नयाँ दिल्ली– बलिउड अभिनेत्री दीपिका पादुकोणको पहिरन र ‘स्टाइल’को प्रशंसा गर्ने करोडौँ छन् । चल्तीका अभिनेत्रीमाझ दीपिका राम्रो ‘स्टाइल सेन्स’ भएकी अभिनेत्री मानिन्छिन् । तर, त्यही स्टाइलकै कारण बेलाबखत ट्रोलमा भने परिरहन्छिन् ।
पछिल्लो समय दीपिका एयरपोर्टमा पूरै सेतो पहिरनमा देखिइन् । सेतो सर्ट, कोट, प्यान्टमा कालो चस्मा लगाएर उनी लन्डन जान लागेकी थिइन् ।
समग्रमा दीपिकालाई यो पहिरन राम्रै सुहाएको देखिन्छ । तर, बलिउड प्रशंसकहरुको ध्यान भने उनको ‘ओभरल लुक्स’ले भन्दा उनले लगाएको कोटले खिच्यो ।
दीपिकाको सेतो कोट निकै ठूलो र अनौठो डिजाइनको थियो । मानिसहरुले त्यसैलाई मसाला बनाएर ट्रोल सुरु गरे । रातिमा कालो चस्मा लगाएको भनेर पनि कतिपयले ट्रोल गरे ।
सामाजिक सञ्जालमा कसैले दीपिकाको ड्रेसअप डाक्टरको जस्तो भएको भन्दै ‘दीपिकालाई प्रभावित गरेकोमा डाक्टरहरुलाई धन्यवाद’ भनेका छन् त कसैले ‘दीपिकामाथि पति रणवीर सिंहको असर परेको’ भन्दै मजाक गरेका छन् । कसैले त दीपिका ‘अमिताभ बच्चनजस्तै देखिएकी’समेत भनेका छन् ।
कसैले उनको कोटलाई झोलाजस्तो भनेका छन् । ‘यो झोला किन भिरेकी, बजार जान लागेकी हो ?’ एक ट्विटर प्रयोगकर्ताले लेखेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।