इरानको धम्की– नसोचिएको युद्ध सुरु हुनसक्छ

एजेन्सी– इरानका विदेशमन्त्रीले पछिल्लो समय चलिरहेको इरान–अमेरिका–साउदी अरब वाकयुद्धका कारण भोलि जस्तोसुकै युद्ध सुरु हुनसक्ने बताएका छन् । त्यस्तो परिस्थिति आएमा युद्धबारे अरु कुनै पनि विकल्प वा सर्त आफूहरुलाई मान्य नहुने पनि उनले अभिव्यक्ति दिएका छन् । 

उनले अमेरिका वा साउदी अरबले इरानमाथि आक्रमण गरेमा ‘अन्तिम अमेरिकी सेना’ रहेसम्म आफूहरु युद्धमा जाने र त्यसले नराम्रो नतिजा भित्र्याउने पनि बताएका छन् ।

इरानी विदेशमन्त्री जावद जरिफले सिएनएनलाई बताएअनुसार अहिले इरानले क्षेत्रीयरुपमा स्थायित्व कायम गर्न साउदी अरब, युएईजस्ता देशसँग वार्ता गर्न चाहेको पनि बताएका छन् । तर, अमेरिकासँग भने अहिले तत्काल कुनै पनि सम्झौता हुने सम्भावना नरहेको उनले प्रष्ट पारेका छन् । सन् २०१५ मा अमेरिकाले लगाएका प्रतिबन्ध नखुलेसम्म इरानले अमेरिकासँग कुनै हालतमा पनि वार्ता नगर्ने अभिव्यक्ति आएपछि विश्वमा यसले अर्को तरंग सुरु गरेको छ ।

त्यति मात्र होइन, इरानी विदेशमन्त्रीले केही दिनअघि साउदी अरेबियाको तेल कम्पनी अरामकोका दुई प्रशोधन केन्द्रमा भएको आक्रमणमा आफ्नो हात नरहेको पनि जनाएको छ । जरिफले यस्तो आक्रमणमा हुथी विद्रोही सक्षम रहेको र उनीहरुले त्यो आक्रमणको जिम्मेवारी लिएकाले यसमा आफूहरुको संलग्नता रहेको सोचिनु गलत भएको बताएका छन् । 

तर, उनले हुथी विद्रोहीले नै आक्रमण गरेका हुन् भन्ने विषयमा कुनै प्रमाण देखाउन आफूले नसक्ने पनि बताएका छन् । 

‘मसँग त्यस्तो ठूलो प्रमाण केही छैन,’ उनले भनेका छन्, ‘जब उनीहरुले नै आफूहरुले आक्रमण गरेको स्वीकार गरेका छन्, त्यसमा अर्को प्रमाण चाहिन्छ भन्ने पनि छैन ।’



अर्कोतिर, अमेरिकी र साउदी अधिकारीहरुले अरामको तेल प्रशोधन केन्द्रमा हुथीले आक्रमण गरेका थिए भन्ने मान्न तयार छैनन् । बरु उनीहरुले इरानको त्यसमा रहेको संलग्नता प्रमाणित भएको दाबी गर्दै आएका छन् ।

साउदी रक्षामन्त्रालयका प्रवक्ताले बुधबार पनि भनेका थिए, ‘त्यहाँ भेटिएका हतियारहरुका टुक्राटाक्रीले पनि के प्रमाणित गर्छ भने त्यो आक्रमणमा इरानको नै संलग्नता रहेको छ ।’



यो आक्रमणपछि अमेरिकी राष्ट्रपतिका अभिव्यक्ति कडा आएका छन् । त्यति मात्र होइन, उनले त अमेरिका युद्धका लागि पूर्ण रुपमा तयार भइसकेको तर अहिले तत्कालका लागि साउदी अरेबियाका शासकहरुको इच्छालाई कुरेको बताएका छन् । यसले पनि त्यो क्षेत्रमा ठूलो युद्ध हुनसक्ने संकेत गरेको विश्लेषकहरु बताउँछन् ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले सबैभन्दा पहिले त्यो आक्रमणमा इरानको हात रहेको दाबी गरेका थिए । उनी अहिले साउदी र युएईमा त्यहाँका अधिकारीहरुसँग भेटघाटमा व्यस्त छन् । त्यसैले यो क्षेत्रमा अहिले तत्काल समस्या समाधान नहुने धेरैको अनुमान छ । 

अमेरिकी र साउदी अरेबियाका सेनाले आक्रमण गर्न थाले के हुन्छ त भन्ने प्रश्नमा जरिफले भनेका छन्, ‘अल आउट वार ।’

‘हामी अहिले सेना प्रयोग गरेर युद्धमा जान चाहँदैनौँ,’ जरिफले भनेका छन्, ‘तर, हामी हाम्रो सीमालाई सुरक्षित राख्न आँखा चिम्लन पनि सक्दैनौँ ।’

  • प्रकाशित मिति : असोज २, २०७६ बिहीबार १९:४५:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया