प्रेस स्वतन्त्रताको आन्दोलनमा नआउनेलाई पत्रकार महासंघको नेतृत्वमा छिर्नै नदिऔँ – गाेविन्द आचार्य

काठमाडौं– नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले अहिलेको प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको आन्दोलनमा नलाग्ने या यसको विरोध गर्नेलाई पत्रकार महासंघको आगामी नेतृत्वमा ठाउँ दिनै नहुने बताएका छन् । प्रेस स्वतन्त्रताकै विरोध गर्नेहरु महासंघको नेतृत्वमा पुगे भने प्रेस र अभिव्यक्ति स्वतन्त्रता धरापमा पर्ने उनको धारणा छ ।

नयाँ बानेश्वरमा आज सम्पादकहरुसँगको अन्तरक्रियामा बोल्दै महासंघ अध्यक्ष आचार्यले प्रश्न गरे, ‘त्यस्ता पात्रहरु, अभिव्यक्ति स्वतन्त्रताका विरोधीहरु नेतृत्वमा आए भने पत्रकार महासंघ कस्तो होला ?’

सरकारले संसद्मा प्रस्तुत गरेको मिडिया काउन्सिलसम्बन्धी विधेयकको विरोधमा पत्रकार महासंघले थालेको आन्दोलन सफल हुने दाबी गर्दै उनले भने, ‘प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको आन्दोलन हार्ने आन्दोलन होइन । हार्ने इस्यु हामीले उठाएकै छैन । जसले यस्ता कानुन ल्याउँछन्, तिनीहरुचाहिँ हार्छन् । इतिहासले यही भन्छ ।’

सरकारले संसद्मा विधेयक दर्दा गर्नुअगाडि नै सञ्चारमन्त्रीलाई ज्ञापनपत्र बुझाएको स्मरण गर्दै उनले भने, ‘संसद्मा विधेयक लैजानुभन्दा पहिले नै लिखित रुपमा सञ्चारमन्त्रीलाई ज्ञापनपत्र दिएर सरोकारवालासँग छलफल गर्न माग गरेका थियौँ । तर, छलफल नगरी २६ गते संसद्मा लगियो ।’

यसबीच नेपाल पत्रकार महासंघले नागरिक अगुवा तथा मानवअधिकारकर्मीहरुसँग पनि छलफल गरेको आचार्यले बताए । विभिन्न पेसागत संगठनले पत्रकारको आन्दोलनमा ऐक्यबद्धता जनाएको बताउँदै आचार्यले यो आन्दोलनमा ०६२÷०६३ को जनआन्दोलनमा भूमिका खेलेका नागरिक समाजका अगुवा र मानवअधिकारर्मीको समर्थन रहेकाले अब आफू एक्लो नभएको जिकिर गरे । 

मिडिया काउन्सिलसम्बन्धी विधेयकको विरोधमा यतिबेला नेपाल पत्रकार महासंघ दोस्रो चरणको आन्दोलनमा छ । महासंघको आन्दोलनमा सम्पादक समूहले पनि ऐक्यबद्धता जनाएको छ ।





  • प्रकाशित मिति : जेठ ११, २०७६ शनिबार १४:५८:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया