[भारत] पश्चिम बंगालका डाक्टरहरु ५ दिनदेखि हड्तालमा

नयाँ दिल्ली– भारतको पश्चिम बंगालका जुनियर डाक्टरहरु ५ दिनदेखि आन्दोलनमा छन् । आफ्ना साथीमाथि भएको कुटपिटको विरोधमा हड्तालमा उत्रेका डाक्टरहरुसँग मुख्यमन्त्री ममता बेनर्जीले शुक्रबार वार्ताको प्रस्ताव राखिन् । तर, शनिबार डाक्टरहरुले उनको प्रस्ताव अस्वीकार गरे । 

बिहीबार मुख्यमन्त्री ममता बेनर्जीले डाक्टरहरुलाई हड्ताल छोडेर काममा फर्कन भन्दै त्यसो नगरे कडा कारबाही गर्ने चेतावनी दिएकी थिइन् ।

ममताको यो बयानले बंगाल जुनियर डाक्टर जोइन्ट फोरमलाई चिढ्यायो । उनीहरुले ममतासामु उक्त बयानका लागि सार्वजनिक माफी माग्नुपर्ने लगायत ६ वटा सर्त राखेका छन् । उता, दिल्ली एम्सका डाक्टरहरुले पश्चिम बंगाल सरकारलाई माग पूरा गर्न ४८ घन्टे अल्टिमेटम दिएका छन् । अन्यथा, अनिश्चितकालीन हड्तालमा जाने उनीहरुको चेतावनी छ । 

यसैबीच, केन्द्रीय स्वास्थ्य मन्त्री हर्षवर्धनले बंगालमा डाक्टरहरुमाथि भएको कुटपिटको घटनालाई मध्यनजर गर्दै ‘डाक्टरमाथि हमला गर्नेलाई कडा कारबाही गर्न’ सबै राज्यलाई पत्राचार गरेका छन् । केही भाजपा नेताहरुले मुख्यमन्त्री ममता बेनर्जी स्वयं आरोपीहरुलाई बचाउन लागिपरेको आरोप लगाएका छन् । 

इन्डियन मेडिकल एसोसिएसनले १७ जुनका लागि देशव्यापी हड्तालको आह्वान गरेको छ । एसोसिएसनले अस्पतालमा डाक्टरहरुमाथि हुने हिंसाको जाँचबुझका लागि कानुन बनाउन माग गरेको छ । 

बंगालको एनआरएस कलेजमा ११ जुनमा जुनियर डाक्टरहरुमाथि कुटपिट भएको थियो । त्यसयता जुनियर डाक्टरहरु आन्दोलनमा छन् । हिंसा र धम्कीको माहोलमा काम गर्न नसक्ने भन्दै अहिलेसम्म ३०० भन्दा बढी डाक्टरले राजीनामा दिइसकेका छन् । 





  • प्रकाशित मिति : जेठ ३२, २०७६ शनिबार १९:३९:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया