कतारको चुनौती किन वेवास्ता गर्छ अमेरिका ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीमाथि प्रतिबन्ध लगाउने घोषणा गरे । टर्कीबाट आउने स्टिल तथा आल्मुनियममा ५० प्रतिशत कर लगाएपछि टर्कीसँग अमेरिकाको सम्बन्ध राम्रो नरहेको ट्रम्पले ट्विटमार्फत बताएका थिए ।

यस प्रतिबन्धका कारण टर्कीलाई एक वर्षमा करिब दुई अर्ब अमेरिकी डलरभन्दा बढी घाटा पर्न जान्छ । लामो समयदेखि आर्थिक मन्दी झेलिरहेको टर्कीका लागि अमेरिकाको यो घोषणाले ठूलो झट्का लागेको थियो । टर्कीको अर्थतन्त्र खस्कियो । टर्कीमा महँगी दर बढेर १५ प्रतिशत पुग्यो । टर्कीको मुद्रा लिरा एक हप्ताको अन्तरमा २० प्रतिशतभन्दा बढी गिरावट आयो । टर्कीको अर्थतन्त्रमा लिराको मूल्यदर आधाभन्दा बढी घट्यो ।

टर्कीमा भएको आर्थिक संकटको केही समयपछि कतारका राजा शेख तमिम बिन हम्माद अल थानी टर्की भ्रमणका लागि गएका थिए । उनले संकटबाट टर्कीलाई माथि उठाउनका लागि १५ अर्ब डलर सहयोग गर्ने घोषणा गरे ।

कतारले टर्कीलाई मद्दत गरेको विषयलाई अमेरिकाले आफूविरुद्धको चुनौतीका रूपमा बुझेको छ । अमेरिकाले टर्कीमाथि कारबाही गर्नुको मुख्य कारण अमेरिकी पादरी एन्ड्र्यू बु्रनसनलाई रिहा गराउनु थियो । टर्कीले दुई वर्षअघि सरकारविरोधी गतिविधि गरेको आरोपमा बु्रनसनलाई पक्राउ गरेको थियो । अमेरिकाले पटक–पटक आग्रह गर्दा पनि टर्कीले उनलाई रिहा गरेको थिएन । प्रतिबन्धले टर्कीमाथि बु्रनसनलाई छाड्न दबाब परेको छ । तर, कतारको आर्थिक सहयोगका कारण अमेरिकी दबाबमा असर परेको छ ।

कतारको यस मद्दतले धेरैलाई समस्यामा पारेको छ । कतारको सैन्यसुरक्षा अमेरिकासँग निर्भर छ । तर, यति हुँदाहुदै पनि अमेरिकाविरुद्ध कतारले किन यस्तो निर्णय लियो भन्ने प्रश्न उठेको छ । अर्को कुरा, सानो–सानो विषयमा पनि कडा प्रतिक्रिया दिइहाल्ने ट्रम्पले यस विषयमा भने केही प्रतिक्रिया दिएका छैनन् ।

कतारले मुस्लिम ब्रदरहुड, इस्लामिक स्टेट, हमास र अलकायदाजस्ता आतंककारी संगठनलाई आर्थिक सहयोग गरेको प्रमाण आफूहरूसँग रहेको केही खाडी देशहरूले बताएका छन् । पछिल्लो समय एक मिडियाले कतार र इरानी सेनाबीचको सम्बन्धको खुलासा गरेको थियो । तर, अमेरिकाले यी सबै घटनालाई त्यति महत्त्वका साथ लिएको छैन । अमेरिकाले कतारविरुद्ध केही प्रतिक्रिया जनाइरहेको छैन ।



कतारको क्रियाकलापबारे अमेरिकाले केही पनि प्रतिक्रिया नदेखाउनुको पछाडि केही कारण हुन सक्ने अनुमान राजनीतिक विश्लेषकहरूले गरेका छन् । यस अवस्थामा अमेरिकाले कुनै पनि किसिमका कदम नउठाउने विश्वास कतारले लिएको हुन सक्ने अनुमान धेरैको छ ।

 



कतार–अमेरिका सैन्य तथा व्यापार सम्झौता

मध्यपूर्वका केही पत्रकारले अमेरिका–कतारबीचको सैन्य तथा व्यापार सम्झौताका कारण अमेरिकाले कतारविरुद्ध केही नबोलेको हुन सक्ने अनुमान गरेका छन् । अमेरिकाको सबैभन्दा ठूलो सैन्य अड्डामध्ये एउटा अड्डा कतारमा छ । जहाँ, नियमित रूपमा करिब ११ हजार अमेरिकी सेना रहन्छन् । यो सैन्य बेस अमेरिकाका लागि धेरै महत्त्वपूर्ण मानिन्छ । अफगानिस्तान, इराक र सिरियामाथि कारबाहीका लागि अमेरिकाले कतारमा रहेको त्यही सैन्य बेसलाई प्रयोग गर्दै आइरहेको छ ।

गत जुलाईमा अमेरिकाले तालिवानसँग शान्ति वार्ता सुरु गरेको थियो । अमेरिकाले अफगानिस्तानमा पनि सैन्य अड्डा बनाउनका लागि प्रस्ताव राखेको केही स्रोतले उल्लेख गरेका छन् । अमेरिकाका लागि मध्यएसियामा सैन्य अड्डा राख्नु निकै महत्त्वको विषय भएको यसबाट पुष्टि हुन्छ ।

कतारले अमेरिकाबाट प्रत्येक वर्ष एक अर्ब डलरबराबरको हतियार खरिद गर्दै आइरहेको छ । २०१७ मा अमेरिका र कतारबीच २१ अरब अमेरिकी डलरको सैन्य सम्झौता भएको थियो । कतारले अमेरिकासँग हतियार किनेपछि अमेरिकामा एक लाखभन्दा बढी व्यक्तिले रोजगारी पाएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

अमेरिकाका लागि व्यापारिक रूपमा कतार निकै लाभदायक रहेको छ । अमेरिकामा सबैभन्दा धेरै लगानी गर्ने देशमध्येमा कतार पर्छ । हालसालै कतारले २०२१ सम्मका लागि अमेरिकामा करिब दुई लाख करोड रुपैयाँ लगानी गर्ने घोषणा गरेको छ ।

यसबाहेक कतारका अन्य केही गतिविधिले पनि अमेरिकी सेनाका लागि धेरै मद्दत पुगेको छ । गत वर्ष कतारले वार्ता गरेर एक अमेरिकी मेजरलाई तालिवानको कब्जाबाट छुटाएको थियो ।

कतारमा १ सय २० भन्दा बढी अमेरिकी कम्पनी काम गरिरहेका छन् । कतारको पेट्रोलियम क्षेत्रमा समेत अमेरिकी कम्पनीको संलग्नता छ । यो सबैलाई हेर्दा कतारले अमेरिकालाई हरेक वर्ष खर्बांै डलर सहयोग गर्दै आइरहेको देखिन्छ । यसकारण कतारसँग सम्बन्ध बिगार्दा अमेरिकालाई धेरै घाटा पुग्ने देखिन्छ ।

 

अर्काे कारण इरान

अमेरिकाले कतारको कमजोरीलाई बेवास्ता गनुर्को अर्को कारण इरान पनि हो । इरान र कतार खाडी मुलुकका सबैभन्दा धेरै पेट्रोलियम पदार्थ उत्पादन गर्ने राष्ट्र हुन् । यी दुई राष्ट्रसँगको सम्बन्धलाई बलियो बनाउँदा अमेरिकालाई बढी फाइदा भइरहेको देखिन्छ ।

गत वर्ष कतारसँग अन्य खाडी देशले सम्बन्ध तोडेका थिए । त्यस समयमा इरान र टर्कीले कतारलाई ठूलो सहयोग गरेका थिए । कतारलाई कुनै कारबाही गरेको खण्डमा इरान, रुस र टर्की एक ठाउँमा उभिने डरका कारण अमेरिकाले कतारविरुद्ध कुनै कदम नउठाएको देखिन्छ ।

कतारले आतंककारी संगठनलाई सहयोग गरेको आरोप लगाउँदै साउदी अरबलगायत देशहरूले कतारसँगको सम्बन्धमा ब्रेक लगाएका थिए । यसमा डोनाल्ड ट्रम्पले सकारात्मक प्रतिक्रिया दिएका थिए । खाडी मुलुकबीच विवाद भइरह्यो भने कतार र इरानलाई फाइदा पुग्ने देखेर ट्रम्प प्रशासनले यो विवाद छिट्टै अन्त्य गर्नुपर्ने बताएको थियो ।

कतार र इरानबीचको सम्बन्ध अमेरिकाका लागि मात्र होइन, अन्य खाडी मुलुकका लागिसमेत डरको विषय बनेको छ । १९९२ मा सीमाको विषयलाई लिएर साउदी अरब र कतारबीच सम्बन्ध बिग्रिएको थियो । इजिप्टका तत्कालीन राष्ट्रपति होस्नी मुबारकले दुई देशबीचको विवाद मिलाउन भूमिका खेलेका थिए । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएअनुसार यो विवादका कारण कतार र इरानको सम्बन्ध मजबुत हुँदै गइरहेको थियो । होस्नी मुबारकले कतार छिटै इरानसँग मिल्न सक्ने बताएका थिए ।

  • प्रकाशित मिति : जेठ २८, २०७६ मंगलबार २:५७:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया