भेरी अस्पतालले मृत घोषित गरेकाे बच्चा शतगत गर्न लैजाँदा बाटैमा चलमलाएपछि...

बाँके– सुत्केरी ब्यथा लागेपछि भेरी अस्पताल नेपालगञ्जमा भर्ना भएकी जाजरकोटकी कमला अधिकारीको शुक्रबार बिहानै करीब ५ः०० बजे सामान्य रुपमै शिशु जन्मियो । जन्मिएको केही समयमा अस्पतालले शिशुको मृत्यु भएको जानकारी कमलाका श्रीमान् मिलन अधिकारीलाई जानकारी गरायो ।

अस्पतालको प्रसूतिकक्षमा कार्यरत कर्मचारीले शिशुको मृत्यु भएको भन्दै कपडामा पोको पार्दै पोलोथिनमा राखेर अन्तिम संस्कारका लागि थमाइयो । शिशु जन्मिएपछि खुसी भएका श्रीमान् मिलन एकाएक मलीन अनुहार बनाउँदै अन्तिम संस्कार गर्ने तयारी गर्न थाले ।

छेडागाड नगरपालिका–९ जाजरकोटकी २० वर्षीया कमलाको शिशुलाई अस्पतालले मृत घोषित गर्दै अन्तिम संस्कारका लागि आफन्तको जिम्मा लगाएपछि मिलनले अन्तिम संस्कारका लागि नेपालगञ्जस्थित बुलबुलियातर्फ लैजाँदै गर्दा शिशु बीचबाटोमै चल्मलायो । ‘प्रसूतिकक्षका कर्मचारीले तपाईंको बच्चा मरेको भन्दै पोलोथिनमा राखेर दिए, दुःखी हुँदै हामी पनि सतगद् गर्न बुलबुलियातर्फ लैजाँदै गर्दा बच्चा चल्मलाएपछि तुरुन्त अस्पताल ल्यायौँ’, घटनाको विवरण सुनाउँदै मिलनले भने, ‘ज्युँदो बच्चालाई मृत घोषित गर्दै अस्पतालले गाड्न पठायो, यो अस्पतालको चरम लापरबाही हो, कारबाही गरिनुपर्छ ।’

उनले मरेको शिशुलाई गाडिदिने भन्दै अस्पतालका कर्मचारीले आफूसँग दुई हजार रकमसमेत माग गरेको बताए । ‘एकातिर ज्युँदो बच्चालाई मरेको भनेर गाड्न लगाउँछ, त्यसैमा अस्पताल कर्मचारीले हामीसँग बार्गेनिङ गर्दै बच्चा गाड्ने रकम माग्छ, यो कहाँको कानुन हो ?, कर्मचारीले कपडा धोएको रु ५०० र बच्चालाई गाडेको एक हजार ५ सय गरी दुई हजार मागेपछि हामी आफैँ गाड्छौँ भनेर लैजाँदै गर्दा बच्चा चल्मलायो’, मिलनले भने ।

शिशुलाई अहिले आइसियूमा भर्ना गरिएको छ । सो अस्पतालको रेकर्डअनुसार कमलाको २३ हप्तामा छोरीको जन्म भएको हो । सकुशल जन्मिएको शिशुको तौल ६०० ग्राम रहेको छ । गर्भवती भएदेखि नै अस्पतालकी डा.उर्मिला पराजुली रिसालसँग नियमित जाँच गरिरहेकी कमला जाँचकै लागि बिहीबार नेपालगञ्ज आएकी थिइन् ।

नवजात शिशुलाई भेरी अस्पताल प्रसूतिकक्षमा कार्यरत कर्मचारीको चरम लापरबाहीका कारण मृत घोषणा गरेपछि पीडितहरुले दोषीलाई कारबाहीको माग गरेका छन् । मिलनले भने, ‘यसअघिको हाम्रो बच्चा खेर गयो, सन्तानको नाममा पहिलो शिशुका रुपमा छोरी पाएका थियौँ, अस्पतालका कर्मचारीका कारण ज्युँदै बच्चालाई गाड्न लगाइयो ।’





  • प्रकाशित मिति : भदौ २७, २०७६ शुक्रबार १५:५५:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया