नेपालमै १० करोडलाई पुग्ने खाद्यान्न उत्पादन गर्न सकिन्छ : प्रचण्ड

चितवन– पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कृषिमा आधारित अर्थतन्त्र र उद्योगबाट आर्थिक समृद्धिको नयाँ युगको सुरुवात गर्न सकिने बताएका छन् । रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयले आयोजना गरेको कृषि मेलाको शनिबार उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।

‘कृषिमा आधारित अर्थतन्त्र र कृषिमा आधारित उद्योगले मात्रै नेपालको आर्थिक क्रान्ति वा आर्थिक समृद्धिको नयाँ युगको सूत्रपात गर्न सम्भव छ,’ उनले भने, ‘जबसम्म कृषिमा आधारित उद्योगहरु स्थापना गर्ने कुरा अगाडि बढ्दैन, बेरोजगारीको समस्याको समाधान पनि हुँदैन ।’

कृषिको आधुनिकीकरण र प्रविधिको सदुपयोग गरे तीन करोड नेपाली मात्र होइन, १० करोडलाई खान पुग्ने खाद्यान्न उत्पादन गर्न सकिने तागत नेपालको जमिन र नेपाली किसानमा रहेको प्रचण्डको भनाइ थियो । 

सरकारले आफ्नो नीति तथा कार्यक्रमबाट कृषिमा सुधारका काम गरिरहेको बताउँदै उनले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना त्यसको एउटा उदाहरण भएको बताए । 

आफूले रामपुर कलेजबाट कृषिमा स्नातक गरेको स्मरण गराउँदै प्रचण्डले भने, ‘सामान्य किसानको छोरो हुनुको नाताले कृषिमा क्रान्ति गर्नुपर्छ भन्ने सोचेर राजनीतिमा होमिएँ।’ 

‘राजनीतिक नेतृत्वको हैसियतले र यहाँ पढेको विद्यार्थी भएको नाताले कृषिमा क्रान्ति ल्याउने आकांक्षा लिएर अगाडि बढ्न जरुरी छ’ अध्यक्ष प्रचण्डले भने, ‘यो विश्वविद्यालयको विकास हामी सबैको संकल्पले मात्र सम्भव छ। यसका लागि योजनाबद्ध ढंगले हामी अगाडि बढ्नेछौँ ।’
 
कृषि तथा वन विज्ञान विश्वविद्यालयले पहिलोपटक आयोजना गरेको कृषि मेला मंगलबार समापन हुनेछ। 





  • प्रकाशित मिति : जेठ ३२, २०७६ शनिबार १७:१९:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया