आधुनिक अटोमेटिक पेस्तोलसहित विप्लवका तीन कार्यकर्ता पक्राउ

मोरङ– प्रहरीले आधुनिक हतियारसहित विप्लवका तीनजना कार्यकर्तालाई पक्राउ गरेको छ । प्रहरीले मोरङबाट उनीहरूलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरूमा जिल्ला जनपरिषद् प्रमुख सुन्दर हरैँचा–१२ का अशोक राई, कानेपोखरी–६ का कंश धिमाल र उर्लाबारी–२, सालबारीका केन्द्रलाल धिमाल छन् ।

अशोक र कंशलाई बेलबारी–३ स्थित स्कुल डाँडाबाट र केन्द्रलाललाई उर्लाबारी–२, सालबारीस्थित आफ्नै घरबाट पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार कंशको घरमा लुकाइराखेको अटोमेटिक पेस्तोल दुई थान, त्यसमा प्रयोग हुने म्यागजिन चार थान र गोली १४ राउन्ड बरामद भएको छ । यस्तै केन्द्रलालको घरमा लुकाइराखेको तीन नाल भरुवा बन्दुक, बन्दुकमा प्रयोग हुने बारुद, छर्रा, नटबोल्ट, केपवासर, पुल्थ्रोमा प्रयोग भएको कपडालगायतका सामग्री बरामद भएको छ ।

मोरङ प्रहरीले जनाएअनुसार पक्राउ परेकामध्ये कंश २०६६ सालमा उर्लाबारी मंगलबारेस्थित सुनचाँदी पसल लुटपाट घटनामा डाँका मुद्दा चलाएको, दमकको लक्ष्मी बैंक लुटपाटको घटनामा सात वर्ष कैद भुक्तान गरेको व्यक्ति हुन् । 

पक्राउ परेका व्यक्तिहरूलाई मुलुकी फौजदारी अपराध ऐन २०७४ अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : असार ९, २०७६ साेमबार १७:५०:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया