीलाई सन् १९९४ मा पहिलो खेप भेटेको हुँ । त्यसयता कैयौं खेप उहाँसँग सांगीतिक, साहित्यिक र सामाजिक विषयमा विचार विमर्श भए । उहाँमा मैले कहिल्यै नकारात्मक सोचको झल्को  पाएको छैन । त्यही सकारात्मक भावको आभा यसपालीको पलेँटीमा पनि फैलने छ,’ आभासले बताएका छन् । 



पलेँटीका लागि गीत छनोट गरिरहेकी संगीतकार ठटाललाई यसपालीको आगमनबारे सोध्दा उनले प्रतिक्रिया दिइन्, ‘म यसभन्दा पहिले पनि धेरै खेप पलेँटी कार्यक्रममा संलग्न भइसकेकी हुँ । तर म जति खेप यहाँ आउँछु हरेक खेप नयाँ सांगीतिक ऊर्जा भेट्छु । आफ्नो उमेर पनि बिर्सन्छु । जाँगर बढ्छ । पलेँटी त मलाई आफ्नै घरको बैठक जस्तो पो लाग्छ ।’ उनले थपिन्, ‘झन् यसपाली त मेरा दुई छोरी जस्ता गायिका साथमा आएका छन् । यिनको मप्रतिको माया र संगीतप्रतिको मोहले मलाई झन् उत्साही बनाएको छ ।’

शान्ति ठटालको छेउमै गीतको डायरी लिएर बसेकी गायिका बिमला सेन्चुरी मुसुक्क हाँस्दै भन्छिन् ‘शान्ति दिदीसँग सांगितिक संगत गर्न नपाएको लामो समय भएको थियो । पलेँटीले यति सुन्दर मौका जुराइदियो । सारा घरेलु  नियमितताबाट टाढा रहेर संगीतमा रमाउन पाउँदा खुशीको सीमा नै छैन ।’

अर्की गायिका अंजली प्रधान बिमलाको कुराले उत्साहित हुँदै भन्छिन्, ‘यो त जीवनकै अद्भूत अनुभव हो । यसरी शान्ति आन्टीसँग हरदम संगीतकै बारेमा कुराकानी गर्दै गाउँदै बस्न पाउनु हाम्रो अहोभाग्य हो । हामी कति भाग्यमानी !’ शान्तिदिदीतिर हेर्दै अंजली मुस्काउँछिन् । 

कालिकास्थानस्थित नेपालयको ‘आर’ शालामा आयोजना हुने पलेँटीमा शान्ति ठटाल र उनको टीमलाई वाद्यवादनतर्फ किबोर्डमा दिनेश रेग्मी, तबलामा सन्देश महर्जन, गिटारमा सुरज प्रधान, प्रकसनमा सुन्दर महर्जन र बाँसुरीमा बलराम समालले साथ दिनेछन् ।

यसपटक पलेँटी शृङ्खलामा ठटाल नयाँ सिर्जनासहित १७, १८ र १९ जेठमा नेपालयको ‘आर. शाला’मा सुनिँदै छिन् ।

  • प्रकाशित मिति : जेठ ९, २०७६ बिहीबार १३:२५:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया