दुई वर्षभित्र सबैलाई राष्ट्रिय परिचयपत्र दिइसक्ने लक्ष्य

बागलुङ– आउँदो दुई वर्षभित्र सबै नेपालीको हात हातमा राष्ट्रिय परिचयपत्र पुग्ने भएको छ । गृह मन्त्रालय, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अनुसार यही वर्ष ७७ वटै जिल्लाबाट परिचयपत्र वितरण सुरु हुनेछ । बिहीबार यहाँ आयोजित राष्ट्रिय परिचयपत्र व्यवस्थापनसम्बन्धी अभिमुखीकरणमा विभागका निर्देशक चोमेन्द्र न्यौपानेले दिनमा ४० हजार परिचयपत्र छाप्ने गरी उपकरण र जनशक्ति थप गर्न लागिएको बताए ।

‘अहिले परीक्षणस्वरुप एउटा यन्त्रबाट मात्र परिचयपत्र छापिने गरेको छ, क्षमता बढाएपछि लगातार २० घण्टासम्म छपाइ हुन्छ’, उनले भने । उपकरण र जनशक्ति थप्दा प्रतिघण्टा दुई हजारका दरले परिचयपत्र छापिनेछ । विभागमा हाल कम्प्युटर इन्जिनियरसहित ३० जना प्राविधिक कार्यरत छन् ।

निर्देशक न्यौपानले सरकारले पनि दुई वर्षभित्रै परिचयपत्र वितरणको काम सक्न मन्त्रालय र विभागलाई कार्यादेश दिएको उल्लेख गरे । ‘चालू आवको नीति, कार्यक्रमले चार वर्षको लक्ष्य राखेको थियो, पछि बजेटमा दुई वर्षमै सक्ने गरी व्यवस्था भयो’, उनले भने ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफूले परिचयपत्र लिने क्रममा दुई वर्षभित्रै सबै नागरिकको हातमा परिचयपत्र पुर्याइने बताएका थिए । राष्ट्रिय महत्वको कार्यक्रम भएकाले परिचयपत्र वितरणको काममा ढिलो गर्ने छुट विभागलाई नभएको निर्देशक न्यौपानेको भनाइ थियो । विभागले पहिलो चरणमा १५ जिल्लामा नमुना कार्यक्रमस्वरुप परिचयपत्र वितरण गर्न सुरु गरीसकेको छ ।

गएको मंसिरमा पाँचथर, फिदिम नगरपालिका–४ की १०१ वर्षीया भगवतीदेवी भण्डारीलाई गृहमन्त्री रामबहादुर थापाले पहिलो राष्ट्रिय परिचयपत्र प्रदान गरेका थिए । दोस्रो चरणअन्तर्गत बागलुङलगायत जिल्लामा परिचयपत्र वितरणको काम सुरु हुने निर्देशक न्यौपानेले बताए ।

‘दशैँ, तिहारको बीचमा विवरण संकलनका लागि कम्प्युटर अपरेटर नियुक्ति गर्ने तयारी छ’, उनले भने, ‘प्रत्येक वडावडामा पुगेर विवरण संकलन गर्छौं ।’ जिल्ला प्रशासन कार्यालयमा भने स्थायी विवरण दर्ता एकाइ स्थापना हुनेछ । यस्तै आवश्यकताअनुसार घुम्ती विवरण दर्ता एकाइ पनि स्थापना गर्न सकिने विभागले जनाएको छ । त्यसरी संकलित विवरण प्रशोधनका लागि गृहमन्त्रालयमा रहेको भण्डारण कक्षमा पुग्नेछ । 



प्रशोधनपछि छपाइ र त्यसपछि बल्ल परिचयपत्र वितरण गरिनेछ । परिचयपत्र वितरण सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट हुने व्यवस्था छ । बागलुङका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षत्रीले स्थानीय तहसँगको समन्वयमा विवरण संकलनको काम अघि बढाइने बताए ।

‘विभागको निर्देशनअनुसार परिचयपत्र व्यवस्थापनसम्बन्धी काम अघि बढ्छ’, उनले भने, ‘आउँदो वर्षभित्र जिल्लाका सबै नागरिकको हातमा परिचयपत्र पुग्नेछ ।’ सरकारले हरेक नागरिकलाई वैयक्तिक र जैविक विवरण समावेश भएको राष्ट्रिय परिचयपत्र वितरणको नीति केही वर्षअघि नै लिएको थियो ।



परिचयपत्र प्रणालीमा वैयक्तिक र जैविक गरी दुई खाले विवरण हुनेछन् । वैयक्तिक विवरणमा जन्म, परिवार, विवाह, बसाइँसराइलगायत र जैविक विवरणमा औँठा छाप, आँखाको रेटिना, फोटो र हस्ताक्षर रहनेछ । राष्ट्रिय परिचपयपत्र बहुउपयोगी मानिएको छ ।

एउटा व्यक्तिले एकभन्दा बढी परिचयपत्र बोक्नुपर्ने बाध्यताको अन्त्य हुने विभागका निर्देशक न्यौपानेले बताए । ‘सरकार, नागरिक र निजी क्षेत्रसमेतलाई परिचयपत्रले फाइदा गर्छ’, उनले भने, ‘यसले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय लक्ष्यलाई पनि सघाउने विश्वास छ ।’

राष्ट्रिय परिचपयपत्र प्रणालीले नागरिकको सही पहिचान, प्रशासनिक र दोहोरो खर्चमा कटौती, सुशासन प्रवर्द्धन, जनविश्वासमा वृद्धि, समय, स्रोतसाधनको बचत, सुलभ तथा छरितो सेवा, गोपनीयताको रक्षा आदिमा फाइदा पुग्ने जनाइएको छ । राष्ट्रिय परिचयपत्रबाट बैंक खाता खोल्न, कर तिर्न, राहदानी बनाउन, निर्वाचनमा मतदान गर्न, शैक्षिक संस्थामा भर्ना हुन पनि सकिनेछ । सार्वजनिक सेवाका क्षेत्रमा कागजविहीन विद्युतीय सेवा सञ्चालनमा पनि परिचयपत्रले टेवा पुर्याउनेछ ।

  • प्रकाशित मिति : भदौ २०, २०७६ शुक्रबार १६:६:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया