नयाँ दिल्ली– सामाजिक सञ्जालमा भारतीयहरुमाझ एउटा भिडियो भाइरल भइरहेको छ, भिडियोमा एक वृद्ध एउटी युवतीको हात समातेर लछारपछार गरिरहेका छन् र एक युवक उनीमाथि कुटपिट गरिरहेका छन् ।
ती वृद्ध हुन्, हैदरावाद उच्च अदालतका पूर्वन्यायाधीश नुटी राजमोहन राव । उनी आफ्ना छोरासित मिलेर बुहारी सिन्धुलाई लछारपछार पारिरहेका छन् । छोराचाहिँ पत्नीलाई भकुरिरहेको छ ।
सँगै दुई महिला यताउती गर्दै, कसैलाई हपार्दै जस्तो देखिन्छन् । तीमध्ये एक न्यायाधीश रावकी पत्नी हुन् भने अर्की उनको घरमा काम गर्ने महिला ।
In the video you can see the retired Chief Justice of Tamil Nadu Justice Nooty Ram Mohan Rao bashing and manhandling his daughter in law with the support of his wife and son. pic.twitter.com/WZFEkRpbGS
— Pandit Ji (@panditjipranam) September 20, 2019
शुक्रबार यो भिडियो बाहिरिनुअघि नै राव परिवारमाथि दाइजोका लागि बुहारीलाई दुर्व्यवहार गरेको अभियोग लागिसकेको थियो । सिन्धुले केही महिनाअघि नै हैदरावाद प्रहरीसमक्ष दुर्व्यवहारको उजुरी दिएकी थिइन् । २६ अप्रिलमा पूर्वन्यायाधीश, उनकी पत्नी, छोरा र एक घरेलु कामदारविरुद्ध दाइजो उत्पीडनको मुद्दा दायर गरिएको थियो ।
शुक्रबार यो सिसिटिभी फुटेज सार्वजनिक भएपछि भने मुद्दाबारे व्यापक चर्चा भइरहेको छ । उच्च अदालतको न्यायाधीश भइसकेका भेटेरान न्यायमूर्ति नै यस्तो हिंसामा उत्रिएको दृश्य चर्चाको विषय नबन्ने कुरा पनि त भएन !
‘क्रूरता, हिंसा र आपराधिक षड्यन्त्रका साथ दाइजो प्रताडना’को मुद्दा लागेका पूर्वन्यायाधीश राव र उनको परिवारविरुद्ध प्रहरीले सर्च वारेन्ट जारी गरेको छ । यो मुद्दामा सोमबार सुनुवाइ हुने बताइएको छ । भिडियो सार्वजनिक भएसँगै अदालतले सिन्धुका दुवै सन्तानको रेखदेखको जिम्मा सिन्धुलाई नै सुम्पने आदेश दिएको छ । यसअघि दुवै सन्तान राव परिवारसँगै थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।