डा. केसीद्वारा पुनः आमरण अनशन बस्ने चेतावनी, चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्ति प्रक्रियामा असन्तुष्टि

काठमाडौं– चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्ति प्रक्रियाप्रति त्रिवि शिक्षण अस्पतालका डा. गोविन्द केसीले असन्तुष्टि जनाएका छन्। यसअघि पटकपटक आमरण अनशन बसेका केसीले बिहीवार त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गर्दै चिकित्सा शिक्षा आयोगको संस्थापक उपाध्यक्ष कुनै राजनीतिक दलको कार्यकर्ता बन्न सक्ने भन्दै आपत्ति प्रकट गरे ।

आयोगको उपाध्यक्ष नियुक्ति संवेदनशील कुरा भएको उल्लेख गर्दै उनले कसैको स्वार्थपूर्ति गर्ने गरी नियुक्ति गरिएको आरोप लगाएका छन् । विज्ञप्तिमा लेखिएको छ, ‘आयोगको संस्थापक उपाध्यक्ष अयोग्य मानिस वा पार्टीको कार्यकर्ता बन्नु भनेको यस क्षेत्रमा अहिलेसम्म देखापरेका यावत् विकृतिलाई झनै मौलाउन दिनु र चिकित्सा क्षेत्रको नियमन अस्तव्यस्त पार्नु हो ।’

सरकारले लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा सिफारिस समिति गठन गरेको थियो । उपाध्यक्ष चयनका लागि सिफारिस समितिले योग्य व्यक्तिहरूबाट आवेदन माग गरेको थियो । 

जसमा ६ जनाको आवेदन परेको थियो । उपाध्यक्षका लागि डा. श्रीकृष्ण गिरी, डा. रमेश सिंह, नीलाम्बर झा, डा. पारस पोखरेल र डा. प्रमोद साह र डा. नीलमणि उपाध्यायले आवेदन दिएका छन् । जसमध्ये उपाध्याय चिकित्सा शिक्षा जाँचबुझ आयोगले दोषी ठहर गरेका व्यक्ति हुन् । 

आवेदनको समय सोमबार सकिएको छ । डा. केसीले भने उम्मेदवार छनोटको प्रक्रिया तत्काल रोक्न माग गरेका छन् । सरकार नियुक्ति प्रक्रियाको कर्मकाण्ड देखाएर पन्छिन खोजेको उल्लेख गर्दै उनले उम्मेदवार छनोट प्रक्रिया तत्काल रोक्न सरकारसँग माग गरेका छन् । 

पत्रकार सम्मेलनमार्फत डा. केसीले आफ्नो माग पूरा नभए पुनः आमरण अनशन बस्ने चेतावनी दिएका छन् । 





  • प्रकाशित मिति : असार २६, २०७६ बिहीबार १६:३२:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया