प्रचण्डले किन बोलाए ओलीको अनुपस्थितिमा सचिवालय बैठक ?

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको सचिवालय बैठक बोलाएका छन् । अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित हुँदा प्रचण्डले बोलाएको यो पहिलो सचिवालय बैठक हो । 

गत बिहिबार ओलीले आफ्नो अनुपस्थितिमा पनि प्रचण्डले सचिवालय बैठक बोलाउन सक्ने बताएका थिए । अध्यक्ष प्रचण्डले सोमबार दिउँसो एक बजेका लागि सचिवालयय बैठक बोलाएका हुन् ।

पार्टी एकताका बाँकी काम टुङ्गोमा पुर्याउने हेतुले सचिवालय बैठक बोलाइएको उनका प्रेस सहयोगी विष्णु सापकोटाले फरक धारसँग बताए । ‘पार्टी एकताका बाँकी काम सकाउनेमा सचिवालय बैठकमा छलफल हुनेछ,’ उनले भने, ‘सिसिएमको कार्यविभाजन, वैदेशिक कमिटीहरुबारे निर्णय गर्न सचिवालय बैठक बोलाउनु भएको हो ।’

ओलीमात्र विदेशमा रहेका अन्य आठ सदस्य नेपालमा नै हुँदा सचिवालय बैठक बस्नु स्वभाविक भएको उनको तर्क थियो । यस विषयमा अहिलेसम्म प्रचण्डले अर्का अध्यक्ष ओलीसँग कुनै छलफल गरेका छैनन् । तर, आवश्यक परेमा छलफल गर्न सकिने सापकोटाले बताए । 

त्यस्तै, भोलिको सचिवालय बैठकमा नेकपाका नेता माधवकुमार नेपालका असन्तुष्टिबारे पनि छलफल हुन सक्ने सम्भावना छ । 

प्रचण्डले सचिवालय बैठक बोलाएपछि केपी ओलीनिकट नेताहरु भने खुसी छैनन् । ‘यो खासमा प्रचण्ड कमरेडले ओली कमरेडको अवमूल्यन गर्नुभएको हो,’ ओलीनिकट एक नेताले भने, ‘उहाँ पनि उपचार र अन्य भ्रमणमा बाहिर जानु भएको थियो, तर ओली कमरेडले उहाँको अनुपस्थितिमा सचिवालय बैठक बोलाउनु भएन । उहाँहरुले अध्यक्षज्यूलाई फर्किएर आउँदासम्म कुर्नुभएको भए हुने थियो ।’



त्यति मात्र होइन, उनले यो नेकपाभित्रको समीकरणमा आफू खेल्नका लागि प्रचण्डले यस्तो निर्णय गरेको हुनसक्ने समेत बताए । ‘सायद उहाँ सचिवालयका अन्य सदस्यहरुलाई आफू नजिक बनाउन चाहनुहुन्छ,’ उनले भने, ‘अब सानातिना काम रहेका छन् र ती काम आफू एक्लैले गरेको सन्देश दिने मनाशय उहाँको हुनसक्छ ।’



  • प्रकाशित मिति : भदौ ८, २०७६ आइतबार २१:१९:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया