बागलुङमा उपनिर्वाचनको तयारी तीव्र

बागलुङ । निर्वाचन आयोगले मङ्सिर १६ गते देशभरका रिक्त पदमा उपनिर्वाचन गर्ने घोषणा गरेसँगै बागलुङमा  निर्वाचनको तयारी थालिएको छ । बागलुङमा मृत्यु तथा जिल्ला समन्वय समितिमा निर्वाचित भएर खाली भएको एक प्रदेशसभा र एक वडाध्यक्ष गरी दुई स्थानमा उपनिर्वाचन हुँदै छ । 

गण्डकी प्रदेशसभा सदस्यअन्तर्गत बागलुङ क्षेत्र नं २ को  ‘ख’ बाट निर्वाचित टेकबहादुर घर्तीको मृत्यु तथा बागलुङको बडीगाढ गाउँपालिका– २ का वडाध्यक्ष विष्णु भुसाल जिल्ला समन्वय समितिको उपप्रमुखमा निर्वाचित भएपछि ती स्थान रिक्त भएका हुन् ।

निर्वाचन घोषणा भएपछि साउन १६ गतेसम्म निर्वाचन कार्यालयमा दर्ता भएका वा सरेर आएका मतदाता निर्वाचनमा सहभागी हुन पाउने व्यवस्था गरिएको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत विकास पौडेलले बताए । प्रदेशसभा सदस्यअन्तर्गत बागलुङ क्षेत्र नं २ को ‘ख’ मा गत निर्वाचनमा ३३ हजार २ सय ४० मतदाता सहभागी थिए । यस पटक ३६ हजार ५ सय मतदाताको नामावली संकलन भएको छ । 

वडातर्फ बडीगाढ गाउँपालिका–२ मा गत निर्वाचनमा एक हजार ७ सय ७० मतदाता थिए । यसपटक एक हजार ८ सय २ जनाको मतदाता नामावली संकलन भएको निर्वाचन अधिकृत पौडेलले बताए । ‘अहिले प्रदेशसभा सदस्य र वडा अध्यक्षका लागि दुई ठाउँमा निर्वाचन गराउनुपर्ने भएको छ’, पौडेलले भने, ‘रिक्त रहेको प्रदेशसभा सदस्य अन्तर्गत क्षेत्र नं–२ को ‘ख’ र एक वडा अध्यक्षमा निर्वाचन गर्ने तयारी थालिएको हो ।’

पौडेलका अनुसार अहिले तथ्यांक प्रशोधनकै क्रममा रहेकाले मतदाता सङ्ख्यामा केही तलमाथि हुन सक्नेछ । प्रदेशसभा सदस्यअन्तर्गत क्षेत्र नं–२ को ‘ख’ मा ४२, बडीगाढ गाउँपालिका–२ मा चार गरी ४६ मतदानस्थल रहेको पौडेलले जानकारी दिए । 

निर्वाचन कार्यालयले निर्वाचनको तयारी थालेपछि राजनीतिक दलमा चुनावी सरगर्मी बढेको छ । प्रदेश सभा सदस्य क्षेत्री राष्ट्रिय जनमोर्चबाट प्रतिनिधित्व गर्दै वाम गठबन्धन र वडाध्यक्ष भुसालले तत्कालीन नेकपा एमालेबाट नेतृत्व गर्दै चुनाव जितेका हुन् । जन्डि0सबाट पीडित प्रदेशसभा सदस्य घर्तीको उपचारको क्रममा भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा गतवर्ष मङ्सिर २६ मा निधन भएको थियो । 





  • प्रकाशित मिति : साउन २५, २०७६ शनिबार १६:३:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया