[भारत] संकटमा कर्नाटक सरकार, तेस्रो समयसीमा सकिँदा मुख्यमन्त्री कुमारस्वामीले बहुमत सिद्ध गर्न सकेनन्

नयाँ दिल्ली– भारतको कर्नाटक राज्यका मुख्यमन्त्री कुमारस्वामीलाई विधानसभामा विश्वासको मत लिन दिइएको तेस्रो समयसीमा मंगलबार सकिएको छ ।

तेस्रो समयसीमा सकिँदासम्म बहुमत साबित नगरेका मुख्यमन्त्री कुमारस्वामीले आफू ‘एक्सिडेन्टल’ मुख्यमन्त्री भएको बताएका छन् । पार्टीका विद्रोही विधायकहरुलाई अयोग्य घोषणा गरिने बताउँदै मुख्यमन्त्री कुमारस्वामीले उनीहरुको राजनीतिक करिअर सकिने बताएका छन् । 

यसअघि, सदनमा छलफल हुँदा सत्तापक्षका धरैजसो विधायक उपस्थित थिएनन् । यसमा सभामुख रमेशकुमारले असन्तुष्टि जनाएका थिए ।

केही दिनअघि सत्तारुढ कांग्रेसका १५ विधायकले विद्रोह गर्दै राजीनामा दिएका थिए । सभामुखले उनीहरुको राजीनामा अहिलेसम्म स्वीकृत भने गरेका छैनन् ।

यी १५ सांसदको साथ छँदा कुमारस्वामीलाई ११६ विधायकको समर्थन थियो । बहुमतका लागि ११२ विधायकको समर्थन चाहिन्थ्यो । कुमारस्वामीसँग स्पष्ट बहुमत थियो । 

१५ विद्रोही सांसद उपस्थित नहुँदा सभामुखबाहेक विधानसभामा २०८ सदस्य हुन्छन् । बहुमतका लागि कुमारस्वामीलाई १०५ मत चाहिन्छ । तर, उनको पक्षमा मात्र १०१ मत रहन्छ । 



कांग्रेसले विधानसभामा विस्वासको मतका लागि मतदान हुनुअघि १५ विद्रोही सांसदको राजीनामाबारे निर्णय लिन सभामुखलाई आग्रह गरेको छ । उनीहरुको राजीनामा स्वीकृत भए भाजपाले सरकार बनाउने प्रबल सम्भावना छ । त्यसैले पनि उनीहरुलाई भाजपाले भड्काएको कांग्रेसले आरोप लगाउँदै आएको छ । 

यसैबीच, सामाजिक सञ्जालमा मुख्यमन्त्री कुमारस्वामीले राज्यपालसमक्ष राजीनामा दिएको हल्ला फैलिएको छ । मुख्यमन्त्रीको हस्ताक्षर भएको राजीनामा पत्र धेरैले सेयर गरिरहेका छन् । मुख्यमन्त्री कुमारस्वामीले भने आफूले राजीनामा नदिएको प्रस्ट्याउँदै ‘कसैले आफ्नो नक्कली हस्ताक्षर गरेर हल्ला फैलाएको’ बताएका छन् । 



  • प्रकाशित मिति : साउन ७, २०७६ मंगलबार १९:३६:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया