अमेरिका इरानमाथि आक्रमण गर्दै थियो, आधी घन्टाअघि अनुमति फिर्ता लिएँ – ट्रम्प

वासिंगटन– अमरेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ताका लागि कुनै पूर्वसर्त नरहेको, उसलाई परमाणु हतियार प्राप्त गर्न भने कदापि नदिने बताएका छन् ।

सत्तामा आएलगत्तै राष्ट्रपति ट्रम्पले पूर्वराष्ट्रपति बाराक ओबामाले इरानसँग गरेको परमाणु सम्झौता रद्द गर्दै इरानमाथि आर्थिक नाकाबन्दी लगाएका थिए । जसका कारण, अमेरिका–इरान सम्बन्ध निकै तनावपूर्ण अवस्थामा छ । इरानले अमेरिकी ड्रोन खसालिदिएपछि केही दिनयता यो सम्बन्ध अझ संवेदनशील मोडमा छ ।  

आइतबार एक कार्यक्रममा इरानसँगको वार्ताबारे सोधिएको प्रश्नमा राष्ट्रपति ट्रम्पले भने, ‘जहाँसम्म मेरो सवाल छ, कुनै पूर्वसर्त छैन ।’ 

‘के तपाईं (इरानी राष्ट्रपतिसँग) जुनसुकै स्थानमा वार्ता गर्न तयार हुनुहुन्छ ?’ भन्ने प्रश्नमा ट्रम्पले भने, ‘हेर्नुस्, तपाईं (इरान) सँग परमाणु हतियार हुन सक्दैन । यदि तपाईं यस विषयमा कुरा गर्न चाहनुहुन्छ भने ठीक छ । अन्यथा तपाईं लामो समय कमजोर हुँदै गरेको अर्थव्यवस्थामा रहन सक्नुहुन्छ ।’

राष्ट्रपति ट्रम्पले पश्चिम एसियामा एक मानवरहित ड्रोनलाई खसालिएको जबाफमा अमेरिकाले इरानमाथि हमला गर्नै आँटेको तर हमलाको आधा घन्टाअघि आफूले अनुमति फिर्ता लिएको समेत बताए । 

अधिकारीहरुले आक्रमणमा १५० जना मारिने आकलन गरेको भन्दै ट्रम्पले मानवरहित ड्रोनमाथि भएको आक्रमणको जवाफमा १५० जनाको ज्यान दाउमा राख्नु उचित नलागेर आफूले अनुमति फिर्ता लिएको बताए । 



ड्रोन खसालिएको खबरले आक्रोशित राष्ट्रपति ट्रम्पले तत्काल इरानमाथि हमलाको आदेश दिएका थिए । रिपाेर्टअनुसार, बिहीबार राति अबेरसम्म वरिष्ठ नेता तथा अधिकारीहरुसँग छलफल गरेका ट्रम्पले इरानका राडर, मिसाइल ब्याटरीजस्ता निश्चित लक्ष्यहरुमा आक्रमणको अनुमति दिएका थिए, तर आक्रमणको ठीक अघि उनले फैसला बदलेका थिए । 

मिसाइल आक्रमणबाट यु–टर्न लिएका राष्ट्रपति ट्रम्पले इरानमाथि डिजिटल स्ट्रइकको आदेश दिएका खबर अन्तर्राष्ट्रिय मिडियामा आइरहेका छन् । रिपोर्टअनुसार, अमेरिकाले ‘साइबर स्ट्रइक’ गरी इरानी सुरक्षा प्रणालीमा नोक्सान पुर्याएको छ । इरानले भने यो खबरको खण्डन गरेको छ । 



  • प्रकाशित मिति : असार ९, २०७६ साेमबार १३:२१:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया