आफूले हलाे जाेतेकाे स्मरण गर्दै प्रधानमन्त्रीले भने– स‌ंगठनको मात्र हाेइन, उत्पादन क्षेत्रको पनि नेता बन्नुस्

काठमाडौं– ‘म आफैँ हलो जोतेर, खेती गरेर आएको हुँ । मलाई जमिन, सिँचाइ र उत्पादनबारे राम्रोसँग थाहा छ ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो युवा उमेर सम्झँदै किसान नेताहरुसँग भने, ‘सिँचाइ र प्रविधिको उचित प्रबन्ध गर्न सकिए सानो ठाउँमा पनि धेरै उत्पादन गराएर लाभ लिन सकिन्छ ।’

गृहजिल्ला झापाको छिमेकी जिल्ला इलामले हरेक कान्ला र जमिनको टुक्रोलाई सदुपयोग गरेको उल्लेख गर्दै उनले मिहिनेत गरेमा ठूला घोगा मकै र झपक्क धानको बाला झुलाउन सकिने भएकाले स‌ंगठनको कामका साथै उत्पादन क्षेत्रको पनि नेता र अगुवा बन्न आग्रह गरे ।

प्रधानमन्त्री ओलीले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट अखिल नेपाल किसान महासंघको प्रथम केन्द्रीय कमिटीको बैठक र शपथ ग्रहण समारोहलाई म‌ंगलबार ललितपुरको धोबीघाटमा सम्बोधन गर्दै कृषिमा आधुनिकीकरण र व्यावसायीकरणका लागि सरकारले चलाएका पहलबारे पनि जानकारी दिए । 

नेपालको कुल क्षेत्रफलको २८ प्रतिशत भूमि (करिब ४१ लाख २१ हजार हेक्टर) कृषिभूमि रहेकामा सिँचाइको असुविधाका कारण हाल २६ लाख ४१ हजार हेक्टरमा मात्र खेती गरिएको छ । ‘हामीले प्रधानमन्त्री कृषि आधुनिकीकरणलगायत कार्यक्रममार्फत यस क्षेत्रलाई अगाडि बढाउन खोजेका छौँ । हाम्रो संयन्त्र र विज्ञलाई जमीनको एक टुक्रो पनि खाली नहुने गरी नयाँ प्रविधिका साथ जमीनलाई चक्लाबन्दी वा सामूहिक खेतीतर्फ लान खोजेका छौँ ।’ उनले भने, ‘सहकारी वा किसान सहकार्यमार्फत एक क्षेत्रमा एक मात्रै धेरै उत्पादन गरी बजारीकरणसहित लाभ लिने र निर्यात गर्ने स्थितिमा पुग्नुपर्छ । कृषि क्षेत्रलाई सरकारले दिने अनुदान र राहतमा निरन्तरता हुनेछ ।’

 प्रधानमन्त्री ओलीले लामो समयको बलिदान र संघर्षपछि संघय लोकतान्त्रिक गणतन्त्रसहितको संविधान जारी भएसँगै स्थिर सरकार सुशासन र विकासको बाटोमा लागेको र नेकपाको एकता प्रक्रियामा पूर्णतामा केही ढिलाइ भए पनि अब टुंगिएकाले पार्टीले गति लिने जानकारी दिए । प्रधानमन्त्री ओलीले कम्युनिस्टहरु झगडा गर्न र फुट्न मात्रै जान्दछन् भन्ने आरोप लागेका वेला आफूहरुले एकता गरी सामान्यत: बहुमत आउन गाह्रो हुने वर्तमान निर्वाचन प्रणालीमा पनि केन्द्रमा ६४ प्रतिशत मतसहित सरकार बनाएको उल्लेख गरे ।

उनले भने, ‘विश्वमै नयाँ ढंगको एकताबद्ध र अनुशासित कम्युनिस्ट पार्टी शान्तिपूर्ण प्रतिस्पर्धाबाट सरकारका जान सक्छ र राष्ट्रिय हितमा काम गर्न सक्छ भन्ने स्थापित भएको छ । अब कोही गरिब र कोही धनी भइरहने अवस्थाको अन्त्य गरी न्याय र समतामूलक मानवजातिका लागि सुरक्षित र समृद्धिको यात्रामा सिंगै समाजलाई उठाउन हामी लागेका छौँ ।’



देशलाई आत्मनिर्भर बनाउन उत्पादनलाई निर्यात गर्ने कामको अगुवाइ गर्न महासंघका केन्द्रीय नेतालाई आग्रह गर्दै प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओलीले कृषि क्षेत्रमा अबको क्रान्ति आधुनिकीकरण, व्यावसायिकरण र उन्नत कृषितर्फ हुने उल्लेख गरे ।

बैठकमा नेकपाका सचिवालय सदस्य एवं महासंघका इञ्चार्ज वामदेव गौतमले महासंघका केन्द्रीय कमिटीका सदस्यलाई शपथ गराए । नेकपाको गत जेठ २ गतेको सचिवालयको निर्देशनपछि तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) निकट २ सय ५१ सदस्यीय एकीकृत महासंघ गठन भएको थियो । महासंघको सहइञ्चार्जमा चित्रबहादुर श्रेष्ठ र सुनील मानन्धर तथा अध्यक्षमा हरि पराजुली रहेका छन् । तत्कालीन एमाले र माओवादी केन्द्रको २०७५ जेठ ३ गते एकता भएको थियो । 



बैठकमा मुलुकको वर्तमान सामाजिक आर्थिक अवस्थाको विकाससँगै नेपाली कृषि क्रान्तिको कार्यक्रम समृद्ध गर्ने लक्ष्यसहितको राजनीतिक प्रतिवेदन प्रस्तुत गरिएको छ ।

  • प्रकाशित मिति : असोज ८, २०७६ बुधबार १५:३८:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया