प्रसूतिगृह र वीर अस्पतालका पुनर्निमित भवन उद्घाटन

काठमाडौं– २०७२ वैशाखको भूकम्पबाट क्षति भएका परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको मुख्य भवन र वीर अस्पतालको एउटा भवनको पुनर्निर्माण सपन्न भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रसूतिगृह र उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले वीर अस्पतालमा पुनर्निर्माण गरिएको भवनको उद्घाटन गरे ।

भूकम्पबाट क्षति भएका स्वास्थ्य संस्थाका पूर्वाधारहरुको पुनर्निर्माण कार्यक्रमअन्तर्गत नेपाल सरकार र जापान सरकारबीच भएको द्विपक्षीय सम्झौताअनुसार जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को प्राविधिक तथा आर्थिक सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत प्रसूतिगृह र वीर अस्पतालको पुनर्निर्माण गरिएको हो ।

पुनर्निर्माण गरिएको प्रसूतिगृहमा १ सय ८२ शय्या रहेका छन् भने वीर अस्पतालमा ९४ शय्या छन् । यी दुईवटा भवनको लागत २ अर्ब ३६ करोड रुपैयाँ छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्माणपछि बनेको अत्याधुनिक र सुविधा सम्पन्न भवनबाट प्रसूतिगृहले पुर्याउने सेवामा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।  उनले अझ राम्रो र बलियो भन्ने पुनर्निर्माणको मुख्य अवधारणाअनुसार अत्याधुनिक र सुरक्षित भवन बनेकोमा खुसी व्यक्त गरे ।

उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले प्रसूतिगृहको अत्याधुनिक शैलीमा पुनर्निर्माण गरिएको प्रसूतिगृहबाट महिला र बच्चाहरुले थप गुणस्तरीय सेवा पाउने विश्वास व्यक्त गर्दै उपत्यका बाहिर पनि यस्ता अस्पतालको पुनर्निर्माण गर्न आवश्यक भएको बताए ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्रसूतिगृह र वीर अस्पतालको पुनर्निर्माणले अन्तर्राष्ट्रिय समुदायलाई परिचालन गरेर भूकम्पबाट क्षति भएका संरचनाको पुनर्निर्माण गर्न सकिन्छ भन्ने सन्देश दिएको बताए । उनले स्वास्थ्य संस्था, निजी आवास, शैक्षिक संस्था, सम्पदालगायतको पुनर्निर्माणमा धेरै काम भइसकेको बताउँदै बाँकी काम पनि समयमा नै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे ।



नेपालका लागि जापानका राजदूत मासामिची साइगोले भूकम्पपछिको पुनर्निर्माणमा सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै पुननिर्माण सम्पन्न भएका अस्पतालबाट सेवा प्रवाह पनि बढ्ने विश्वास व्यक्त गरे ।

प्रसूतिगृहका निर्देशक जागेश्वर गौतमले भूकम्पपछि अस्पतालले दिने सेवा सुविधा खुम्चिएकोमा पुनर्निर्माणपछि पुनः विस्तार भएको बताए । उनले अस्पताल पुनर्निर्माणमा सहयोग पुर्याउने सबैलाई धन्यवाद दिए ।



२०७२ सालको भूकम्पबाट ११ सय ९७ वटा स्वास्थ्य संस्थामा क्षति पुगेकोमा ६ सय ४३ वटाको पुनर्निर्माण सम्पन्न भएको छ भने १ सय ४५ वटामा पुनर्निर्माणको काम जारी छ ।

  • प्रकाशित मिति : असार २७, २०७६ शुक्रबार १७:५३:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया