लाेकसेवा आयाेगमा राष्ट्रिय अपांग महासंघकाे धर्ना
वरिष्ठ उपाध्यक्ष भन्छन्– आयोगले हामीलाई उपेक्षा गर्यो, संविधानले दिएको अधिकार खोस्न खोज्यो, माग पूरा नभए कडाभन्दा कडा आन्दोलन गर्छौं

काठमाडौं– लोकसेवा आयोगले कर्मचारी आवेदन माग्दा आफूहरुलाई उपेक्षा गरेको भन्दै राष्ट्रिय अपांग महासंघले अनामनगरस्थित आयोगको केन्द्रीय कार्यालयमा धर्ना दिएको छ । 

आयोगले १५ जेठमा स्थानीय तहका लागि गरेको कर्मचारी विज्ञापनमा आफूहरुलाई बेवास्ता गरेकाले विरोधस्वरुप धर्ना बस्नुपरेको महासंघका वरिष्ठ उपाध्यक्ष रमेश लामाले बताए । 

‘नेपालको संविधान र निजामती ऐनमै अपांगता भएका व्यक्तिहरुका लागि पाँच प्रतिशत आरक्षणको व्यवस्था गरिएको छ,’ फरकधारसँग कुरा गर्दै लामाले भने, ‘लोकसेवा आयोगले हामीलाई बेवास्ता गरेर कर्मचारीका लागि विज्ञापन गर्यो ।

हामी चाहन्छौँ, अपांगता भएका व्यक्तिहरुको अधिकारलाई कटौती गरेर गरिएको विज्ञापनलाई आयोगले पनुर्विचार गरोस् । यो विषयसँग प्रत्यक्ष सरोकार राख्ने महानुभाव तथा सरकारका अंगहरुले आयोगलाई दबाब दिऊन् ।’

लोकसेवाले गरेको विज्ञापनलाई गैरसंवैधानिक र असमावेशी भन्दै वरिष्ठ उपाध्यक्ष लामाले संविधान र निजामती ऐनले नै सुनिश्चित गरेको अधिकारलाई लोकसेवा आयोगले कुन्ठित गर्न खोजेको आरोप लगाए । आफूहरुको मागलाई आयोगले सुन्नेमा विश्वस्त रहेको बताउँदै उनले भने, ‘लोकसेवा आयोगको ध्यानाकर्षण होस् भनेर आयोगका अध्यक्षलाई ज्ञापनपत्र बुझाएका छौँ । मलाई लाग्छ, उहाँले हाम्रो मागलाई बुझेर सम्बोधन गर्नुहुनेछ ।’

ध्यानाकर्षणपछि पनि आयोगले नसुने कडाभन्दा कडा आन्दोलमा उत्रने लामाले चेतावनी दिए । 



आफूहरुले उठाएको विषय अपांगता भएका व्यक्तिहरुको मात्र नभएर दलित, जनजाति, अल्पसंख्यकको पनि भएकाले उनीहरुसँग पनि सहकार्य गर्ने र जसरी भए पनि आफ्नो अधिकार सुनिश्चित गराएरै छाड्ने उनले बताए । 
 



  • प्रकाशित मिति : जेठ २०, २०७६ साेमबार १५:३६:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया