५० वर्षसम्म बिहे नगर्ने एकल महिलालाई सामाजिक सुरक्षा भत्ता

डोटी– सरकारले श्रीमान् बितेका एकल महिला तथा वृद्धवृद्धालाई सामाजिक सुरक्षा भत्ता दिइरहेका वेला जिल्लाको दीपायल सिलगढी नगरपालिकाले ५० वर्षको उमेरसम्म पनि बिहे नगरी एकल जीवनयापन गरिरहेका महिलालाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने भएको छ । 

नगरपालिकाको आर्थिक वर्ष २०७६–७७ को नीति, कार्यक्रम तथा बजेटमार्फत बिहे नगरी एकल जीवनयापन गरिरहेका महिलालाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने कार्यक्रमलाई अगाडि बढाउने भएको छ । कम्तीमा पनि ५० वर्षसम्म बिहे नगरी एकल जीवनयापन गरिरहेका महिलालाई वैकल्पिक व्यवस्था नभएसम्म सामाजिक सुरक्षा भत्ता नगरपालिकाले प्रदान गर्ने र उनीहरुलाई सीपमूलक कार्यक्रममा समावेश गरी आयआर्जनका क्रियाकलापमा जोड दिइने नीति नगरपालिकाले लिएको नगर प्रमुख मञ्जु मलासीले बताए ।

उनले भने, ‘कम्तीमा पनि ५० वर्षसम्म बिहे नगरेर एकल जीवनयापन गरिरहेका महिलाको वैकल्पिक व्यवस्था नभएसम्म सामाजिक भत्ता दिइने योजना बनाएका छौँ, त्यस्ता महिलालाई भत्ता दिनेछौँ ।’ बिहे नगरेर एकल बसेका महिलालाई उक्त कार्यक्रमले आर्थिक तथा सामाजिक विकासमा मद्दत पुग्ने अपेक्षा नगरपालिकाले गरेको छ । 

नगरपालिकाभित्र ५० वर्षसम्म बिहे नगरी बसेका एकल महिला के कति संख्यामा छन्, उनीहरुलाई परिचयपत्रको व्यवस्था कसरी गर्ने र सामाजिक सुरक्षा भत्ता कसरी प्रदान गर्ने भन्ने विषयमा विशेष कार्यविधि तयार गरिन लागेको नगरपालिका निमित्त प्रशासकीय अधिकृत भोजराज शर्माले जानकारी दिए । 

आगामी मंसिर महिनादेखि उक्त कार्यक्रम सुरुआत गर्ने गरी कार्यविधि तयार गरिने नगरपालिकाले योजना बनाएको छ । बिहे नगरी बसेका एकल महिलाका क्षेत्रमा दीपायल सिलगढी नगरपालिकाले यो नौलो कामको सरुआत गर्न थालेको नगरपालिकाका सामाजिक विकास अधिकृत रमेशचन्द्र जोशीले बताए । दीपायल सिलगढी नगरपालिकामा ५० वर्षसम्म बिहे नगरेर एकल जीवनयापन गरिरहेका थुप्रै महिला हुन सक्ने अनुमान गरिएको छ ।





  • प्रकाशित मिति : साउन ७, २०७६ मंगलबार १६:५१:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया