'दंगल गर्ल' जायराले किन छोडिन् अभिनय ?

नयाँ दिल्ली– चर्चित बलिउड फिल्म ‘दंगल’बाट अभिनय यात्रा सुरु गरेकी भारतीय युवा कलाकार जायरा वसिमले अभिनय छोड्ने घोषणा गरेकी छिन् । आज फेसबुक, ट्विटरलगायत सामाजिक सञ्जालमा एक पोस्ट सेयर गर्दै जायराले अभिनयले आफ्नो धर्मसँगको सम्बन्ध खतरामा परेको भन्दै अभिनय छाड्ने घोषणा गरेकी हुन् । 

पाँच सालअघि दंगलमा गरेको अभिनयबाट उनले ‘सर्वश्रेष्ठ सहायक अभिनेत्री’का रुपमा राष्ट्रिय पुरस्कार पाएकी थिइन् । त्यसयता जायराले द सिक्रेट सुपरस्टार, द स्काई इज पिंकजस्ता फिल्ममा अभिनय गरेकी छिन् । 

आफ्नो पोस्टमा जायराले लगातार आफ्नो इमान कायम राख्न जुझिरहेको तर हरेकपटक विफल भएको उल्लेख गरेकी छिन् । ‘यो क्षेत्रमा काम गरेर मलाई खुसी मिलेन किनकि यसले मेरो धार्मिक विश्वासहरुलाई दखलअन्दाज गरिरहेको थियो,’ जायराले लेखेकी छिन् । 

जायराको इन्स्टाग्राम पोस्ट–

‘पाँच साल पहिले मैले एक फैसला गरेँ, जसले मेरो जिन्दगी सधैँका लागि बदलिदियो । जब मैले बलिउडमा कदम राखेँ, मेरा लागि भारी मात्रामा लोकप्रियताको ढोका खुल्यो । यस क्षेत्रमा मलाई प्रेम र सराहना मिल्यो । तर, यसले मलाई अज्ञानताको बाटोमा लैजाने काम गर्यो, किनकि मैले अन्जानमा आफ्नो इमान (विश्वास) बाट बाहिर निस्केर बदलाव गरेँ । मैले यस्तो माहोलमा काम जारी राखेँ, जुन लगातार मेरो इमानमाथि हस्तक्षेप गर्थ्यो । यसबाट धर्मसँग मेरो सम्बन्धमाथि खतरा थियो । 



म लगातार लडिरहेकी थिएँ कि आफ्नो इमान कायम राख्न सकूँ, तर हरेकपटक नराम्रोसँग विफल भएँ । यो मेरो पहिलो कदम हो कि म जुन मार्गमा चल्न चाहन्छु, त्यसको अनुभूतिको स्पष्टतामा पुगेको छु । यस दौरान मैले जानी–नजानी कतिपय मानिसको मनमा लालचको बीज रोपेँ, तर सबैलाई मेरो सुझाब छ– सफलता, प्रसिद्धि, अधिकार या धन, कुनै पनि मूल्यमा अमन र इमानभन्दा माथि हुन सक्दैन ।’

ट्विटरमा यो पोस्ट सेयर गर्दै जायराले लेखेकी छिन्, ‘पाँच सालअघि मैले एउटा निर्णय गरेँ, जसले मेरो जिन्दगी बदलिदियो । र, आज म अर्को एउट निर्णय गर्दै छु, जसले मेरो जिन्दगी फेरि बदल्नेछ, तर यसपटक राम्रोका लागि । इन्सा अल्लाह ।’ 



पोस्टबाट स्पष्ट हुन्छ, जायराले अब कुनै फिल्म खेल्ने छैनन् । यद्यपि, उनी फिल्म स्काई इज पिंकमा प्रियंका चोपरा र फरहान अख्तरसँग देखिनेछिन् । सुटिङ सम्पन्न भइसकेको यो फिल्म अक्टोबरमा रिलिज हुँदै छ । फिल्ममा उनले मोटिभेसनल स्पिकर आयसा चौधरीको भूमिका निभाएकी छिन् । 
 

  • प्रकाशित मिति : असार १५, २०७६ आइतबार १९:४६:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया