[लघुकथा] आमाको चित्र

आज स्कुलमा चित्रकला प्रतियोगिता हुँदैछ भन्ने सुन्दा मेरो मन खुसीले उफ्रिरहेको थियो । साथीहरू मलाई हेर्दै ‘तेरो जस्तो चित्र कसैले बनाउन सक्दैन’ भन्दै आफूहरू नजित्ने पक्का गर्दै म पट्टि फर्किरहेका थिए । म पनि कम खुसी भएको थिइँन ।

किनकी मलाई चित्र कोर्न मन पर्छ। एकपटक मिसले पढाईरहँदा उहाँको चित्र कोर्दै थिएँ । साथीले कुरा लगाइदिएर पिटाई पनि खाएँ ।

त्यो पिटाईले मलाई आजजस्तो धेरै कहिल्यै दुखेन । तर,आज पिटाई नखाँदा नै मन दु:खेजस्तो भइरहेको छ । सबै चित्र बनाउन व्यस्त छन् । मेरा भने आँसुले कापीका पाना भिजिरहेका छन् । सँगैको साथीले मेरो आँसु देखेर बोल्ने आँट गरेको छैन ।  

एक्कासी समय सक्कियो । मिसको आवाजसँगै म तर्सिएँ । के जवाफ दिने ? मिस मेरै अघिल्तिर आउनुभयो । खै त तिमीले बनाएको चित्र ?  

म बोल्न सकिँन । खै त चित्र ? अब बोल्नै पर्ने भयो । मिस ! मैले मान्छे नै चिनेको छैन । कसरी बनाऊँ ?  म जन्मने बित्तिकै उहाँ स्वर्ग जानुभएको रे ! खै,अझै आउनु भएको छैन ।  

घरमा फ्रेम हालेर माला लगाएर राखिएको तस्बिरलाई सबैले ‘तेरो आमा यही हो’ भन्छन् । तर, त्यो तस्बिरले छोरी भनेर नबोलाएपछि म कसरी आमालाई चिनूँ ? ‘अलच्छिनीले आमालाई टोकी’ यस्तै–यस्तै शब्द मात्र सुनेकी छु । आमालाई कसरी टोक्न सक्छु ? 



एक पटक देख्न सम्म पाएको छैन । अनि,मिस ! तपाईं नै भनिदिनुस्  ? आमाको चित्र कसरी बनाऊँ ? 
 



  • प्रकाशित मिति : जेठ १७, २०७६ शुक्रबार १८:२०:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया