सरकारको दाबी : विपत् व्यवस्थापनका लागि तयारी अवस्थामा छौँ

काठमाडौं– सरकारले मनसुनको समयमा बाढी, पहिरो र डुबानबाट हुन सक्ने जनधनको क्षति र जोखिमको विश्लेषण गरी सम्पूर्ण आवश्यक पूर्व तयारी गरिएको जनाएको छ ।

प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्रालयका सचिव प्रेमकुमार राईले सबै प्रदेशका विभिन्न रणनीतिक स्थानमा खोज उद्धार सामग्रीसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको खोज तथा उद्धार टोलीलाई तयारी अवस्थामा राखिएको बताए ।

त्यसक्रममा प्रदेश विपद् व्यवस्थापन कार्यकारी समिति भएको, जिल्ला विपद् व्यवस्थापन समितिले मनसुनसम्बन्धी कार्ययोजना कार्यान्वयनमा ल्याइसकेको तथा स्थानीय तहमासमेत पूर्व तयारी तथा प्रतिकार्यका लागि सक्रिय रहने व्यवस्था मिलाइसकेको उनले जानकारी दिए ।
 
विपद् व्यवस्थापनको आपत्कालीन कार्यको समन्वय गर्न केन्द्रमा राष्ट्रिय आपत्कालीनकार्य सञ्चालन केन्द्र, प्रदेशस्तरमा २ र ५ माबाहेक ५ प्रदेशमा आपत्कालीन केन्द्र तथा ५२ जिल्लामा जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र सञ्चालनमा रहेको जानकारी दिइयो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलनजिकै रहेको मानवीय सहायतास्थलबाट गतवर्ष नै सातवटै प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा विपद् पूर्व तयारीका लागि टेन्ट, (त्रिपाल), डोरी, जेनेरेजटर र प्लास्टिक सिटलगायत सामग्री भण्डारणमा रहेको सरकारले जानकारी गराएको छ ।
 
नेपाली सेनाद्वारा विपद् पूर्वतयारीका लागि इटहरी, काठमाडौं र सुर्खेतमा हेलिकप्टरसहितको खोज उद्धार टोली मनसुन सक्रिय भएपश्चत तयारी अवस्थामा रहने व्यवस्था मिलाइसकिएको पनि बैठकमा जानकारी दिइयो ।

केन्द्रीय विपद् व्यवस्थापन कोषमा अहिले एक अर्ब ५३ करोड ३९ लाख २६ हजार रुपैयाँ रकम मौज्दात रहेको छ । विषम भू–बनावट, कमजोर भौगर्भिक अवस्था, मौसमी विषमता, जलवायु परिवर्तन, जनसंख्या वृद्धि, अव्यवस्थित बसोवास र सहरी विकासका कारण नेपालमा प्राकृतिक प्रकोपका घटनाबाट वर्सेनी ठूलो जनधनको क्षति हुँदै आएको छ । 
    
विश्वमा प्रकृतिक प्रकोपका धेरै घटना हुने मुलुकको सूचीमा नेपाल २० नम्बरभित्र पर्दछ । प्राकृतिक विपद्का घटनाबाट हुनसक्ने जनधनको क्षति न्यूनीकरण र घटनापछि नागरिकमा पुर्याउनुपर्ने आधारभूत सेवामा कमी हुन नदिन पूर्वतयारीले ठूलो भूमिका निर्वाह गर्छ ।
    
समितिले आगामी मनसुनमा बाढी, पहिरो, नदी कटान, हावाहुरी चट्याङ, आँधिबेहरीबाट हुनसक्ने जनधनको क्षतिको आकलन र विश्लेषण गरी सुरक्षा निकाय, संघीय, प्रादेशिक र स्थानीय समितिको समन्वयमा उद्धार तथा राहतका कार्यक्रम सञ्चालन गर्न व्यवस्थित पूर्व तयारी एवं प्रतिकार्य योजना बनाएर काम गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिले भनेको छ– विपद् जोखिम व्यवस्थापन कार्यमा एकरुपता ल्याउन, पूर्व तयारी, प्रतिकार्य, पुनर्वास र पुनःनिर्माणका लागि सम्बन्धित निकायबीच समन्वय गरेर प्रभावकारी कार्यान्वयन गर्न राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण यथाशीघ्र गठन गर्ने तर्फ ध्यान दिइयोस् ।
    
यसअघि बैठकमा सांसद रेखा शर्मा, महेश्वरजंग गहतराज, दिलेन्द्रप्रसाद बडू, जनार्दन शर्मालगायतले जोखिम क्षेत्रको पहिचान, खोज, उद्धार र राहतका लागि प्रभावकारी संयन्त्र निर्माण, उचित स्थानमा सामग्रीको भण्डारणको आवश्यक प्रबन्ध मिलाउन सरकारको ध्यानकर्षण गराएका थिए ।





  • प्रकाशित मिति : असार ९, २०७६ साेमबार १६:१९:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया