‘जैविक पर्दा’, जसको एक टुक्राले २० वटा ठूला रुखले जति कार्बनडाइअक्साइड सोस्न सक्छ

लन्डन– बेलायतको आर्किटेक्चर फर्म ‘इको लजिक स्टुडियो’ले यस्तो पर्दा बनाएको छ, जसले वायुमण्डलमा भएको कार्बनडाइअक्साइड सोसेर लिन्छ ।

'फोटोसिन्थेटिका' नाम दिइएको यो  जैविक पर्दा (बायो–कर्टेन) लाई सहरी पर्दाको रुपमा डिजाइन गरिएको छ । निर्माता कम्पनीका अनुसार, यो पर्दाले हरेक दिन झन्डै एक किलोजति कार्बनडाइअक्साइड सोस्न सक्छ, जुन २० वटा ठूला रुखले सोस्ने कार्बनडाइअक्साइड बराबर हो । 

पर्दामा राखिएका हर मोड्युलले एक फोटोबायोरिएक्टरको रुपमा काम गर्छ । डिजिटल्ली डिजाइन गरिएका बायोप्लास्टिकबाट बनेका यी मोड्युलले दिनमा सूर्यको किरण सोस्छन्, र रातमा चमक दिन्छन् । 

यो कार्बन–न्युट्रल बायो–कर्टेनले वातावरणमा भएको दूषित हावालाई छानेर कार्बनडाइअक्साइड सोस्छ, र अक्सिजन छोड्छ । एको लजिकका सह–संस्थापक क्लाडिया पास्क्वेरोका अनुसार, पर्दाले कार्बनडाइअक्साइडसँगै हावामा रहेका अन्य प्रदूषक पदार्थलाई आफूभित्र जमाएर बायोमासमा बदल्छ । यसको प्रयोग बायोप्लास्टिक बनाउने कच्चा पदार्थका रुपमा गर्न सकिन्छ ।

पर्दामा राखिएका साइनोब्याक्टेरिया सेलले हावामा भएका दूषित कणलाई खाइदिन्छन् । यति मात्र होइन, यी सेलले कार्बनडाइअक्साइडमा भएको कार्बन र अक्सिजनलाई अलग गरिदिन्छन् । 



यो पर्दालाई भवनको एक साइडबाट माथिदेखि तलसम्म झुन्ड्याउन सकिन्छ । पर्दामा १६ मोड्युल छन् । हरेक मोड्युल २ मिटर चौडाइ र ७ मिटर लम्बाइका छन्, जुन बायोप्लास्टिकका दुई पारदर्शी पत्रबाट बनेका छन् ।

गुणस्तर र प्रकारका हिसाबले यस्ता जैविक पर्दाको मूल्य प्रतिमिटर ३७ हजारदेखि २ लाख ४० हजार रुपैयाँसम्म पर्छ । 



  • प्रकाशित मिति : साउन १६, २०७६ बिहीबार १९:४१:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया