लामो दूरीमा चल्ने सवारीसाधनमा दुईजना चालक अनिवार्य

काठमाडाैं– लामो दूरीमा चल्ने सवारीसाधनको दुर्घटना बढेसँगै यातायात व्यवस्था विभागले दुई चालक हुनुपर्ने व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्ने भएको छ । विभागले मंगलबार सूचना जारी गर्दै प्रस्थानविन्दुबाट २ सय ५० किमी वा सोभन्दा बढी दूरीमा चल्ने सवारीसाधनले अनिवार्य रूपमा दुई चालक नराखेको पाइए कारबाही गर्ने जनाएको हो । 

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १०४ मा लामो दूरीमा चल्ने सार्वजनिक सवारीमा कम्तीमा दुई चालक अनिवार्य राखी प्रत्येक ६/६ घन्टामा पालैपालो सवारी चलाउनुपर्ने व्यवस्था छ । 

एउटै चालकले लामो दूरीमा सवारी चलाउँदा थकानका कारण सवारी दुर्घटनाको दर बढेको विभागको भनाइ छ । विभागले लामो दूरीमा चल्ने यातायातको साधनमा दुई चालकको व्यवस्था गर्न सम्बन्धित सवारी धनीलाईसमेत निर्देशन दिएको छ ।
 
त्यस्तै, विभागले मध्यम दूरीका चल्ने सवारीसाधनले पनि प्रत्येक चार घन्टामा आधा घन्टा विश्राम लिनुपर्ने व्यवस्थालाई पनि कडाइ गर्ने जनाएको छ । ऐनमा चार घन्टाभन्दा बढीको दूरीमा चल्ने यात्रुवाहक सार्वजनिक सवारीले प्रत्येक चार घन्टामा आधा घन्टा विश्राम लिनुपर्ने व्यवस्था गरिएको छ ।

दुर्घटना न्यूनीकरण तथा यातयात व्यवस्थालाई भरपर्दो बनाउने पर्याप्त कानुन भए पनि कार्यान्वयन फितलो हुँदा सार्वजनिक सवारीमा यात्रा गर्ने नागरिकले अकालमा ज्यान गुमाउँदै आएका छन् ।

विशेषतः लामो दूरी तथा रात्रि सेवाका सवारी चालक यात्राकै क्रममा निदाउने, थकान तथा तोकिएको समयमै गन्तव्यमा पुग्नुपर्ने मानसिक तनावका कारण दुर्घटना बढेको ट्राफिक प्रहरीले जनाएको छ ।

विभागले सार्वजनिक सवारीलाई सुरक्षित र व्यवस्थित बनाउन दिइएको निर्देशन कार्यान्वयन नगरेको पाइए सम्बन्धित यातायात धनीविरुद्ध कारबाही गरिने चेतावनीसमेत दिएको छ । 



गत शुक्रबार मात्रै सर्लाहीको मलंगवाबाट काठमाडौं आउँदै गरेको रात्रि बस पृथ्वी राजमार्गको बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटमा त्रिशूली नदीमा खस्दा ११ जनाको मृत्यु भएको थियो । सोही दुर्घटनामा परी एक बालकसहित २० बेपत्ता भएका थिए ।



  • प्रकाशित मिति : साउन २८, २०७६ मंगलबार १५:५३:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया