[कस्मिर संकट] पाकिस्तानी मन्त्रीले संसद्‌मा भने– भारतसँग कूटनीतिक सम्बन्ध अन्त्य गरौँ, 'सम्मानका लागि' युद्ध चुनौँ

इस्लामावाद– भारतले जम्मु–कस्मिरलाई ७० वर्षदेखि दिइएको विशेष राज्यको मान्यता खारेज गर्दै त्यहाँ केन्द्रको शासन चलाउने निर्णय गरेपछि पाकिस्तानले त्यसको कडा शब्दमा आलोचना गरेको छ । पछिल्ला दिन पाकिस्तानका प्रधानमन्त्रीदेखि सेना प्रमुखसम्म भारतप्रति चेतावनीपूर्ण अभिव्यक्ति दिइरहेका छन् । 

भारत र पाकिस्तानबीच विभाजनको समयदेखि नै कस्मिरबारे विवाद चलिरहेको छ । 

भारतकै हिस्सा भए पनि यसअघि कस्मिरमा छुट्टै संविधान थियो । कस्मिरले छुट्टै राष्ट्रिय झन्डा चलाउँथ्यो, स्थायी कस्मिरवासीलाई छुट्टै नागरिकता दिन्थ्यो । अधिकांश जनता मुस्लिम भएकाले पनि कस्मिरवासी भारतसँग भन्दा पाकिस्तानसँग निकट थिए । कस्मिरको राजनीतिमा पाकिस्तानले कतै न कतै भूमिका खेलिरहेकै थियो । 

त्यसैले पनि, कस्मिरमा प्रत्यक्ष केन्द्रीय शासन चलाउने भारतको निर्णयले पाकिस्तानलाई ठूलो धक्का दिएको छ । ‘आजाद कस्मिर’को वकालत गर्ने पाकिस्तानले कस्मिर मुद्दामा आफ्नो हारको रुपमा पनि यो घटनालाई लिएको हुनुपर्छ । 

भारत सरकारको निर्णयविरुद्ध पाकिस्तानले संयुक्त राष्ट्र संघमा उजुरीसमेत हालिसकेको छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले विभिन्न देशका कार्यकारीसँग कुरा गरेर आफ्नो पक्षमा लबिइङ पनि सुरु गरिसकेका छन् । यो मुद्दाले भारत–पाकिस्तानलाई आणविक युद्धको अवस्थासम्म धकेल्न सक्ने चेतावनीसमेत उनले दिएका छन् । 

यसैबीच, प्रधानमन्त्री इमरानको क्याबिनेटका एक मन्त्रीले त भारतसँग आफ्नो कूटनीतिक सम्बन्ध नै समाप्त गर्न माग गरेका छन् । भारतीय राजदूत पाकिस्तानमा र पाकिस्तानी राजदूत भारतमा रहिरहनुको औचित्य नै सकिएको भन्दै उनले ‘जब दुई देशबीच कूटनीति नै चलिरहेको छैन भने कूटनीतिक सम्बन्ध टिकाइराख्नुको के अर्थ ?’ भन्दै प्रश्न गरेका छन् । 



‘भारतका राजदूत यहाँ किन छन् ?’ आज कस्मिर मुद्दामाथि संसद्को संयुक्त सत्रलाई सम्बोधन गर्दै पाकिस्तानी विज्ञान तथा प्रविधि मन्त्री फवाद हुसेनले प्रश्न गरे, ‘हामी कूटनीतिक सम्बन्ध किन अन्त्य गरिरहेका छैनौँ ? जब दुई देशबीच कुनै डिप्लोमेसी नै चलिरहेको छैन भने हाम्रा राजदूत वहाँ (भारतमा) के गरिरहेका छन् ?’

भारतले पाकिस्तानको आत्मसम्मानमा प्रहार गरेको भन्दै मन्त्री हुसेनले भारतसँग युद्ध गर्न डराउन नहुने बताए । पाकिस्तानले अपमान र युद्धमध्ये कुनै एक चुन्नुपर्ने अवस्था आएको भन्दै उनले ‘सम्मानका लागि’ युद्ध चुन्नुपर्ने जिकिर गरे । युद्ध हारजितका लागि भन्दा पनि सम्मानका लागि लडिने भन्दै उनले सम्मानभन्दा ठूलो केही नहुने तर्क गरे । 



  • प्रकाशित मिति : साउन २२, २०७६ बुधबार १९:२५:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया