आयातीत तरकारीमा विषादी परीक्षण गरेकोमा भारतको असन्तुष्टि

काठमाडौं– भारतले नेपालको सीमानाकामा आइपुगेका आफ्नो देशको कृषिजन्य उत्पादन बोकेका सवारी साधन नरोक्न आग्रह गरेको छ ।

नेपालस्थित भारतीय दूतावासले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र लेख्दै नेपालको सीमा नाकामा सुरु गरिएको तरकारी र फलफूलको विषादी परीक्षण नगर्न सरकारलाई आग्रह गरेको छ ।

भारतीय पक्षले प्लान्ट क्वारेन्टाइन सूचना प्रणाली एवं अन्तर्राष्ट्रिय वनस्पति सुरक्षा महासन्धिअनुसार सीमानाकामा भारतीय तरकारी र फलफूल बोकेका सवारीसाधन रोक्न नमिल्ने जिकिर गरेको हो । 

असार १४ गते दूतावासले सरकारलाई पठाएको पत्रमा नेपालको निर्णयबाट आफ्ना किसान तथा व्यवसायीले ठूलो क्षति बेहोरेको भन्दै  यस्तो काम बन्द गर्न आग्रह गरेको छ । यसअघि दूतावासका अधिकार मन्त्रालयमै गई विषादी परीक्षणको पूर्वाधार नै नभएको अवस्थामा कडाइ गरिनु औचित्यपूर्ण नभएको बताएका थिए । भारतीय दूतावासले विषादी परीक्षण गर्नुको कारण पुष्टि गर्न पनि आग्रह गरेको छ । 

नेपाल सरकारले ताजा तरकारी तथा फलफूल आयात गरिँदा भन्सार बिन्दुमा क्वारेन्टाइन र जीवनाशक विषादीको अवशेष परीक्षण अनिवार्य गर्नुपर्ने व्यवस्था गरेको थियो । असार ३ देखि कार्यान्वयनमा आएको उक्त व्यवस्थापछि भारतबाट नेपाल भित्र्याउन लागिएको तरकारी तथा फलफूल बोकेका ट्रक तथा कन्टेनरको भन्सार जाँच पास रोकिएको थियो ।

यसअघि क्वारेन्टाइन मात्रै परीक्षण हुने नाकामा विषादीको मात्रा परीक्षण अनिवार्य गरिएपछि सुनौली र विराटनगर भन्सार नाकामा तरकारी तथा फलफूल बोकेका भारतीय सवारी रोकिएका थिए । 





  • प्रकाशित मिति : असार १९, २०७६ बिहीबार १६:९:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया