एजेन्सी– पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेख्दै कश्मीर मुद्दालगायतमा वार्ताको लागि प्रस्ताव गरेका छन् । इमरान खानले मोदीलाई शुक्रबार पत्र पठाएर वार्ता गर्न इच्छुक देखिएका हुन् ।
मोदीलाई दोस्रो कार्यकालका लागि बधाई दिँदै इमरान खानले वार्ताको माध्यमबाट दुवै देशका जनतालाई गरिबीबाट मुक्त पार्नुपर्ने बताएका छन् ।
खानले पत्रमा भनेका छन्– दुई देशबीचको वार्ता नै दुवै देशका जनतालाई गरिबीबाट मुक्त पार्ने एकमात्र उपाय हो । यसका लागि क्षेत्रीय विकासका लागि मिलेर काम गर्नु आवश्यक छ ।’
मोदी पुनः प्रधानमन्त्री भएपछि पाकिस्तानी प्रधानमन्त्री इमरान खानले दुवै देशका नागरिकको हितका लागि वार्ताको आकांक्षा राखेको यो दोस्रो पटक हो । यद्यपि भारतले अहिलेसम्म इमरान खानको पत्रको जवाफ दिएको छैन ।
पुलवामा आतंकवादी हमलापछि पाकिस्तान र भारतबीच तनाव बढेको थियो । पाकिस्तानको बालाकोटमा २६ फेब्रुअरीमा भारतले हवाई हमला गरेपछि दुवै देशबीच युद्ध सुरु हुने स्थितिमा पुगेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।