वातावरणमैत्री उडानतर्फ लम्कँदै युराेपका विमान कम्पनी, हाई फ्लाईले सुरु गर्यो विश्वकै पहिलो प्लास्टिकमुक्त उडान

लिस्बन– पोर्चुगिज विमान कम्पनी हाई फ्लाईले विश्वमै पहिलोपटक प्लास्टिकमुक्त उडान सुरु गरेको छ । कम्पनीले आफ्नो ए–३४० विमानको लिस्बन–पोर्चुगल उडानमा प्लास्टिकको सट्टा बाँस र ‘रिसाइकल्ड मटेरियल’बाट बनेका वस्तु प्रयोग गर्न थालेको छ । 

कम्पनीले प्लास्टिकमुक्त उडानको नीति लिएको भन्दै प्रेसिडेन्ट पाउलो मिरपुरीले २०१९ को अन्त्यसम्म कम्पनीका सबै विमानमा प्लास्टिकको प्रयोग बन्द गर्ने बताएका छन् । तत्कालै थप दुई विमानमा प्लास्टिकमुक्त उडान सुरु गर्ने कम्पनीको तयारी छ । 

प्रेसिडेन्ट मिरपुरीको भनाइमा विश्वभर दैनिक एक लाखजति उडान हुन्छन्, र दैनिक ४ करोड मानिस हवाई यात्रा गर्छन् । यस हिसाबले दैनिक ४ करोड प्लास्टिक आइटम प्रयोग हुन्छ । यसरी जम्मा हुने प्लास्टिकले भविष्यमा खतरनाक रुप लिनेछ । 

कम्पनीको दाबी छ कि प्लास्टिकमुक्त उडानको नीतिले फ्लाइटको वजन पनि ३५० किलोसम्म कम गर्न सकिन्छ । 

हाई फ्लाईले माल्टा र पोर्चुगलका करिब ४०० ठाउँमा उडान भर्छ । कम्पनीले लिजमा पनि विमान उपलब्ध गराउँछ । विश्वभर यसका २०० जति विमान छन् । 



हाई फ्लाईबाट प्रेरणा लिएर आइरिस विमान कम्पनी रिनायर एन्ड क्रुज लाइनले पनि प्लास्टिकमुक्त उडानको सुरुआत गर्ने घोषणा गरेको छ । हुन त कम्पनीले २०१८ मै २०२३ सम्म आफ्ना सबै उडान प्लास्टिकमुक्त गर्ने घोषणा गरेको थियो, तर यसको सुरुआत भने अहिलेसम्म भएको छैन । छिटै प्लास्टिकमुक्त उडान सुरु गर्ने घोषणा गर्दै कम्पनीले पाँच वर्षमा ग्रिन एयरलाइन्सको सुरुआत हुने बताएको छ । 

रिनायर एन्ड क्रुज लाइनको प्रतिद्वन्द्वी कम्पनी इजिजेटले पनि वातावरणमैत्री उडानको अभ्यास सुरु गरेको छ । उसले आफ्नो उडानमा यात्रुलाई वनस्पतिजन्य पदार्थबाट निर्मित ‘बायोडिग्रेडेबल’ कपमा कफी दिन थालेको छ । यति मात्र होइन, चिया या कफीका लागि घरबाट पुनःप्रयोग गर्न सकिने (रियुजेबल) कप ल्याउने यात्रुलाई कम्पनीले ७ हजार रुपैयाँ बराबरको छुट दिँदै छ । 



उडानलाई वातावरणमैत्री बनाउने होडमा न्युजिल्यान्ड एयरलाइन्स पनि पछि छैन । गतवर्ष नै उसले ३ हजार स्ट्र, ५ लाख आइ मास्क ब्याग र झन्डै ७० लाख कफी घोल्ने स्टिक र ५० जहार टुथब्रस बिमानबाट हटाएको थियो । कम्पनी यस वर्ष प्लास्टिक ब्याग, कप र लिड्सजस्ता १४ थरी प्लास्टिक सामान हटाउने तयारीमा छ । अलास्का एयरलाइन्सले पनि यस्तै गरिसकेको छ । 
 

  • प्रकाशित मिति : जेठ २७, २०७६ साेमबार १५:३९:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया