गोलढुंगामा गोली चल्यो, गुण्डागर्दीमा संलग्न साजन गुरुङ घाइते

काठमाडौं– प्रहरीले गुण्डागर्दीमा संलग्न भएको आरोपमा एक व्यक्तिलाई पक्राउ गर्न खोज्दा काठमाडौंको गोलढुंगामा गोली चलेको छ । गुण्डागर्दीमा संलग्नको सूचीमा रहेका साजन गुरुङ उर्फ नजोकलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको हो । 

महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोली विशेष सूचनाका आधारमा गोलढुंगा पुगेको थियो । प्रहरी र गुण्डा नाइके गुरुङबीच जम्काभेटपछि प्रहरीले दुई राउण्ड गोली फायर गरेको थियो । प्रहरीको गोली लागेर गुरुङ घाइते भएका छन् । महाशाखाका अनुसार अहिले उनलाई उपचारका लागि ट्रमा सेन्टरमा ल्याइएको छ ।

गुरुङको साथबाट कटुवा पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोली पनि बरामद भएको छ । नियन्त्रणमा लिने क्रममा साजनले प्रहरीलाई नै आक्रमण गर्न खोजेपछि गोली हानी समातिएको प्रहरीको दाबी छ ।  

को हुन् गुरुङ ?

धादिङका बासिन्दा गुरुङले निर्माण व्यवसायीसँग रकम असुल्ने गरेको उजुरी प्रहरीमा परेको थियो । उनले एक उच्च प्रहरी अधिकृतलाई हत्या गर्छु भनेर रेकर्ड गरेको अडियो प्रहरी प्रधान कार्यालयमा पुगेको थियो ।

उनी गुन्डा नाइके समीरमान सिंह बस्न्यातका सहयोगी रहेको बताइएको छ । गुन्डा नाइके बस्न्यात नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याको आरोपमा केन्द्रीय कारागार सुन्धारामा थुनामा रहेका छन् ।



नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको २३ असोज ०७४ मा बानेश्वरको खरिबोटमा गोली हानी हत्या भएको थियो । समीरमान सो हत्याको प्रमुख योजनाकार रहेको प्रहरीको भनाइ छ ।  



  • प्रकाशित मिति : भदौ २७, २०७६ शुक्रबार १८:४७:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया