Sun, 15 Sep, 2019


जो पुराना पुस्तक बेचेर नयाँ कोट किनिरहेका छन्
फरकधार / साउन २८, २०७६

अलिअलि पढ्ने र बुझ्ने प्रायः सबैले एउटा भनाइ सुनेकै छन्, ‘पुरानो कोट लगाउ, नयाँ पुस्तक किन ।’



हेनरी डेभिड थोरोको यो भनाइ नसुन्नै कमै होलान् । 

तर, पुस्तक त कहिल्यै पुरानो हुँदैन, सधैं नयाँ रहिरहन्छ । यसलाई राम्रोसँग बुझेर आफ्नो जीवनमा प्रमाणित गरेका छन्, आशिष केसीले । 

उल्टै आशिषले त ‘पुराना’ पुस्तक बेचेर नयाँ कोट किनिरहेका छन्, अर्थात् जीविकोपार्जन गरिरहेका छन् । 

 

उमेरले आशिष २९ वर्षका मात्र भए । रामेछापबाट आशिष पढ्न काठमाडौं झरेका थिए । २०६२ सालमा काठमाडौं आएका आशिषलाई काठमाडौंमा हेरचाह गरे, दाइ र अंकलले ।

उनी कलेज भर्ना भए । त्यसपछि आशिषले काठमाडौंको जीवनको दुःख बुझ्न थाले । 

‘फेरि मेरो दाइ र काकाको कमाइ पनि राम्रो थिएन,’ आशिषले भने, ‘यहाँ आएपछि मैले आफ्नो लागि आफैं केही गर्नुपर्छ भन्ने बुझ्न थालेँ ।’

आशिषसँग यो कुराकानी त्यही बुझाइको प्रतिफलबाट जन्मिएको उनको पसलमा भएको थियो । काठमाडौं मलको ठिक पछाडि एउटा सानो सटरमा पुस्तकहरुबाट घेरिएका आशिषले ‘पुराना पुस्तकको दोकान’ खोल्नुको कारण सम्झिए । 

‘काम त पाएको पनि थिएँ नि,’ आशिषले एउटा पुरानो पुस्तकको धुलो टक्टकाउँदै भने, ‘तर, दिनभर काम गरेर महिनाको दुई हजार दिन्छु भन्ने अफर मात्र थिए ।’

आफूले सोचेजस्तो राम्रो काम नपाएकाले आशिष ‘बिजनेस’ गर्ने मुडमा पुगे । यो बिजनेस उनको दाइ र काकाको सिको नै थियो । 

उनका काका र दाइ न्युरोडको बाटोमा साँझपख पुस्तक र पत्रपत्रिका बेच्थे । त्यहाँ सहयोग गर्न थाले आशिषले । उनीहरुकै छेउमा आशिषले अर्को पसल थाले, उनको बिजनेस सुरु भयो ।

सडकमा पसल थापेको केही समयपछि नै बिजनेसलाई अलिक ठूलो बनाउने सोच बनाए आशिषले । अनि काठमाडौं मलपछाडि एउटा सटर भाडामा लिए । 

अब उनका ग्राहक अझ बढ्न थाले ।

आशिषले पसल थाप्नुभन्दा पहिले नै पुस्तक बेच्नेमात्र होइन, पाठकहरुबाट पनि किन्थे । उनका ग्राहक दुवै हुन्– पुस्तक बेच्ने, पुस्तक किन्ने । 

‘अङ्ग्रेजी म्यागजिन र पत्रपत्रिका पढ्न मान्छे ठमेलसम्म पुग्थे,’ आशिषले भने, ‘हामीले तिनै म्यागजिन सेकेन्ड ह्यान्डका भए पनि किन्यौँ, सस्तोमा । अनि त्यही बेच्यौँ, त्यो पनि सस्तोमा नै ।’ आशिष थोरै मुस्कुराए । 

त्यसो त एसएलसी दिँदासम्म उनले गाउँमा साथीभाइबाट मागेर पुस्तक पढे । सेकेन्ड ह्यान्ड पुस्तक पनि उनले पढे । तर, उनले यसरी पुराना पुस्तक फेरि किनबेच गरेको चाहिँ पहिलो पटक काठमाडौंमा टेकेपछि नै थाहा पाएका हुन् । 

झन्, दाइ र काकासँग पत्रपत्रिका र पुस्तक बेच्न बसेपछि आशिषले गुह्य कुरा थाहा पाए– मान्छेहरु सहरमा नयाँ भन्दा पुराना पुस्तक बढी किन्दा रहेछन् । 

‘अनि त्यही कामलाई नै मैले मेरो खास व्यवसाय बनाउने निर्णय गरेँ,’ उनले भने, ‘अब त यो नै मेरो प्यासन बनिसकेको छ ।’

यो प्यासन बनिसक्दा थोरबहुत काठमाडौं महानगरपालिकाको दुःख दिने नियतले उनलाई सटरसम्म ल्याइपुर्यायो । 

‘बाटोको छेउमा पुस्तक बेच्दा पनि महानगरले हामीलाई अलिक बढी दुःख दिन थाल्यो,’ पुस्तकभन्दा मदिरा पसल बढी भएको यो सहरको कथामा उनले थपे, ‘त्यसपछि मैले सटर लिएर पुराना पुस्तक बेच्न थालेँ ।’

आशिषले दाइ र काकासँग बस्दा नै यसको ‘फिजिबिलिटी’ अध्ययन गरे, रोडम्याप तयार गरे । अनि काठमाडौं मलको पछाडि सटर भाडामा लिए, व्यापारलाई अगाडि बढाए । 

 

अहिले आशिष जो सुकै कुनै पुरानो पुस्तक लिएर गयो भने त्यसलाई तत्काल खरिद गर्छन् । चाहे ती पाठ्यपुस्तक हुन् वा साहित्यका । साहित्यमा पनि आशिषले अंग्रेजी र नेपाली साहित्यका दुवै पुस्तक खरिद गर्छन् । 

यसका लागि उनले मूल्य कसरी निर्धारण गर्छन् त ? 

‘पुस्तकको स्वरुप वा पानाहरु च्यातिएको हुनु भएन,’ आशिषले आफ्नो क्राइटेरिया सुनाए, ‘पुस्तकमा छापिएको मूल्यको चालिस प्रतिशत त सबैलाई दिन्छु ।’

त्यही पुस्तकमा अनि आफ्नो मार्जिन निर्धारण गर्छन् आशिष । उनले एउटा पुस्तकबाट बढीमा २० प्रतिशत नाफा राख्छन् । 

यही पुराना पुस्तक किनबेचमा जीवनको सबैभन्दा ठूलो रिस्क देखिरहेका छन्, आशिष । 

‘कति पुस्तक त किनिहालिन्छ तर फेरि ती पुस्तक बिक्री हुँदैनन्,’ उनी भन्छन्, ‘यो त ठूलो रिस्क हो नि, सेवा गरिरहेको छु र रिस्क मोलिरहेको छु ।’

एकपटक पुस्तकको चाङतिर फर्किए आशिष । अनि भने, ‘यी सब पुस्तक मैले किनेँ तर बिक्री भएनन् ।’ अनि फेरि जोडे, ‘फेरि यो व्यापार भन्दा पनि बढी मैले समाजसेवा हो भन्ने ठानेको छु ।’

अनि यो समाजसेवाको ट्यागलाई प्रमाणित गर्नतिर उनी लागे । 

‘कति मानिसका घरमा पढिसकेका पुस्तक यत्तिकै थन्किएका हुन्छन्,’ उनले भने, ‘ती पुस्तक मैले किनेर पढ्न चाहने अरु पाठकलाई उपलब्ध गराएको छु नि ।’

मुसुक्क हाँसे आशिष । फेरि थपे, ‘ज्ञानको भोक भएकाहरुलाई मैले गरिरहेको सेवा ।’

 

त्यसपछि एउटा तुहिएको योजना सुनाउन तिर लागे उनी । 

यो सन् २०११ को कुरा हो । उत्तर कोरिया जाने सपना देख्न थाले आशिषले । साथीभाइले त्यो सपनामा मलजल गरिदिए । 

भाषा परीक्षा दिन जाँदासम्म त साथीभाइ आशिषको उत्तर कोरिया उड्ने सपनामा राम्रै ‘क्याटलिस्ट’ भए ।

तर, यो सपनामा अडिग रहेनन्, आशिष । उनी उत्तर कोरिया नजाने भए । 

‘त्यसपछि त मैले विदेश जाने सपना नै त्याँगिदिएँ,’ उनले भने, ‘अब जे गरिन्छ, आफ्नै देशमा गरिन्छ ।’

त्यसो त आशिषका भाइ विदेश पनि पुगे । उनी मलेसिया गएका थिए । मलेसियामा भनेजस्तो काम पाएनन्, उनले । त्यसपछि फर्किएका भाइलाई आशिषले सल्लाह दिए । आशिषको सल्लाह अनुरुप नै उनी पनि अहिले फस्र्टह्यान्डमात्र होइन, ‘अनेकौं’ ह्यान्ड पुस्तक बेचिरहेका छन् बानेश्वरमा । मानौँ, यो आशिषको पुराना किताब बेच्ने चेन बिजनेस हो, उनले पनि भाइलाई बेलाबखत सहयोग गरिरहेका हुन्छन् ।

‘भाइको पनि राम्रो छ,’ आशिषले भने, ‘अब त ऊ पनि बाहिर जाँदैन ।’

 

आशिषले पुराना पुस्तक बेच्ने दोकान खोलेपछि अनेक मान्छे उनको संगतमा आएका छन् । तीमध्ये कति विश्वविद्यालयका प्रोफेसर छन्, कति लेखक तथा नेता छन्।

जे होस्, बजारमा सहजै नपाइएको पुस्तक खोज्न चाहेकाहरु एकपटक आशिषको दोकानमा पुग्छन्, अनि किताबको खोजी गर्छन् । 

‘रहरले हो मान्छेले नयाँ पुस्तक किन्न खोज्ने,’ आशिषले लामो सास फेरे, ‘पैसा नहुने तर ज्ञानको भोक हुनेहरुका लागि त अहिले मैले गरेको यो कामले ठूलो सेवा पुगेको छ नि !’ 

आशिषको पसलबाट खाजाको पैसा जोगाएर पुग्नेदेखि नयाँ कपडा किन्न हिँडेको पैसा खर्चिएर पुरानो पुस्तक किन्नेहरु छन् । 

‘तर, किन्डल र आइप्याडको जमाना आइसकेको छ,’ आशिषले जोडे, ‘यो क्रम कहिलेसम्म चलिरहला र ?’

तर, भविष्यको चिन्ताले भन्दा पनि आशिषलाई खुसी त त्यस्ता सन्देशले दिन्छ जुन उनले अप्रत्याशित व्यक्तिहरुबाट पाउँछन् । 

‘तपाईंकोमा पुस्तक किनेकाले मैले यस्तो प्रगति गर्न पाएँ,’ आशिषलाई कहिलेकांही केही व्यक्ति आएर धन्यवाद दिन्छन् ।

आशिष यसैमा खुसी छन् । 

अर्कोतिर, आशिष पुराना किताब बेचिरहेका छन्, घर चलाइरहेका पनि छन् । अर्थात्, उनी नयाँ कोटको जोहो पुराना पुस्तकबाट गरिरहेका छन् !


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्