नयाँ दिल्ली– भारतमा लोकसभा निर्वाचनको मतगणना जारी छ । मुख्यमन्त्री ममता बेनर्जीको तृणमूल कांग्रेसको पकडक्षेत्र पश्चिम बंगालमा यसपटक प्रधानमन्त्री मोदीको भाजपाले दमदार उपस्थिति देखाएको छ । सन् २०१४ को चुनावमा केवल २ सिट जितेको भाजपाले यसपटक १७ सिटमा अग्रता लिएको छ ।
ममता बेनर्जी प्रधानमन्त्री मोदीका कट्टर आलोचक हुन् । चुनावी अभियानका क्रममा समेत यी दुई नेता एकअर्काप्रति निकै कठोर र अनुदार देखिएका थिए । आफ्नो राज्यमा भाजपाको अनपेक्षित लहर देखिएपछि कोहीबेरअघि ममताले ट्विट गरेर ‘जित्नेहरुलाई बधाई’ दिएकी छिन् ।
ट्विटमा उनले ‘हार्नेहरु पनि हरुवा नभएको’ उल्लेख गरेकी छिन् । सत्तारुढ दलले इलेक्ट्रोनिक भोटिङ मेसिनमा गडबडी गर्न सक्ने सन्देह प्रकट गर्दै आएकी ममताले पछिल्लो ट्विटमा समेत आफ्नो सन्देहको झल्को दिएकी छिन् । ‘हामीले पूरा समीक्षा गर्नुछ । त्यसपछि हामी आफ्नो दृष्टिकोण सबैसामु प्रस्तुत गर्नेछौँ,’ ममताले लेखेकी छिन्, ‘पहिले मतगणना सकियोस् र भिभिपिएटीसँग म्याच गर्ने काम पूरा होस् ।’
Congratulations to the winners. But all losers are not losers. We have to do a complete review and then we will share our views with you all. Let the counting process be completed fully and the VVPATs matched
— Mamata Banerjee (@MamataOfficial) May 23, 2019
भिभिपिएटी अर्थात् भोटर भेरिफाएबल पेपर अडिट ट्रायल भारतमा पहिलोपटक प्रयोगमा ल्याइएको पद्दति हो, जसले इलेक्ट्रोनिक भोटिङ मेसिनबाट प्राप्त मतगणनाको नतिजालाई पेपर स्लिपसँग मिलान गर्छ । यसले भोटिङ मेसिनमा कुनै गडबडी भएको भए त्यसलाई पत्ता लगाउँछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।