प्यासन र प्रयासले सबथोक सम्भव छः करिश्मा मानन्धर

काठमाडौं– 

गत चैतमा परीक्षा बोर्डले लिएको एसईई परीक्षाको परीक्षाफल बिहिबार सार्वजनिक भयो । त्यसैले अहिले सामाजिक सन्जालमा राम्रो नम्बर ल्याएका विद्यार्थीहरुलाई बधाई दिने क्रम बढिरहेको छ ।

यस्तै बधाईको ओइरो पाउने एक विद्यार्थी हुन्, अभिनेत्री करिश्मा मानन्धर । करिश्माले एसईईमा बी प्लस ल्याइन् । ‘बधाईको ओइरो यति धेरै आइरहेको छ कि मोबाइल उठाउनै भ्याइनभ्याइ छ,’ उनले फरक धारसँगको कुराकानीमा भनिन् । 

तर, आफूले बधाई पाएको भन्दा पनि अहिले अभिभावकहरु कुन मोडबाट अगाडि बढिरहेका छन् भन्ने कुराले बढी ध्यान निर्धारण गर्ने करिश्माले बुझेकी छिन् । ‘यो त विद्यार्थीका लागि मात्र होइन,’ उनले भनिन्, ‘अभिभावकका लागि झन् अप्ठ्यारो समय हो ।’ अभिभावकको आशाअनुरुप कुनै विद्यार्थीले अंक नल्याएको खण्डमा अभिभावकले विद्यार्थीलाई गाली गर्ने गरेको तथ्य हामीमाझ रहेको उनी बताउँछिन् । 

‘म त विद्यार्थीभन्दा पनि पहिले अभिभावक हो नि,’ उनले भनिन्, ‘त्यसैले अभिभावकलाई के हुन्छ, कस्तो हुन्छ भन्ने कुरा मलाई छ ।’

त्यसैले उनले एसईई दिएका विद्यार्थीका अभिभावकलाई यो समयमा रिसाउन नहुने सल्लाह दिन्छिन् । ‘रिसाउने, कराउने त गर्नै हुँदैन,’ उनले भनिन्, ‘छोराछोरीले जति नै अंक ल्याए पनि त्यसलाई उत्सव जस्तो सोचिदिनु पर्छ, उनीहरुलाई हौसला दिनु पर्छ ।’ गाली, रिस र आक्रोशले विद्यार्थीमा झन् समस्या हुनसक्ने उनी बताउँछिन् । 



‘यो ग्रेड ल्याउनै पथ्र्यो,’ करिश्मा भन्छिन्, ‘भन्दै प्रेसर दिनु हुँदैन, जे जति आएको छ, त्यसलाई नै राम्रो भन्ने सोच्नुपर्छ ।’ 

‘आखिर सबै बच्चाहरु एकै हुँदैनन् नि,’ उनले भनिन्, ‘सबैका आआफ्नै क्षमता हुन्छन्, आआफ्नै गुण र चाहना हुन्छन् ।’



अभिभावकसँगै विद्यार्थीले पनि कुनै तनाव लिन नहुने करिश्माको बुझाइ छ । ‘एसईई जीवनको परीक्षा होइन, अन्तिम परीक्षा होइन,’ उनले भनिन्, ‘जीवनमा यस्ता धेरै परीक्षा आउँछन्, आत्तिनु हुँदैन ।’ 

उनलाई त बरु हामीले सधैं प्रयास गरिरहनु ठिक हुने लाग्छ । ‘सोचेको जस्तो नहुन पनि सक्छ, तर फेरि सुरु गर्नुपर्छ,’ उनले भनिन्, ‘प्रयास गर्दा सबैले राम्रो गर्न सकिहाल्छन्, बेलाबेलामा प्रयास गर्न चाहिँ छाड्नु हुँदैन ।’

नेपाली समाज अरुका लागि बढी बाँच्ने यथार्थ पनि करिश्माले बुझेकी छिन् । ‘हाम्रो समाजमा ठूलो डर भनेको अरुले के सोच्ला भन्ने हो,’ करिश्माले भनिन्, ‘अरुले के सोच्ला भन्ने भन्दा पनि हामी आफ्नो चाहनामा अगाडि बढ्नु पर्छ । उमेर, समय र समाज आफ्नो चाहनालाई रोक्ने हतियार हुनुहुँदैन ।’

यसका लागि त आफैं उदाहरण भएको करिश्माको बुझाइ छ । ‘पन्ध्र सोह्र वर्षका भाइबहिनीहरुबीच बसेर पढेँ,’ उनले भनिन्, ‘मलाई सजिलो थिएन, उनीहरुसँग कुरा मिल्दैनथ्यो । तर, मैले आफूले पढ्छु भन्ने सोचेकी थिएँ, पढेँ ।’

यसका लागि प्रयास र प्यासन दुवै चाहिने उनको बुझाइ छ । ‘प्यासन र प्रयास हुनुपर्छ,’ उनले भनिन्, ‘कुनै पनि कुरा असम्भव हुँदैन ।’

  • प्रकाशित मिति : असार १४, २०७६ शनिबार ९:३०:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया