शेख हसिना कसरी राख्छिन भारत र चीनसँग सन्तुलित सम्बन्ध ?

एजेन्सी– बंगलादेशमा भएको संसदीय चुनावपछि प्रधानमन्त्री शेख हसिनालाई सबैभन्दा पहिला बधाई दिने भारतका प्रधानमन्त्री नरेन्द्र मोदी थिए । 

बहुमतका साथ सेख हसिना लगातार तेस्रो कार्यकालका लागि प्रधानमन्त्री चुनिएकी छन् । संसदीय चुनावमा हसिनाको पार्टी अवामी लिगले पूर्ण रुपमा विपक्षी पार्टीलाई छेउ लगायो । 

चुनावको एक हप्ता पछि शेख हसिनालाई चीनले आधिकारिक रुपमा बधाई दिएको थियो । 

२००९ मा सत्तामा आएपछि अवामी लिगको सरकारको नेतृत्व गरेकी शेख हसिनाले आफ्नो कार्यकालमा भारत र चीनबीच सन्तुलित सम्बन्ध बनाएकी छन् । 

बंगलादेशका लागि चीन र भारत दुवै महत्वपूर्ण छन् तर धेरै मानिसहरु बंगलादेशले चीन र भारतबीच कसरी सन्तुलन कायम राख्छ भन्ने बारे सवाल उठाइरहेका छन् । 

तर बंगलादेशसँग भारत र चीन फरक फरक विषयका कारण जोडिएका छन् । शेख हसिनाले टकरावको कुटनीति अन्त्य गर्दै छिमेकी राष्ट्रसँगको सम्बन्ध सुमधुर बनाएकी छन् ।



राजनीतिक र कुटनीतिक विश्लेषकका अनुसार बंगलादेशले भारतसँगको सम्बन्ध राजनीतिक र सुरक्षासँग जोडिएको र चीनसँग पूर्णरुपमा आर्थिक सम्बन्ध रहेको बताउँछन् । 

पूर्वोत्तरका पृथकतावादीलाई नियन्त्रण गर्न शेख हसिनाले भारत सरकारलाई अभूतपूर्व सहयोग गरेकी थिइन् । हसिनाले बंगलादेशमा इस्लामिक चरमपन्थीलाई फैलिन नदिन महत्वपूर्ण कदम उठाइन्, जसका कारण भारत चरमपन्थीबाट सुरक्षित रह्यो । 



अर्कोतर्फ बंगलादेश र चीनबीच विशुद्ध व्यापारसम्बन्ध रहेको छ । पछिल्लो केही वर्षमा चीनले बंगलादेशमा निकै लगानी गरेको छ । दक्षिणी र उत्तरी बंगलादेशलाई जोड्ने ६ किलोमिटर लामो पुल पनि चीनको सहयोगबाट निर्माण भइरहेको छ । जसमा ३७० करोड डलर चीनले लगानी गरेको छ । 

वल्र्ड बैंकले बंगलादेशलाई आर्थिक सहयोग नगरेपछि चीनले यो परियोजनाका लागि बंगलादेशलाई सहयोग गरेको थियो । शेख हसिना सरकारले चीनलाई आफ्ना धेरै परियोजनामा हिस्सेदार बनाएको छ, जसका कारण सी जिनपिंगलाई अवामी लिगको सरकार सत्तामा हुँदा सहज वातावरण बनेको छ । 

विपक्षी पार्टी सरकारमा भएको भए यी परियोजनालाई निशाना बनाउन सक्थे, जसबाट चीनलाई आर्थिक क्षती पुग्न सक्ने विश्लेषकको दावी छ । २०१४ मा शेख हसिना चीनको भ्रमणमा गएपछि यी देशबीचको सम्बन्ध सुदृढ बन्न पुग्यो । सि जिनपिंगले दुई वर्षपछि २०१६ मा बंगलादेशको भ्रमण गरे । चीनका राष्ट्रपतिको भ्रमणका क्रममा दुई देशबीच १६ बुँदे सम्झौता भयो । 

चिनियाँ अधिकारीका अनुसार भौतिक पूर्वाधारका विभिन्न परियोजनाका लागि बंगलादेशलाई २४ अरब डलर कर्जा दिने सम्झौता पनि भएको थियो । पुल, सुरुङ आदिको निर्माणबाहेक चीनले बंगलादेशमा दुई ठूला थर्मल पावर प्लान्टस र एक फर्टिलाइजर प्लान्ट पनि जडान गरेको छ । 

ढाका युनिभर्सिटीको अन्तर्राष्ट्रिय मामिला विभागका प्रोफेसर दिलावर हुसेनका अनुसार चीनसँग बंगलादेशको सैन्य मुद्दा भएपनि आर्थिक सम्बन्धमा कुनै जटिलता छैन् । तर भारतसँग सामञ्जस्यता कायम गर्नु महत्वपूर्ण छ ।  

ब‌ंगलादेशकाे सोनादियामा बन्दरगाह बनाउन भारत र चीन नै इच्छा जनाएपनि एक देशसँग आफ्नो सम्बन्ध विग्रन सक्ने भन्दै बंगलादेशले कुनै पनि देशलाई यसको जिम्मा दिएन् । 

यी विभिन्न कारणहरुबाट शेख हसिनाले छिमेकी राष्ट्रहरुबीच सम्बन्ध सुदृढ राख्ने उनको कुटनीति सफल भएको देखिन्छ । 

बंगलादेशका पूर्व राजदुत मुन्सी फेज अहमदले दुई देशबीचको सम्बन्धलाई सन्तुलनमा राखेर हसिनाले आफ्नो उच्च कुटनीतिक योग्यता साबित गरेको बताउँछन् । 

  • प्रकाशित मिति : असार १, २०७६ आइतबार २१:२१:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया