प्रधानमन्त्री ओलीले नेकपा सांसद्लाई भने– बाहिर सरकारको आलोचना गर्दै नहिँड्नू

काठमाडौं– प्रधानमन्त्री तथा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले दलका सांसद्हरुले सरकारको नै आलोचना गरिरहेको र यो क्रम तत्काल रोक्नु पर्ने बताएका छन् । 

संसदीय दलको शनिबार बसेको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भारतबाट आउने तरकारी तथा फलफूलको विषादी जाँच प्रक्रियाबारे पनि थाहा नपाइ नेकपाकै नेताहरुले जथाभावी बोलेको आरोप लगाएका छन् । 

‘नेकपाकै सांसद्हरु त्यसबारे बुझेर बोल्नु भएको छैन,’ प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै बैठकमा सहभागी एक सांसद्ले भने, ‘सरकारका कुरा आफ्नै सांसद्हरुले काट्दै हिँड्नु ठिक हुँदैन । बुझेर प्रतिक्रिया दिने र सबै कुरा संसदीय दलको बैठक हुँदा राख्नु पर्छ ।’

प्रधानमन्त्री ओलीले अहिले सरकारले आफ्ना कामहरु गरिरहेको र छिट्टै सरकारका कामको नतिजा देखिने पनि बैठकमा बताएको एक सांसद्ले फरकधारसँग बताए । 

बैठकमा प्रधानमन्त्री ओलीले भारतबाट आउने तरकारी तथा फलफूलको विषादी  सीमामा परीक्षण (क्वारेन्टाइन) गर्ने विषयबाट सरकार पछाडि हट्नुको कारण उचित व्यवस्थापन नहुनु भएको बताएका छन् । उनले भने, ‘हाम्रो पर्याप्त तयारीविना घोषणा भएकाले समस्या परेको हो । र, यो प्रक्रियाका लागि सरकारले काम गर्नेछ, अहिले एक स्टेप फर्वाड भएछ ।’

प्रधानमन्त्री ओलीले क्वारेन्टाइनको निर्णय भएपछि भारतले सरकारलाई दबाब दिएको कुरा ठाडै अस्वीकार गरे । भारतीय दूतावासले पत्र लेख्दै उद्योग तथा वाणिज्य मन्त्रालयलाई यो प्रक्रिया नगर्न दबाब दिएको थियो । ‘भारतबाट पत्र आयो रे, ख्वै कसलाई आयो, मैले थाहा पाइनँ,’ ओलीले भने । 



संसदीय दलको बैठकमा भारतीय फिल्मी अवार्ड आइफा अवार्डबारे विषय उठे पनि प्रधानमन्त्री ओलीले यसबारे केही भनेनन् । यसअघि संसदीय समितिले सरकारलाई आइफा अवार्ड नेपालमा नगर्नू भन्ने निर्देशन दिइसकेको छ । तर, यो निर्देशन आएपछि प्रधानमन्त्री ओलीले आइफा अवार्ड नेपालमा गरेरै छाड्ने बताएका थिए ।



  • प्रकाशित मिति : असार २१, २०७६ शनिबार २०:२६:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया