नेकपाले इटहरीका मेयर द्वारिकलालमाथि ‘एक्सन लिने’, निलम्बन नगर्ने

काठमाडौं– पत्रकारमाथि जथाभावी बोलेर चर्चामा आएका इटहरीका मेयर द्वारिकलाल चौधरीलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले कारवाही गर्ने तयारी गरिरहेको छ । तर, उनलाई पदबाट बर्खास्त नगर्ने अनौपचारिक छलफलमा टुङ्ग्याइएको छ । 

नेकपाका एक केन्द्रीय सदस्यले बताएअनुसार मेयर चौधरीबारे प्रधानमन्त्री निवास बालुवाटारमा पनि लामो समय नेकपा नेताहरुबीच छलफल भएको थियो । यसमा केन्द्रले केही नगर्ने निर्णय गरेसँगै उनीमाथि कारवाही गर्ने वा के गर्ने भन्ने निर्णय दिनका लागि प्रदेशलाई जिम्मेवारी दिने अनौपचारिक छलफलको निष्कर्ष निस्किएको छ । 

‘पार्टीले मेयर चौधरीमाथि एक्सन त लिन्छ,’ ती केन्द्रीय सदस्यले बताए, ‘तर, उनलाई निलम्बन नै चाहिँ गर्दैन । यसबारे छलफल गर्न प्रदेश सदस्यहरुलाई केन्द्रबाट निर्देशन गरिसकिएको छ ।’

नेकपाका ती नेताका अनुसार मेयर चौधरीले स्थानीय नेकपाका नेताहरुलाई आफ्नो गल्ती नभएको र आवेशमा आएर कुरा गरेको बताएका छन् । चौधरी नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली निकट भएकाले पनि उनीमाथि नरम नीति अवलम्बन गर्ने निर्णय लिन सकिने ती नेताले बताए । 

‘गलत काम गरेका छैनन्,’ पार्टीका शीर्ष नेताहरुको भनाइ उद्धृत गर्दै ती नेताले फरक धारसँग बताए, ‘उनी आक्रोशमा आएर बोलेका हुन्, जो कोही पनि बारम्बार आफूमाथि निराधार आरोप लागिरहँदा आक्रोशित हुन्छ नै ।’

केन्द्रमा पार्टी अन्य कुराहरुमा लागिरहेकाले पनि अहिले यो विषयमा गहन रुपमा छलफल नभएको ती नेताले बताए । उनी स्वयं भने द्वारिकलालले तत्काल माफी माग्नु पर्ने धारणा राख्छन् । 



‘खासमा द्वारिकलालले गलत गरेकै हुन्, जिम्मेवार पदमा भएको व्यक्तिले त्यसरी बोल्न सुहाउँदैन,’ उनले नाम नलेखिदिन आग्रह गरे, ‘तर, अहिले पार्टीमा अराजकता मौलाएको छ । यस्ता कुरा गर्दा पार्टीमा एक्लाइन्छ, त्यसैले नाम चाहिँ नलेखिदिनु होला ।’

हुन पनि नेकपाका केन्द्रीय सदस्य तथा सांसद् योगेश भट्टराईले सामाजिक सन्जालमार्फत् द्वारिकलालले माफी माग्नुपर्छ भन्ने अभिव्यक्ति दिँदा द्वारिकलालले सामाजिक सन्जालमा नै जवाफ फर्काएका छन्– मैले होइन, उसैले माफी मागोस् । 



उता, सुनसरीका नेकपा अध्यक्ष योगेन्द्रप्रसाद मण्डल चाहिँ यो आफ्नो कार्यक्षेत्रको कुरा नभएको बताउँछन् । के जिल्लाले केही छलफल गरिरहेको छ भन्ने प्रश्नमा उनले भने, ‘मेयरज्यू पनि प्रदेश सदस्य, म पनि प्रदेश सदस्य, हाम्रो क्षेत्राधिकारमा नै पर्दैन यो कुरा ।’

उनले यसबारे प्रदेश समितिमा पनि चाहिँ छलफल सुरु भइसकेको जानकारी दिए । ‘अब मैले यस्तो यस्तो हो, यस्तो भएको भनेर चाहिँ भनिदिएको छु,’ उनले भने, ‘कारवाही गर्ने, सम्मान गर्ने मैले होइन, मैले मिल्दा पनि मिल्दैन, पार्टीले के गर्ने भन्ने निर्णय आउला । मैले आफ्नो काम सल्लाह र सुझाव दिने हो र त्यो चाहिँ गरेको छु ।’

उनी यतिमै रोकिएनन् । उनले पत्रकारमाथि आक्रोश पनि पोख्न पाए । ‘पत्रकारहरु पनि ठिक छैनन्,’ उनले थपे, ‘अब यहाँ योगेन्द्रले द्वारिकलाललाई कारवाही गर्ने भन्दै लेखिरहेका छन् । हामी त उही समान पदमा छौँ, दुवै प्रदेश सदस्य । मैले उहाँलाई कारवाही गर्न मिल्दैन । जिल्लाले यो विषयमा केही पनि हेरेको छैन । सल्लाह सुझाव त मागेको ठाउँमा दिइहाल्छौँ नि ।’

अर्कोतिर, द्वारिकलालले सम्भावित कारवाहीलाई टार्न नेकपा नेताहरुलाई पछिल्ला अभिव्यक्तिबारे स्पष्टिकरण दिएको नेकपाका अर्का एक नेताले बताए । ‘उहाँले बोल्न नहुने शैलीमा त बोल्नुभयो,’ ती नेताले भने, ‘तर, किन त्यसरी बोल्नु पर्ने अवस्था आयो भन्ने पनि महत्वपूर्ण हुन्छ । उहाँ बाध्य भएर त्यसरी बोल्नु भएको हो, नत्र उहाँको पक्षमा यति धेरै मानिसहरुले सामाजिक सन्जालमा लेख्ने थिएनन् ।’

  • प्रकाशित मिति : जेठ २४, २०७६ शुक्रबार १८:१८:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया