Thu, 22 Aug, 2019


तीर्थ श्रेष्ठको 'आमा' जसलाई नेपथ्यले गायो
फरकधार / साउन २५, २०७६

तीर्थ श्रेष्ठ ‘आफ्नी’ आमासँग हुर्किन पाएनन् । उनले त राम्रोसँग आमाको अनुहार पनि देखेनन् । अहिले पनि उनलाई आमाको अनुहार कस्तो थियो भन्ने ठ्याक्कै भन्नु पर्यो भने सकस हुन्छ ।



यसको अर्थ के होइन भने तीर्थ श्रेष्ठले आमाको माया नै महसुस गर्न पाएनन् । बरु उनले त आमाको महत्व, माया र ममता जति बुझेका छन्, त्यो थाहा पाउन उनको कविता नै काफी छ । 

उनले लेखेका छन्– 

‘आमा हुन साह्रै असजिलो छ, 
पहाड जस्तो 
उचाईमा पुगेर मैदान भइदिनु पर्ने
मैदानमा पुगेर उकाली भइदिनु पर्ने 
आमा हुन साह्रै असजिलो छ ।

उनको यही कविता नेपथ्य ब्यान्डले गायो । त्यसपछि यो गीत बन्यो, यसको चर्चा चुलियो र धेरैको मनमा बस्न सफल भयो । 

तर, यसको पछाडिको एउटा लामो कथा सायदै कसैलाई थाहा होला । 

केहीअघि काठमाडौंमा कवि तीर्थ श्रेष्ठले मनको पोयो खोले । 

‘एक जना महिलाले पोलेको अन्डा छोडाएर मलाई खुवाउनु भएको थियो,’ तीर्थले सानै हुँदाको घटना सम्झिए, ‘मलाई त्यसरी अन्डा खुवाउने आकृति आमा हो भन्ने कुरा धेरैपछि थाहा पाएँ ।’

खासमा तीर्थकी आमालाई टिवी भएको थियो । त्यही कारण उनलाई मुख्य घरभन्दा केही पर राखिएको थियो । 

यो कुरा त्यति बेला तीर्थलाई थाहा थिएन । उनी त बुझ्ने भइसकेकै थिएनन् । टिवी भएकी आमाको केही समयपछि देहवसान भयो । तीर्थले कहिल्यै काखमै बस्न नपाइ आमा गुमाए । 

त्यो समाजको परिस्थिति र नियती उनका बाबुले अर्को विवाह गरे । तीर्थले ‘सौतेनी’ आमा पाए । 

‘शब्दमा त्यस्तो थियो,’ तीर्थले खुलेर कुरा गरे, ‘तर, मैले व्यवहारमा त्यस्तो कहिल्यै महसुस गर्नु परेन । उहाँ मेरै आमा हो, मलाई त आमाको अगाडि त्यो शब्द थपिन्छ भन्ने पनि लाग्दैन, थपिनु पनि हुँदैन ।’

त्यसैले त तीर्थले यसबारे पनि कविता लेखेका छन्ः

‘आमाहरु सौतेनी हुँदैनन् । 

सौतेनीहरु आमा हुँदैनन् ।’

यो भावमा कविता लेखेका तीर्थ त बरु आफूलाई भाग्यमानी ठान्छन् । ‘मैले त बरु दुई आमाको ममता पाएँ,’ उनी भन्छन्, ‘मलाई कान्छी आमाले पनि त्यति नै माया गर्नुभयो जति मलाई जन्मदिने आमाले गर्नुभयो ।’

‘कान्छी’ आमाको त्यही माया र समर्पण, आमाको कमी हुन नदिएकाले तीर्थले आफ्नो पहिलो कविता संग्रह दुवै आमाको तस्वीर राखेर समर्पण गरे– मेरी आमा योगमाया जसले मलाई जन्म दिइन् र मेरी आमा पूर्णलक्ष्मी जसले मलाई संसार चिनाइन् । 

त्यसपछि बल्ल तीर्थका नजिकका साथीभाइलाई पनि थाहा भयो, तीर्थका दुई आमा रहेछन् । 

तर, तीर्थ आमालाई यसरी वर्णन गर्न नै चाहँदैनन् । उनी भन्छन्, ‘आमा र सौतेनी एक ठाएँमा जोडिने कुरै होइनन् । जसले सौतेनी व्यवहार गर्छ, उसमा मातृत्व नै हुँदैन । जसमा आमा छ, त्यसमा सौतेनी नै हुँदैन ।’

तीर्थले जसरी आफ्नी कान्छी आमाबाट मातृत्वको स्नेह पाए, त्यसले उनलाई प्रभाव पारिरहेको नै थियो । 

धेरैपछि उनको कवि मन्जुलसँग भेट भयो, पोखरामा । यो साल तीर्थलाई नै सम्झना छैन ।

‘मन्जुल दाइले फोन गर्नुभयो र आफूहरु पर्वत जान लागेको बताउनु भयो,’ उनले सम्झिए, ‘मलाई पनि जाने हो त भनेर सोध्नुभयो । म पोखरामा नै थिएँ, मन्जुल दाइलाई हुन्छ भनिदिएँ ।’

त्यति बेला माओवादी सशस्त्र युद्ध चरम उत्कर्षमा थियो । तर, तीर्थहरु त्यसको बेवास्ता गर्दै पर्वत जाँदै थिए । पर्वतको आठथरका लागि पोखराबाट तीर्थलाई लिएर छुटेको टोली दोभिल्ला भन्ने ठाउँमा एउटा झोलुङ्गे पुलको छेवैमा गएर केही समय सुस्तायो । 

त्यो यात्रामा कविद्वय मन्जुल र तीर्थसँगै थिए, फोटोग्राफर कुमार आले पनि । 

त्यही बेला कवि मन्जुलले प्रस्ताव गरे, उनी र तीर्थ कविता लेख्ने, कुमार आले फोटो खिच्ने । 

मन्जुलले त लेख्न पनि सुरु गरिहाले । त्यसले तीर्थलाई पनि लेखूँलेखूँ बनायो । 

‘मैले पहिलो कविता झोलुङ्गे पुल लेखेको थिएँ,’ तीर्थले सम्झिए, ‘मन्जुल दाइले त प्रशंसा गरिहाल्नु भयो । त्यहाँबाट हामी अगाडि बढ्यौँ ।’

उनीहरु जहाँ पुगेका थिए, त्यो तीर्थको मावली गाउँ थियो । ‘मावली गाउँ आउँदा मलाई आमाको याद झन् बढी आयो,’ उनले भने, ‘मेरो मनमा अनेक प्रश्न जागृत भए । सोच्न थालेँ– आमाबारे ।’

त्यही झमटमा आमामाथिको त्यो कविता लेखेका हुन्, तीर्थले ।  

त्यसपछि दिनहरु बिते, महिना बिते । 

एकपटक काठमाडौंमा एउटा मौका पारेर तीर्थले त्यही कविता सुनाए । त्यो कविता सुन्ने ठाउँमा नेपथ्यका अमृत गुरुङ पनि सँगै थिए । 

कविता सुनिसकेपछि अमृतले मनमनै गुनेछन्– यो कवितामाथि म गीत गाउँछु । 

त्यसको भोलिपल्ट नै हुनुपर्छ, अमृतले तीर्थलाई प्रस्ताव गरे– माथि नमोबुद्ध जाऔँ न दाइ । 

तीर्थ तयार भए । खासमा यो अमृतले तीर्थलाई केही कुरा भन्ने मौका निकाल्न प्रस्ताव गरेका थिए । नमोबुद्ध पुगिसकेपछि अमृतले भने– दाइ, मैले तपाईंको अनुमति नलिइ एउटा काम गरेको छु, गाह्रो नमानिदिनु ल ।

तीर्थले जवाफ दिए– तिमीले पक्कै नराम्रो त गरेका छैनौँ होला !

त्यसपछि अमृतले कुराको चुरो फोरे । उनले भने, ‘दाइ, मैले तपाईंको कविता मन पराएर कम्पोजिसन गरेको छु, यसलाई गाउन अनुमति दिनुहुन्छ कि भनेर ।’

अमृतले त्यहाँ नै क्यासेटमा रकेर्ड सुनाए । 

‘त्यो साँच्चिकै राम्रो थियो,’ तीर्थ आफूले अमृतलाई दिएको जवाफ सम्झिन्छन्, ‘तिमीले त मलाई भाग्यमानी बनायौँ नि ।’

त्यसपछि गीत बन्यो, बजारमा आयो । आमामाथि लेखिएको यो गीत ‘हिट’ भयो । 

‘कतिले मलाई कविता गीत भइसकेपछि चिने,’ तीर्थ भन्छन्, ‘मलाई मेरी कान्छी आमाले जसरी माया गर्नुभयो, त्यसले पनि सायद त्यो गीत जन्माएको थियो ।’

र, कवितामा आमा हुनुको भावलाई निकै सुन्दर तरिकाले उतारेका छन् तीर्थले । यो कुरा स्वयं तीर्थलाई पनि महसुस हुन्छ । 

किनकि उनकी माहिली छोरी आमा बनेपछि भनेकी थिइन्– बाबा, तपाईंको कविताको भाव अहिले पो बुझ्दै छु म !

 

तीर्थले छोरीलाई उत्तर दिएका थिए– 
हो छोरी, 

‘आमा हुन साह्रै असजिलो छ, 
पहाड जस्तो 
उचाईमा पुगेर मैदान भइदिनु पर्ने
मैदानमा पुगेर उकाली भइदिनु पर्ने 
आमा हुन साह्रै असजिलो छ ।

नेपथ्यले गाएकाे तीर्थकाे गीत:


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्