अमेरिका रुसबीच युद्ध गराउन सक्छ टर्की ?

काठमाडौं/ सात वर्ष देखि सिरियामा चलिरहेको गृहयुद्धमा धेरैको मृत्यु भइसकेको छ । सिरियाको गृहयुद्ध अब विश्वका लागि भयानक चुनौति सावित भएको छ ।

 

कमजोर मनोबलको टर्की सेना 

जुलाई १५, २०१६ मा टर्कीमा सेनाले गरेको विद्रोह पश्चात त्यहाँका राष्ट्रपतीले चालेको कदमबाट टर्कीका सैनिकको मनोवल निकै गिरेको बताइन्छ । उक्त सैनिक विद्रोह पश्चात टर्कीका उच्च सैनिक अधिकारीलाई जेल चलान गरिएको थियो । यस्तो अवस्थामा टर्की सैनिकले सिरियामा हमला गरेका हुन् । यो हमला हुनु भन्दा केही समय पहिले मात्रै सिरिया सरकारले उक्त क्षेत्रमा राष्ट्रिय सुरक्षा बल(एनडिएफ) परिचालन गरेको थियो । पहिलोपटक सिरियन सैनिक र टर्की सैनिक आमने सामने भएका छन् ।

सैन्य हमला भएको स्थान अफरीनमा रहेका वाईपिजी सिरियन सरकारका विरोधी हुन् । तर पनि सिरियन सरकारले तिनको सहयोगका लागि सेना पठाएको थियो । अफरीन क्षेत्र कुर्द विद्रोहीको कब्जामा रहेको क्षेत्र हो । यो क्षेत्रका नागरिकलाई सहयोग गरेर सिरिया उक्त क्षेत्रमा आफ्नो प्रभुत्व कायम गर्न चाहान्थ्यो ।

दोधारमा अमेरिका 



सधैँ कुर्द विद्रोहीलाई सघाउँदै आएको अमेरिका भने दोधारमा देखिएको छ । टर्कीको सेना नेटो सैनिक अन्र्तगत पर्छ र नेटोको सर्वाधिकार अमेरिका हो । अमेरिकाले कुर्द विद्रोहीलाई सघाउनु भनेको आफ्नै स्वामित्वमा रहेका नेटो सैनिक सँग युद्ध लड्नु जस्तै हो । अफरिनबाट करिब १ हजार किलोमिटर पूर्वमा अमेरिकी सैनिक अखडा सिरियन डेमोक्रेटिक फोर्सेस(एसडिएफ) रहेको छ । अमेरिकाले सन् २०१८ मा कुर्द विद्रोहीको सहयोगको लागि भनेर ५५ करोड अमेरिकी डलर छुट्याईसकेको छ ।

अमेरिका विरोधी हुँदै टर्की 



टर्कीले सिरियामा हमला गरेको पछिल्लो दिन, टर्कीका स्थानीय अखबारहरुमा अमेरिका विरोधी सांकेतिक समाचार छापिएका थिए । कतिपय समचारपत्रमा त ‘लाग्छ तपाईमाथि कुनै उस्मानि (टर्की) थप्पड परेको छैन ।’ अर्थात टर्की अब अमेरिकासँग पौठेजोरी खेल्ने मनस्थितिमा रहेको देखिन्छ । अमेरिकाले नै सन् १९५२ मा टर्कीलाई नेटो सैनिकमा प्रवेश गराएको थियो । आठ करोड जनसङ्ख्या रहेको टर्कीमा साढे १३ लाख सैनिक छन् । यी सबै सैनिकलाई अमेरिकाले सहयोग गर्दै आएको छ ।

इरानको सहयोगमा टिकेको असद सरकार 

जानकारहरुका अनुसार सिरियाले निर्माण गरेको राष्ट्रिय सुरक्षा बल(एनडिएफ)लाई टर्की सैनिकले हमला गरेको स्थान अफरीनमा पठाईएको छ । सिरियन सरकारले पठाएको उक्त सैन्य फौज इरानको मिलिशिया ‘बासिज’ कै एक शाखा भएको बताईन्छ । सिरियामा गृहयुद्ध सुरु भएदेखि नै इरानले सिरियाको सरकरालाइ सहयोग गर्दै आएको छ । सन् २०१४ देखि इरानले सिरियामा ‘लीवा–फातेमियौ’ नामक सैनिक सङ्गठन खडा गरेको छ । जसमा अफगानस्तिान, पाकिस्तान र इराकका १२ हजार भन्दा धेरै शिया मुसलमान सैनिक रहेको बताईन्छ । यी सैनिकहरुलाई मासिक ५ सय देखि ८ सय अमेरिकी डलर भत्ता दिने गरिएको छ । युद्ध सुरु भएदेखि हालसम्म करिब २ हजारको सङ्ख्यामा यस्ता सैनिक मारिएको अनुमान लगाईन्छ ।

टर्कीको दावि अनुसार उसले वाइपिजीको सहयोगको लागि आएका सिरियन सैनिकलाई पछाडि पारेको बताएको छ । तर हालसम्म यसको कुनै प्रमाण भने टर्कीले पेश गरेको छैन् ।

इरानको विरोध

सिरियामा रहेका कुर्दहरुलाई आतङ्ककारी बताउँदै टर्कीले गरेको हमलाको इरानले विरोध गरेको छ । टर्कीको यो कदमलाई इरानले सिरियाको भूमिमाथि गरेको अतिक्रमण भन्दै यस्ता हमला बन्द गर्न आग्रह गरेको छ । सिरियामा रहेका शान्ती पर्यवेक्षकका अनुसार टर्कीले हमला गरेको स्थानमा इरानले पनि रुसको सहयोगमा आफ्ना सैनिक पठाईसकेको छ । जहाँ टर्कीले हमला गरेको थियो त्यो स्थानमा रुसी सैनिक पनि थिए । तर रुसले केही समय अगाडी मात्रै उक्त स्थानबाट आफ्ना सैनिक फिर्ता बोलाएको थियो ।

रुसको प्रवेश 

सन् २०१५ को सेप्टेम्बरमा रुस असद सरकारले सहयोग मागेको भन्दै सिरियाको गृह युद्धमा प्रवेश गर्यो । यतिखेरसम्म अमेरिका पनि सिरियाको युद्धमा प्रवेश गरिसकेको थियो । रुसको मुख्य उदेश्य सिरियाको युद्धमा अमेरिकालाई कमजोर बनाउनु थियो । यसको लागि रुसले सिरियाका विद्रोही, सिरियाको सरकार र आवश्यकता अनुसार इरान र टर्कीसँग सहकार्य गर्यो । अफरिनमा हमला हुनु भन्दा पहिल्यै उक्त स्थानबाट रुसी सैनिक अर्को स्थानमा जानु र हमला भन्दा केही दिन अगाडि मात्रै रुसी राष्ट्रपति भ्लादिमिर पुटीन र टर्कीका राष्ट्रपतीबीच भएको टेलिफोन बार्ताले रुसको सिरियमा रहेका भुमिकालाई उदाङ्गो पारेको छ ।

यो हमला भन्दा पहिले रुसले त्यहाँका कुर्द विद्रोही र वाइपिजिलाई उक्त क्षेत्रमा सिरियाको स्वामित्व स्विकार गर्न निर्देशन दिएको थियो । तर उनीहरुले रुसी सैनिको निर्देशन पालन नगरेपछि रुसले उक्त स्थानबाट आफ्ना सैनिक फिर्ता बोलायो र टर्कीलाई हमलाको लागि बाटो प्रसस्तै गरिदियो । यता टर्कीमा सन् २०१९ मा निर्वाचन हुँदै छ । निर्वाचनको मुखैमा आएर टर्कीका राष्ट्रपतिको यो कदमलाई निकै अच्चम्मित तुल्याउने कमदको रुपमा विश्व समुदायले लिएको छ ।

यो हमला पनि टर्कीले रुसी सैनिको मौन सहयोग मै गरेको थियो, जब की केही समय अघिसम्म पनि टर्की र रुसबीच निकै तनावग्रस्त अवस्था थियो । सिरियाको उत्तरी क्षेत्र रुसी सैनिको अखडाको रुपमा चिनिन्छ । आफ्नो क्षेत्रमा रुसले टर्कीलाई प्रवेश दिएर हमलाको बाटो खुल्ला गरिदिनुका पछाडिका कारण भने अझै खुलेका छैनन् । तर, यो घटनाले सिरिया युद्धलाई थप अनिश्चत भने बनाएको छ ।

मानव अधिकार हनन

टर्की र सिरियालाई पश्चिम एसियाको सबैभन्दा ठूलो मावन अधिकार हननकर्ताको आरोप लाग्ने गरेको छ । तर यी दुई मुलुक भने एक अर्कालाई निर्दोष जनता मारेको अरोप लगाईरहेका छन् । इरान, अमेरिका र रुस यो युद्धको आगोमा घ्यु थप्दै छन् । टर्की र पश्चिमा विश्व रुसले सिरियाको राधानीमा अवस्थित पूर्वी–गोउता माथि बमबारी गरेर नर्कको स्वरुप दिएको आरोप लगाउँदै आएका छन् । सन् २०१५ मा पूर्वी–गोउतामा रुसले सिरियन सरकारको सहयोगका लागि भन्दै हवाई आक्रमण गरेको थियो ।

टर्कीले अफरीनमा विशालु ग्याँस प्रयोग गरेको आरोप इरानले लगाएको छ । तर, पूर्वी–गोउताका विद्रोहीहरुले प्रयोग गरेका हतियार र टर्कीका सैनिकले प्रयोग गर्ने हतियार भने एउटै रहेको विभिन्न अध्ययनले देखाएको छ ।

अमेरिका रुस युद्ध 

जर्मनको म्युनिखमा १६ देखि १८ फेब्रुअरीमा अन्तर्राष्ट्रिय सुरक्षा सम्मेलन भएको थियो । जहाँ बेलायत, टर्की र इजरायलका प्रधानमन्त्री, इरान र रुसका विदेशमन्त्री र अमेरिका र जर्मनका रक्षामन्त्री समेत उपस्थित थिए । उक्त समेल्लनको एक जानकारी अनुसार ७ र ८ फेब्रुअरीमा सिरियामा रुसी सैनिक र अमेरिकी सैनिकबीच हमला भएको थियो । एक पूर्व रुसी राजदुत तथा विदेशनीति विशेषज्ञ भ्लादिमिर फ्रोलोवका शब्दमा “अमेरिका र रुसबीच भियतनाम युद्ध पछि भएको यो सबैभन्दा ठूलो युद्ध थियो ।”

रुसी भाडाका सैनिक

 एक जानकारी अनुसार सिरियाका राष्ट्रपति प्रति बफादार मानिने उद्योगपति त्यहाँको तेलको प्रमुख स्रोत ‘दइर अल–सोर’ आफ्नो कब्जामा लिन चाहन्थे । यो तेलको स्रोत कब्जामा लिनको लागि ति उद्योगपतिले‘आईएस हंन्टर’ नामको एक मिलिशिया सङ्गठन निर्माण गरेका थिए । उक्त मिलिशिया सङ्गठनलाई सघाउन भाडाका सैनिक उपलब्ध गराउने रुसी कम्पनी ‘वाग्नर’ बाट सैनिक लिएको बताईन्छ । रुसका उच्च अधिकारीलाई यो कुराको जानकारी पनि थियो । यी सैनिकले हमला गरेको स्थान भने आजभोली सिरियन डेमोक्रेटिक फोर्स (एसडीएफ)को नियन्त्रणमा रहेको छ । यो अमेरिका नियन्त्रीत सैनिक फोर्स हो ।

रुस-अमेरिका द्वन्द्व   

जब रुसबाट वाग्नर नामक सैनिक फोर्स सिरिया भित्रियो, त्यसपछि त्यहाँ भिषण युद्ध सुरु भयो । बेलायती समाचार संस्था रोयटर्सका अनुसार ३ सय भन्दा धेरै सैनिक हताहती भएका थिए । मस्कोको दैनिक पत्रिका मस्कोवस्की कम्सोमोलेजकाले त वाग्नरका पाँच मृत लडाकुको तस्बिर सहित समाचार प्रकाशित गरेको थियो । यो हमलामा स्थानीय विद्रोहीहरुलाई अमेरिकाले सघाएको थियो । यता अमेरिकाले रुससँग क्षमा माग्दै दइर अल–सोलको उक्त लडाईमा रुसी सैनिक पनि छन् भन्ने कुराको जानकारी आफुलाई नभएको बताएको थियो । तर रुसले कुरा सच्याउँदै उक्त लडाइमा मारिएका रुसी नागरिक भएपनि रुसी सेनाको सदस्य नभएको र तिनको सिरियामा रहेका आफ्ना सैनिक अधिकारी सँग कुनै सम्बन्ध नरहेको वत्तव्य जारी गर्यो ।

त्यसैगरि अमेरिका पनि भाडामा सैनिक दिन निकै खप्पिस मानिन्छ । अमेरिकी सैनिक ब्ल्याक वाटर नामक कम्पनीको नाममा भाडामा खटिने गरेको तथ्य यस अघि नै खुलिसकेको थियो । ब्ल्याक वाटर सैनिकहरु पूर्वी युक्रेनमा रुसी विद्रोही विरुद्ध लड्को लागि प्रशिक्षण दिइरहेका छन् । डरलाग्दो कुरा त यो छ की, सिरियामा टर्कीका सैनिक पनि भाडामा प्रयोग गरिएका छन् । अमेरिका टर्कीसँग रिसाएको छ ।

अर्कोतर्फ उत्तरी सिरियामा टर्कीले गरिरहेको सैन्य अभ्यासबाट रुस पनि त्यति सन्तुष्ट छैन । यस्तो अवस्थामा टर्की आफु एक्लै यी दुई महाशक्ति राष्ट्रसँग लड्न सक्दैन तर स्थानीय विद्रोही परिचालन तथा प्रयोग गरेर रुस र अमेरिकी सैनिक एक आपसमा भने भिडाउन सक्छ । यदि यसो भएमा परिणाम भयाभवह हुने निश्चित छ ।

जर्मनीको भूमिका 

विश्वको सबैभन्दा धेरै हतियार निर्यात गर्ने देशहरुमा जर्मनी पाँचौ नम्बरमा पर्छ । टर्कीले २० जनवरीमा हमला गर्नु भन्दा अगाडी १८ डिसेम्बर २०१७ देखि २४ जनवरी २०१८ सम्ममा जर्मनमा रहेका विभिन्न हतियार कम्पनीलाइ ३१ पटक हतियार निर्यात गर्ने अनुमति दिएको छ । त्यसो त जर्मन आफु द्वन्दग्रस्त क्षेत्रमा हतियार निर्यात नगरेको बताउँदै आईरहेको छ । जर्मन संसदमा वाम पार्टीका द लिंकका एक सदस्यको प्रश्नको जवाफ दिँदै जर्मनको उद्योग मन्त्रालयले निर्यात अनुमती दिएका हतियारहरुको सूचि सार्वजनीक गरेको छ । निर्यात अनुमती दिएका हतियारहरुमा बम, रकेट, सैनिक वाहन, अग्नी उत्पादक ठूला हतियार, सामुन्द्रिक सैन्य सामाग्री र केही विद्युतिय हतियार रहेको बताएको छ ।

  • प्रकाशित मिति : जेठ २८, २०७६ मंगलबार २:४६:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया