Thu, 27 Jun, 2019


[ब्लग] जति पाउनु थियो, त्योभन्दा ज्यादा पाएँ
शंकर महादेवन
फरकधार / जेठ २३, २०७६

भएको राम्रो जागिर छाडेर एक कठिन बाटो हिँड्ने निर्णय गर्नु मेरा लागि मात्रै होइन, कसैका लागि पनि सहज हुँदैन । म काम गरिरहेको कम्पनी राम्रो थियो । काम पनि सजिलो, आम्दानी पनि राम्रो । बाहिर हिँडडुल गर्नु नपर्ने, दिनभर एसी भएको कोठमा बसेर आनन्दसाथ काम गर्ने । 



फेरि, कम्पनीले मलाई आठ–नौँ महिनापछि अमेरिका पठाउँदै थियो, जहाँ मेरो जीवन कायापलट हुन सक्थ्यो । मेरा अन्य साथीहरुको जस्तै मेरो तलब पनि डलरमा आउने थियो । अन्य साथीहरुजस्तै मेरो पनि न्यु जर्सीमा एउटा सानदार घर हुन्थ्यो । त्यहाँ कारहरु, ब्रान्डेड कारहरु पनि सस्तै हुने भएकाले मेरो पनि एउटा ब्रान्डेड कार हुन्थ्यो । म ती सबै कुरा सहजै हासिल गर्न सक्थेँ, जुन यहाँ एउटा आम मान्छेले हासिल गर्न आफ्नो पूरै जीवन सुम्पिनुपर्थ्यो । 

तर, त्यो लग्जरियस लाइफ, अझ भनौँ वास्तविकतामा परिणत गर्न सकिने स्वप्नील संसारका अलावा यहाँ मेरो बेग्लै संसार थियो । जसले मलाई न त्यो जागिर सधैँ गरिरहन दियो, न त अमेरिका गएर महत्वाकांक्षी जीवन बिताउने सपना पालिरहन दियो । त्यो थियो, संगीतको संसार । ती सबैको मोहबाट टाढा रहेर मैले संगीतको बाटोमा हिँड्ने निर्णय गरेँ, जतिसुकै गाह्रो भए पनि । 

तर, संगीतको बाटो यति कठिन बाटो थियो, जसबाट हिँड्दा मैले कुनै गीत रेकर्ड गर्न पाउँछु कि पाउँदिन भन्ने पनि निश्चित थिएन ।

यदि तपाईं जीवनमा केही गरिरहनुभएको हुनुहुन्न र तपाईंलाई संगीत आउँछ भने तपाईंसँग संगीतलाई रोज्नुको विकल्प हुँदैन । तर, तपाईंको जीवन राम्रो बाटोमा राम्रौसँग चलिरहेको छ भने यस्तो निर्णय लिन साह्रै कठिन हुन्छ । 

यस्तो अवस्थामा ती मान्छेहरु काम लाग्छन्, जो हाम्रा आफ्ना हुन् । जो तपाईंको साथमा छन् र तपाईंलाई माया गर्छन् । मैले घरमा यो कुरा राख्दा उहाँहरुले निरुत्साहित गर्नुभएन । कतिसम्म भने, यति राम्रो जागिर छाडेर, अमेरिका जान पाउने अवसरलाई जानी–जानी लात हानेर संगीत गर्छु भन्दा कसैले ‘यति राम्रो जागिर किन छोड्दै छस्, बेबकुफ ?’ पनि भनेनन् । 

एउटा चिन्ता भने सबैमा व्याप्त थियो, म स्वयंमा पनि थियो । तर, त्यो चिन्तालाई न कसैले आफ्नो टाउकाको बोझ बनाएर राखे, न त मैले नै । किन कि, मेरो परिवार, साथीहरुलाई राम्रोसँग थाहा थियो कि, अब शंकर आफूलाई पूर्णरुपमा पोख्न चाहन्छ र आफूलाई संगीतमै समर्पित गराउन जाँदै छ । मेरो संगीतप्रतिको लगाव र इच्छा देखेर नै हेला, उहाँहरुले पनि मलाई खुलेरै सपोर्ट गरेको । 

मेरो परिवार र हितैषी साथीहरु भन्थे, ‘एक करोडजना इन्जिनियर हुन सक्छन्, तर शंकर महादेवन कोही एक विशेष हुन्छ ।’ 

यो भरोसा आफ्नो गन्तव्यतर्फ अगाडि बढ्नका लागि पर्याप्त थियो । सबैले मलाई एउटा कुरा स्मरण गराइरहे– जे पनि गर्दै छौ, एकदमै सोची–विचारी गर । तर, मैले कहिल्यै संघर्ष गर्नुपरेन । यो मानेमा म भाग्यमानी भएँ । म यो कुरा स्विकार्न हिच्किचाउँदिन, मैले सबै कुरा सहजै पाएँ । थोरै पनि मिहिनेत गर्नुपरेन ।

भगवान्ले सबै जुराइदिए, मेरो बाटो आफैँ बनाइदिए । मैले धेरैको संघर्षका कथा सुनेको छु, सपना बोकेर सहर पसेपछि उनीहरुले दुःख पाएको, संघर्ष गर्नुपरेको । कतिसम्म भने, बिहान–बेलुका खाना खाने पैसासमेत नभएर भोकै सुत्नुपरेको । तर, मेरो हकमा कहिल्यै यस्तो भएन । केही पाउन कहिल्यै दुःख गर्नुपरेन । 

हुन सक्छ, मेरो व्यवहार र संस्कार एउटा कारण बन्यो होला, मैले कहिल्यै चुनौतीहरुको सामना गर्न नपर्नुको । म आज पनि विनासंकोच भन्न सक्छु, मैले जति पाउनुपर्ने थियो, त्योभन्दा ज्यादा भगवान्ले जुराइदिए । मैले आफ्नो करिअर बनाउन धेरै मिहिनेत गर्नुपर्यो भनेर यहाँ भनेँ भने गलत हुनेछ । 

१९९८ मा रिलिज भएको मेरो पहिलो एल्बम ‘ब्रेथलेस’ भारतमा मात्र होइन, संसारभर हिट भयो । ‘ब्रेथलेस’मा मैले गरेको नौलो प्रयासले नै मलाई सांगीतिक क्षेत्रमा बेग्लै पहिचान दियो । यसबाट पाएको सफलताले नै मलाई महान र चर्चित संगीतकारसँग काम गर्ने मौका दिलायो ।

यसअघि नै हामी तीनजनाको अर्थात् मेरो, एहसान र लायको जोडी बनिसकेको थियो । हामी तीनैजना एक ब्यान्डका रुपमा प्रस्तुति दिन्थ्यौँ । यस्तैमा एकदिन निर्देशक मुकुल आनन्दले एहसानलाई आफ्नो अफिसमा बोलाए र आफ्नो फिल्ममा संगीत गर्न प्रस्ताव गरे । 

एहसानको फिल्मसँग कुनै लेनदेन थिएन, त्यसैले सुरुमा उसले त्यो प्रस्ताव स्विकारेन । पछि, मुकुल आनन्दले उसलाई धेरै सम्झाए । उनले भने– यो तिम्रो लागि धेरै ठूलो अवसर हुन सक्छ । तर पनि एहसानले मानेन । धेरै नै गरेपछि उसले एउटा सर्त राख्यो, सर्त उनीहरुलाई स्विकार्य भए मात्र फिल्ममा काम गर्नेगरी । सर्त थियो– फिल्ममा आफूसँगै शंकर र लायले पनि संगीत गर्ने । 

मुकुलले एहसानले जसजसलाई लिएर संगीत बनाए पनि आफूलाई आपत्ति नहुने बताए । त्यसपछि हामी तीन मिलेर उनको फिल्म ‘दश’का लागि गीत तयार गर्यौँ । त्यो फिल्म रिलिज भने भएन । पछि हामीले त्यो गीतलाई तीनैजनाको संयुक्त स्वर र संगीतमा रिलिज गर्यौँ । गीत थियो, ‘सुनो दुनियाँ वालो, बुरी नजर हम पर डालो, चाहे जितना जोर लगा लो.... सबसे अलग हिन्दुस्तानी ।’

(‘लाइभ हिन्दुस्तान डटकम’को  ‘मेरी कहानी’खण्डअन्तर्गत प्रकाशित शंकर महादेवनको ब्लगको अनुदित अंश) 
 


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्