पलेँटीमा संगीतकार विक्रम गुरुङ

काठमाडौं– यो महिनाको सांगीतिक कार्यक्रम ‘पलेँटी शृङ्खला’मा प्रसिद्ध संगीतकार विक्रम गुरुङ उपस्थित हुने भएका छन् । पलेँटीमा प्रस्तुत हुन गुरुङ काठमाडौं आइपुगेका छन् । 

संगीतकार विक्रम फेवातालको पश्चिम पहाडमा रहेको तामागी गाउँमा जन्मिएका हुन् । विक्रमका पिता भारतीय सेनामा भएका कारणले उनको बाल्यकाल भारतको देहरादुनमा बित्यो । प्राथमिक तहमा पढ्दै गर्दा स्कुलमा पियानो बजाउँदै बालगीत सिकाएको दृश्यले उनलाई आकर्षित त गर्थ्यो तर त्यतिबेला उनी संगीत कक्षामै सहभागी विद्यार्थी भने थिएनन् । पाँच कक्षाको अध्ययनपछि उनको परिवार पोखरा फर्कियो, विक्रमले अध्ययन पनि पोखरामा नै गर्न थाले । 

उनी सानैदेखि संगीतमा जिज्ञासु थिए, किशोर अवस्थामा उनी बाजगाजा नभए पनि गुनगुनाउँदै धुन बुन्ने प्रयास गर्थे । पलेँटीको निम्ति गाउने अभ्यास गरिरहेका उनीलाई आफ्नो सुरुका दिन सम्झन अनुरोध गर्दा भन्छन्, ‘मैले ट्युन गर्न पहिलो कोसिस गरेको त ‘फेरि उसैका लागि’मा रहेका राजा महेन्द्रका शब्दहरूबाट होस बिना गाजागाजा । त्यो संगीतप्रतिको मेरो रहरको जिज्ञासु चरण थियो ।‘

२०३३–३४ सालपछि भने उनको सांगीतिक रुचिले नयाँ मोड लियो । त्यो नयाँ मोडमा उनलाई पुर्याउने पात्र भने गायक अरुण थापा थिए । अरुणको स्वर त्यतिबेला मौलिक रचनामा प्रवेश भएकै थिएन । उनी रेडियो र फिल्ममा चलेका हिन्दी, नेपाली गीत गाउँथे । उनको गायकीको चर्चा सँगै पोखरामा रहेका संगीत र साहित्य प्रेमीहरूको चहलपहल बढ्यो । त्यही चहलपहलले पोखरेली युवा सांस्कृतिक परिवारको जन्म भयो । संगीतकार विक्रम त्यही विगतलाई सम्झँदै भन्छन्, ‘अरूणसँगको भेटपछि कार्यक्रम आयोजना हुन थाले । त्यसका निम्ति नेपाली गीत बनाउनु पर्छ भन्ने सोच आयो र मैले पनि अरुणसँगसंगै बसेर संगीत सृजना गर्ने जाँगर चलाएँ ।’

संगीतकार विक्रमले सृजना गरेका तीनवटा गीत मात्र अरुणले गाएका छन् । ती तीनवटै गीतले लोकप्रियता र बौद्धिक जमातको प्रसंसा दुबै बटुले । ‘भुलुँ भलुँ लाग्यो मलाई’ले त लोकप्रियताको उचाइ नै चुम्यो साथै ‘आँखाको निँद खोसी लाने’ र ‘कतै टाढा तिमीबाट भुलेँ भने’ले पनि राम्रो प्रसंसा पाए । अरूण र विक्रमको सांगीतिक सहकार्यमा निकै ठूलो सम्भावना रहेको थियो तर त्यो सम्भावनालाई समयले साथ दिएन । उच्च शिक्षा हासिल गर्न विक्रम काठमाण्डौतिर लागे । किर्तिपुरको त्रिभुवन विश्वविद्यालयमा भर्ना भए । अरुण भने पोखरामै रहे । केही अन्तरालमा अरूण पनि काठमाण्डौ त आए तर पोखराको जस्तो सांगीतिक जमघट भने हुन सकेन । साँगाको प्रहरी विद्यालय हुँदै अध्यापन पेशामा प्रवेश गरेका विक्रमलाई त्यही पेशाले हङकङ पुर्योयो । संगीतबाट उनी टाढा नै त भएनन् तर त्यसमै तल्लिन रहन पनि पेशा र समयले साथ दिएन ।

‘अरूणकै निम्ति भनेर केही गीत तयार पनि गरेँ र काठमाण्डौमै रेकर्ड गर्ने तयारी पनि भयो । म्युजिक ट्रयाक पनि बने तर अरूण हराइरहेको बेला थियो त्यो । अरूणको स्वास्थ्य खस्किसकेको बेला थियो । उनको मनले गाउन खोज्थ्यो तर शरीरले साथ दिन सकेन । ती ट्रयाकहरू त्यत्तिकै थन्किए,’ विक्रमको सम्झनामा छ । 



पलेँटीमा आउने शुक्रबर, शनिबार र आइतबार तिनै क्षण र सांगीतिक यात्राको सम्झना गर्दै आफ्ना गीत प्रस्तुत गर्ने तयारीमा छन् संगीतकार विक्रम गुरुङ । ‘पलेँटीले शब्द लेख्ने र धुन भर्नेहरूलाई प्रस्तुत गर्ने क्रममै मलाई पनि निम्त्याएको हो भन्ठान्छु । यो मञ्चमा नेपाली आधुनिक संगीतका धेरै योगदानकर्ताहरू प्रस्तुत भइसक्नु भएको छ । यो मञ्चले नेपाली आधुनिक संगीतको प्रतिष्ठा उठाउन गरेको अभियानमा जोडिन पाउनु खुशीको कुराहो ।’ आफ्ना धेरैजसो गीत आफैँ गुनगुनाउने तयारीमा रहेका गुरुङ भन्दै थिए । उनलाई महिला गायनतर्फ भने गायिका मीना निरौलाले साथ दिनेछिन् ।

‘पलेँटीमार्फत् विक्रम दाइसँगको संगतलाई अझ परिमार्जित गर्न पाउनु एउटा छुट्टै सांगीतिक रचनाको अध्ययन गर्नु जस्तै हो । उहाँले संख्यामा थोरै गीत बनाए पनि तिनको मिठास र गुणले म सँधै आकर्षित भएको छु,’ पलेँटी संयोजक आभासले भने ।



यही महिनाको १० गते शुरु हुने विक्रम गुरुङसँगको पलेँटी ३ दिनसम्म चल्ने छ । कार्यक्रमलाई पलेँटीको शुरुवातदेखि नै संचालन गर्दै आएका संगीतकर्मी आभासले संगीतकार विक्रम गुरुङको सांगीतिक जीवनको सेरोफेरोमा रहेर अन्तरसम्वाद पनि गर्नेछन् ।

कालिकास्थानस्थित ‘आर’शालामा आयोजना हुने पलेँटीमा संगीतकार गुरुङलाई वाद्यवादनतर्फ किबोर्डमा दिनेश रेग्मी, तबलामा सन्देश महर्जन, गिटारमा सुरज प्रधान, प्रकसनमा पारस, बाँसुरीमा बलराम समालर बेस गिटार मा अम्बर गुरुङ ‘पोखरेली’ले साथ दिनेछन् ।

शुरुमा अँग्रेजी महिनाको अन्तिम शुक्रवार एक दिन मात्र हुने गरेको पलेँटी कार्यक्रम केही महिनादेखि महिनाको अन्तिम सप्तान्त( शुक्रवार, शनिवार र आइतबार गरी तीन दिन संचालन हुँदै आएको छ ।

  • प्रकाशित मिति : साउन ५, २०७६ आइतबार १८:१७:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया