मन्त्रालय पुगेकाे 'नाटाेज'काे टाेलीसँग पर्यटनमन्त्री भट्टराईले भने– वायुसेवा निगमको सानलाई निगमकै जहाजको उचाइमा पुर्याउछु

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको सानलाई जहाजकै उचाइमा पुर्याउने बताएका छन् । 

आज राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज) का अध्यक्ष शिव अधिकारीको नेतृत्वमा मन्त्रालय पुगेको प्रतिनिधिमण्डलसँग छलफल गर्दै मन्त्री भट्टराईले पर्यटक आगमनसँग प्रत्यक्ष जोडिएको राष्ट्रिय ध्वजावाहक निगमको अन्योलग्रस्त अवस्थालाई सुधारेर निगमको जहाज उड्ने ३८ हजार फिटको उचाइमा निगमको सान पुर्याएर संसारलाई देखाउने बताए ।  

‘भिजिट नेपाल २०२०’ अभियानलाई सफल बनाउन प्रचारप्रसार र पूर्वाधार विकास सँगसँगै अघि बढाइने उनले बताए । मन्त्रालयका कामकारबाहीलाई प्रभावकारी बनाउन कार्यतालिका बनाएर काम अघि बढाउने योजना उनले सुनाए । 

आफू मन्त्रालयमा रहुन्जेल सम्पूर्ण तागत र इमान्दारीका साथ काम गर्ने प्रतिबद्धता जनाएका मन्त्री भट्टराईले पर्यटन क्षेत्रमा धेरै ठूला कुरा नगरिकन सामान्य सुधार गर्ने हो भने पनि परिणाम निस्कने तर्क गरे । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधार, निमार्णाधीन भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय विमानस्थल र बाराको निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको कामलाई प्रभावकारी बनाउने मन्त्री भट्टराईको योजना छ । 

छलफलमा नाटोज अध्यक्ष शिव अधिकारीले सबै पर्यटन पत्रकारका तर्फबाट भ्रमण वर्षलगायत मन्त्रालयका कामलाई सफल बनाउन सहयोगात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए ।



(तस्बिर– नाटोज अध्यक्ष शिव अधिकारीको फेसबुकबाट)



  • प्रकाशित मिति : साउन २१, २०७६ मंगलबार २१:१२:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया