प्रकाश सपुतको गलबन्दी– लामो संघर्षपछिको एउटा सफलता
प्रकाश सपुतकाे फेसबुकबाट

अहिले युट्युब, टिकटक तथा अन्य सामाजिक सन्जालमा हिट छ, एउटा गीत– गलबन्दी । यही गीतमा अनेक टिकटक भिडियो बनेका छन् ।

र, यसले खुसी बनाएको छ, प्रकाश सपुतलाई । किनकि यसरी एकाएक हिट र भाइरल हुनु उनको कल्पना बाहिरको कुरा थियो । 

‘केही फरक गर्छु भन्ने त सोचेको थिएँ,’ कार्यक्रमको सिलसिलामा विश्वको सर्वोच्च शिखर सगरमाथाको फेदैमा सोलुखुम्बु पुगेका सपुतले फोनमा भने, ‘तर, यति धेरै होला भन्ने पनि थिएन ।’

नेपालका गाउँघरसँग सम्बन्धित छ, रोधी बस्ने परम्पार । रोधी गीत गाउने त्यही संस्कृतिको विकसित रुप हो, सपुतले गाएको गलबन्दी । ‘रोधी संस्कारसँग सम्बन्धित यो गीत धेरैले मन पराइदिनु भयो,’ उनले भने, ‘हुन त यो दोहोरी नै हो, तर मैले यसको प्रिजेन्टेसनमा अलिक फरक गरेको छु ।’

त्यो फरक पन भनेको गीतको भिडियो हो । गाउँले परिवेशमा खिचिएको प्रकाशको यो गीतको भिडियो छोटो समयमा नै धेरैले हेरिसकेका छन् । ४ दिनअघि रिलिज गरिएको भिडियो युट्युबको ट्रेन्डिङमा दुई नम्बरमा छ । ३० लाखभन्दा धेरैले यो भिडियो हेरिसकेका छन् । 

‘अब त गीत सुन्नेभन्दा हेर्ने बढी हुने भयो,’ सपुतले भने, ‘यो गीतमा पनि मैले यो कुरालाई ध्यानमा राखेको थिएँ, त्यसैले त्यस्तो भिडियो बनेको हो ।’



तर, के सपुतलाई गीतमा आएको यो बदलाव मन परिरहेको छ त ? 

‘हुन त एउटा सर्जकका हिसाबले स्रोतासम्म पुग्ने हो,’ उनले भने, ‘गीत तथा सिर्जना भनेको अभिव्यक्तिको माध्यम हो, आफूलाई अभिव्यक्त गर्न पाए पुगिहाल्यो ।’ तर, योसँगै उनको केही रिजर्भेसन पनि छ । त्यो हो– गीतहरुबाट भिडियोलाई बढी प्राथमिकता दिँदा गीतका शब्दमाथि वा कम्पोज र संगीतमाथि अलिक अन्याय हुनसक्छ ।



‘तर, कहिलेकांही भिडियोहरु बनाउँदा झन् फाइदा पुग्छ,’ सपुतले भने, ‘गलबन्दीमा पनि शब्दहरु ठिकै छन्, यसको भिडियोले यसलाई जीवन्त बनाएको छ ।’

यस्तो आभास सपुतलाई किन पनि लागेको छ भने गलबन्दीको भिडियो सशक्त हुँदैनथ्यो भने दोहोरी न हो यो भनेर गीत कतै हराउन सक्ने आशङ्का उनको छ ।

तर, यो सब हुनुमा उनको सपना सबैभन्दा बढी जिम्मेवार छ । उनले कुनै समय सपना देखेका थिए, ‘म केही न केही गर्छु ।’

त्यसैले आर्थिक अभाव, पारिवारिक संघर्ष, जेठो छोरो हुनुको कर्तव्यबोध, काठमाडौंमा पाएका दुःख सबैलाई आफ्नो सफलताका लागि पाइला मानेर अगाडि बढिरहे प्रकाश । ‘संघर्ष गरेपछि सफल भइन्छ,’ उनले भने, ‘पहिले मैले सफल व्यक्तिहरुको संघर्षको कथा पढेको थिएँ, अहिले त आफ्नै जीवनमा पनि ती कथाहरुको अंश पाउन थालेको छु ।’

 

हेर्नुस् गीतकाे भिडियाे:

 


  • प्रकाशित मिति : जेठ १६, २०७६ बिहीबार १६:१९:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया