अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाकाे कम्पाउन्ड भत्काइयाे, १६ स्थानीय पक्राउ

चितवन– धुर्मुस सुन्तली फाउन्डेसनकाे संयाेजकत्वमा चितवनकाे रामपुरमा निर्माण गर्न लागिएकाे गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको तारबार बुधबार स्थानीयले भत्काएका छन्। करिब एक किलोमिटर लम्बाइकाे बार स्थानीयले एक्साभेटर लगाएर भत्काएका हुन् । 

बुधबार बिहान ६ बजे एक्साभेटरसहित पुगेकाे स्थानीयकाे समूहले रंगशालाको पश्चिमतर्फ रहेको तारबार र जस्ताको बारसँगै कृषि तथा वनविज्ञान विश्वविद्यालयकाे जग्गामा रहेकाे तारजाली पनि भत्काएका छन् । 

स्थानीयले बाटो बढाउन रंगशाला निर्माण गर्न दिइएको जग्गातर्फ जमिन छाड्नुपर्ने माग राख्दै आएका थिए। डिटेल प्रोजेक्ट रिपोर्ट आइसकेपछि कति बाटो छाड्न मिल्ने नमिल्ने बारेमा छलफल गरौंला भनेर स्थानीयसँग कुराकानी गरेर नै बार लगाइएकाे फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल बताउँछन् । 

धुर्मुस सुन्तली फाउन्डेसनले २० बिघा ६ कट्ठामा बनाउन लागेको रंगशालाले ओगट्ने क्षेत्रलाई फलामको पाइप राखेर टिन लगाएर घेरिएकाे थियाे । निर्माणस्थल सुरक्षित गर्न र निर्माण स्थलमा रहेका सामग्री र मेसिनको सुरक्षा गर्न समेत कम्पाउण्ड गर्नमा ढिलाइ भइसकेकाले पश्चिममा टिन लगाएर बार बनाउन स्थानीयसँग पनि पटकपटक छलफल गरिएको उनले बताए।

देशका लागि केही गराैं भनेर लाग्दा यस्ताे घटना हुनुले आफूलाई निकै दुखी बनाएकाे सीताराम बताउँछन् । 

नेकपाका स्थानीय नेता प्रकाश कँडेल, धुर्मस–सुन्तली फाउन्डेसनको साइट कार्यालयका घरबेटी सुरेन्द्र विकलगायतका मानिसको सहभागितामा उक्त बार भत्काइएकाे उनले बताए।



घटनामा संलग्न भएको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले १६ जनालाई पक्राउ गरेको छ। रंगशाला निर्माणका लागि अहिलेसम्म साढे ६ करोड रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता प्राप्त भएको फाउन्डेसनले जानकारी दिएकाे छ।

धुर्मुस सुन्तली फाउन्डेसनले विज्ञप्ती जारी गर्दै उक्त घटनाले आफूहरुलाई निकै चाेट पुगेकाे र सहयाेगी तथा समर्थक सबैमा पर्न गएकाे प्रतिकुलताप्रति क्षमा मागेकाे उल्लेख गरिएकाे छ ।  



यस्तै भाैतिक सम्पत्ति तथा कामदार, कर्मचारीहरुकाे जीउ ज्यानकाे सुरक्षामा गम्भीर परिस्थिति सिर्जना भएकाे र कार्यवातावरण तयार नहुँदासम्म सबै काम स्थगित गरिएकाे जनाएकाे छ । 

  • प्रकाशित मिति : जेठ १६, २०७६ बिहीबार ९:०:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया