पूर्वराजदूत झा हत्या प्रकरणः सुरक्षागार्ड फेरि पक्राउ

काठमाडौं– फ्रान्सका लागि नेपालका पूर्वराजदूत केशवराज झाको घरमै भएको हत्या प्रकरणमा प्रहरीले उनका सुरक्षागार्ड कान्छाराज तामाङलाई फेरि पक्राउ गरेको छ ।

महानगरीय अपराध अनुसन्धान महाशाखाका अनुसार उनलाई काभ्रेबाट पक्राउ गरिएको हो ।

उनीविरुद्ध झाकी पत्नीले काठमाडौंमा किटानी जाहेरी दिएकी छिन् ।

तामाङ एक दशकयता झाको घरमा काम गर्न बसेका थिए । यसअघि पनि प्रहरीले उनलाई पक्राउ गरेको थियो । तर कुनै प्रमाण नभेटिएपछि उनी छुटेका थिए ।

उनले आफूले पाउँदै आएको तलबमा असन्तुष्टि जनाउँदै आएका थिए ।

गत वर्षको ८ भदौ सोमबार विहान बबरमहलस्थित आफ्नै निवासमा फ्रान्सका पूर्वराजदूत ८० वर्षका केशवराज झाको मृत शरिर भेटिएको थियो । झा सन् १९९३ देखि १९९७ सम्म फ्रान्सका लागि नेपाली राजदूत थिए । उनले परराष्ट्रमा ३४ वर्ष जागिरे जीवन बिताएका थिए ।



विहान लामो समयसम्म झाको कोठाको ढोका नखुलेपछि श्रीमती र घरमा काम गर्ने व्यक्ति झाको कोठामा ढकढक गर्न पुगे । तर, झाले भित्रबाट ढोका खोलेनन् । नखुलेपछि उनीहरुले छेउको झ्यालमा पुगेर हेरे । आइतबार राती अबेरसम्म झा टिभी हेरेर बसेका थिए । उनी सुतेको कोठाका दुवै कोठा बाहिरबाट चुकुल लगाइएको थियो ।

झ्यालबाट हेर्दा झा ओछ्यानमा नै चलमल नगरी बसेको देखेपछि उनीहरुले प्रहरीलाई फोन गरे । प्रहरी आठ बजे झाको घरमा पुग्यो । प्रहरीले प्रारम्भिक अनुसन्धानपछि भन्यो– झाको हत्या भएको बलियो प्रमाण भेटियो । त्यो प्रमाण हो– झाको घाँटीमा र टाउकोमा चोट लागेको थियो । उनको ओछ्यानमा झाको छातीमा घरको भान्सामा प्रयोग भएको चक्कु पनि भेटियो । दिउँसो ३ बजेसम्म प्रहरीले घटनास्थलबाट प्रमाण संकलन गर्यो । अनुसन्धानका लागि प्रहरीले घरमा काम गर्ने दुई माली र भान्सेलाई पक्राउ गर्याे ।



 

 के आत्महत्या हो त ?

झाको मृत्यु आत्महत्या होइन भन्ने दाबीका लागि घटनास्थलका प्रमाणले सहयोग गरेका थिए । पहिलो, उनको सुतिरहेको कोठाका ढोका बाहिरबाट लगाइएका थिए । दोस्रो, उनको सुतिरहेको कोठाको झ्यालको भेन्टिलेसनको जाली काटिएको छ । तेस्रो, उनको टाउको र घाँटीमा चोट छ, उनी सुतेको कोठामा रगत निकै बगेको थियो तर लतपतिएको थिएन । आफैं आत्महत्या गरेको भए झा छटपटाउँदा रगत लतपतिएको हुने थियो । त्यस्तै, झाको छातीमा नै चक्कु थियो । आत्महत्या गरेको भए चक्कु छातीमा अडिने सम्भावना न्यून हुन्थ्यो ।

 

 केही दिनअघिमात्र बेचेका थिए बुढानिलकण्ठको जग्गा

झाका एक छिमेकीका अनुसार केही समयअघि झाका छोरा किरणराज झा श्रीमतीसहित आयरल्यान्डबाट नेपाल आएका थिए । त्यही समयमा उनीहरुले बुढानिलकण्ठमा रहेको जग्गा बेचेका थिए । जग्गाको कारोबार सकिएपछि किरण श्रीमतीसहित आयरल्यान्ड फर्किए । छोरा बुहारीलाई बिदाइ गर्न झा त्रिभुवन विमानस्थल पुगेका थिए ।

 

कसले र किन गर्यो त हत्या ?

प्रहरीले यो अनुसन्धानका लागि झाको घरमा भएका काम गर्ने सहयोगीहरुलाई पक्राउ गरेको थियो । तर प्रमाण नपुगेको भन्दै उनीहरु साधरण तारेखमा छुटेका थिए ।

उनका छिमेकीले झाले बुढानिलकण्ठको जग्गा बेचेको र त्यो जग्गा बेच्दा आएको पैसा घरमा नै राखेको हुनसक्ने अनुमानमा उनका हत्या भएको आशङ्का गरेका थिए ।

  • प्रकाशित मिति : भदौ १, २०७६ आइतबार १९:४३:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया