Thu, 17 Oct, 2019


रक्तदानसँग जोडिएका भ्रम र यथार्थ
फरकधार / असार १६, २०७६

एजेन्सी– संसारमा हरेक ठाउँमा मानिसहरू रक्तदान गर्छन् । रक्तदानका लागि जनचेतना फैलाइन्छ, धेरैभन्दा धेरैलाई रक्तदानका लागि प्रोत्साहित गरिन्छ । सामान्यतया रक्तदान गर्दा नियमको पालना गरिन्छ । तर, मानिसहरूमा अझ पनि यसबारे जोडिएका केही मिथहरू र अन्धविश्वास छन् जसका कारण उनीहरू खुलेरै रक्तदान गर्न हिच्किचाउँछन् ।
 
शाकाहरी मानिसहरुले रक्तदान गर्न सक्दैनन् ?



एक सर्वेक्षणअनुसार शाकाहारी मानिसले रक्तदान गर्नु हुँदैन भन्ने भ्रम पाइएको छ । शाकाहारी मानिसमा आइरनको कमी हुने भएकाले उनीहरूले रक्तदान गर्नुहुँदैन भन्ने विश्वास एकथरी मानिसमा छ ।

हो पनि, शाकाहरी भोजन गर्ने व्यक्तिहरूमा आइरनको मात्र कम हुन्छ । यसको अर्थ शाकाहरी भोजनमा आइरन कम हुन्छ । तर, यदि तपाईं सन्तुलित भोजन सेवन गरिरहनुभएको छ भने, त्यसबाट पर्याप्त आइरन पाइरहनुभएको छ । के पनि सत्य हो भने तपाईं सन्तुलित भोजन गरिरहनुभएको छैन र शरीरमा पर्याप्त मात्रामा आइरन छैन भने तपाईंको स्वास्थ्यलाई ध्यानमा राखेर रक्तदान गर्न दिइँदैन ।

कतिपय देशमा रक्तदानका लागि आएको मानिसको रगतमा हेमोग्लोबिनको मात्रा जानिन्छ । रगतमा हेमोग्लोबिनको मात्रा ठीक पाइएको खण्डमा मात्र उसलाई रक्तदान गर्न योग्य मानिन्छ ।
 
ट्याटु र अंग छेड्नेले रक्तदान गर्न मिल्छ कि मिल्दैन ? 

ट्याटु र अंग छेडेकाहरूले पनि रक्तदान गर्न पाउँछन् । उनीहरूले पनि अरूसरह नै रक्तदान गर्न सक्छन्, तर केही समय भने पर्खिनुपर्ने हुन्छ । ट्याटु र अंग छेड्दा प्रयोग भएका साधन राम्रोसँग सरसफाइ गरिएका थिए कि थिएनन् र तिनै साधनबाट मानिसमा संक्रमण सरेको त छैन भनेर उनीहरूलाई केही समय कुर्न लगाइन्छ । 

डब्ल्युएचओको गाइडलाइनअनुसार रक्तदानका लागि ट्याटु हानेकाहरूलाई ६ घन्टा र अंग छेडेकाहरूलाई १२ घन्टा कुराइन्छ । यसका साथै दाँतको ‘ग्राइन्डिङ’ गराएका मानिसलाई २४ घन्टा कुराइन्छ । 

बिरामी, गर्भवतीले रक्तदान गर्नुहुँदैन ? 

यो कुरा एकदम सत्य हो, जसमा एचआइभी, हेपाटाइटिस, भएको छ उनीहरूले रक्तदान गर्न पाउँदैनन् । रक्तदान गर्न १४ दिनअघिबाटै तपाईं कुनै पनि प्रकारका संक्रमणबाट मुक्त भएको हुनुपर्छ । त्यस्तै, रक्तदान गर्दा तपार्इंले कुनै पनि रोगको औषधि प्रयोग गरिरहेको हुनुहुँदैन । रक्तदानको सात दिनयता औषधि खाइरहनुभएको छ भने पनि दान गर्न मिल्दैन । यद्यपि, औषधिसँग जोडिएको नियम देशअनुसार निर्भर गर्छ ।

यदि तपाईं गर्भवती हुनुहुन्छ, भर्खरै सुत्केरी हुनुभएको छ वा स्तनपान गराइरहनुभएको छ या हालै कुनै सर्जरी गराउनुभएको छ भने तत्कालै रक्तदान गर्नुहुँदैन । आइरनको मात्रा के–कस्तो छ भनेर जाँचबुझ गरेर मात्र रगत दिनु राम्रो हुन्छ ।
 
महिनावारीको समयमा रक्तदान गर्न मिल्छ या मिल्दैन ?

महिनावारीको समयमा रक्तदान गर्न मिल्छ । यसले कुनै पनि प्रकारको समस्या निम्त्याउँदैन । नेपालमा रक्तदान गर्न पाउनका लागि व्यक्ति १८ वर्ष पुगेको हुनुपर्छ । तर, यो नियम देशपिच्छे फरक छ ।

रक्तदान गरेपछि शरीरको रगत सकिन्छ ?

यो पनि रक्तदानसँग जोडिएको एउटा ठूलो भ्रम हो । एउटा औसत वयस्क व्यक्तिको शरीरमा लगभग पाँच लिटर रगत हुन्छ । रगतको मात्रा मानिसको शरीरको तौलले निर्भर गर्छ । रक्तदानका क्रममा तपाईंको शरीरबाट लगभग ४५० मिलिलिटर रगत झिकिन्छ । एउटा स्वस्थ मानिसको शरीरले यति रगत २४ घन्टाको अवधिमा पुनः बनाउन सक्छ ।
 
अमेरिकामा एउटा मानिसले एक वर्षमा १२ पटकसम्म रक्तदान गर्न सक्छ, अर्थात प्रत्येक चार साताको अन्तरालमा । यदि तपाईं ‘प्लेटलेट्स’ को कुरा गर्नुहुन्छ भने एक वर्षमा २४ पटकसम्म गर्न सक्नुहुन्छ ।
 
नेपालमा भने प्रत्येक तीन महिनाको अन्तरालमा रक्तदान गर्न मिल्छ । वर्षको चारपटकसम्म । 

यस्तो भएमा तपाईं रक्तदान गर्न योग्य हुनुहुन्छ
 
१. तपाईं पूर्ण रूपमा स्वस्थ हुनुहुन्छ भने । 
२. तपाईंको तौल कम्तीमा ४५ केजी वा त्योभन्दा ज्यादा छ भने । 
३. तपाईंको उमेर १८ देखि ६६ वर्षबीच छ भने (देशअनुसार नियम फरक–फरक हुन सक्छ ।)
४. गर्भवती र स्तनपान गराइरहनुभएको छैन भने ।
५. एचआइभीसँग जोडिएको इतिहास छैन भने ।


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्