सरकार—आइजिपी टकराव उत्कर्षमा

काठमाडौं— सरकार र प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनालको टकराव बाहिर देखिन थालेको छ । यसअघि पनि बारम्बार सर्वेन्द्र खनाल र प्रधानमन्त्री केपी शर्मा ओलीबीचका मतभेद बाहिर आइरहेका थिए ।

यसपटक त सरकारले सर्वेन्द्रको अमेरिकी भ्रमणलाई नै अस्वीकृत गरिदिएको छ । सरकारले उनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै भ्रमण अस्वीकृत गरिदिएको एक मन्त्रीले फरक धारसँगको कुराकानीमा बताए । 

तर, सर्वेन्द्रमाथि सरकारले गरेको कडाई पहिलो पटक होइन । पछिल्लो समय चाहिँ आइजिपी सर्वेन्द्रसँग सरकारले उनी प्रत्यक्ष संलग्न हुनु पर्ने विषयमा पनि सल्लाह गर्न छाडेको छ । 

त्यसैको परिणाम हो, तीन एआइजीको सरुवा । मंगलबार मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका तीन एआइजीलाई सरुवा गर्ने निर्णय गरेको हो । स्रोतका अनुसार यो विषयमा आइजिपी खनालसँग कुनै सल्लाह भएको थिएन । अन्य सामान्य अवस्थामा चाहिँ एआइजी सरुवामा प्रहरी प्रधान कार्यालयले सिफारिस गरेर गृहमन्त्रालयमा पठाउने गरेको हुन्छ । गृहले त्यसलाई मन्त्रिपरिषद्मा लैजान्छ । 

तर, यसपटक यस विषयमा सर्वेन्द्र खनाललाई समेत केही थाहा नभएको बाहिर आउन थालेको छ । 

सर्वेन्द्रसँगको यो टकराव प्रधानमन्त्री केपी शर्मा ओलीको असन्तुष्टिका कारण भएको गृहमन्त्रालयका कर्मचारीहरुकै दाबी छ । ‘अहिले आइजिपीको विदेश भ्रमण रोक्नु पर्ने वा हामीलाई पनि थाहा नदिइ सरकारले प्रहरीको विषयमा निर्णय गर्नु पर्ने कुनै कारण नै थिएन,’ गृहमन्त्रालयका एक उच्च अधिकारीले बिहिबार विहान फोन वार्तामा फरक धारसँग भने, ‘यसले हामीलाई पनि अचम्ममा पारेको छ । अब यही स्थिति रहँदा यो विषयले नकारात्मक सन्देश बाहिर जान सम्भावना बढ्दै जान्छ ।’



अर्कोतिर असन्तुष्टि बढिरहँदा प्रधानमन्त्री ओलीले आइजिपी खनाललाई हटाउने प्रयास गरेको समेत हल्लाहरु चल्न थालेका छन् । ‘त्यो पनि हामीलाई थाहा हुने कुरा भएन,’ गृहका ती अधिकारीले भने, ‘तर, पछिल्लो समय प्रहरी र सरकारबीच तालमेल नमिलेको कुरा चाहिँ साँचो हो ।’

त्यसो त यसपटक आइजिपी खनाललाई सरकारले कुनै विभूषण पनि दिएन । यसअघि पदमा रहँदा नै सरकारले आइजिपीहरुलाई विभूषण दिने गरेको थियो । अघिल्लो वर्ष पनि आइजिपी खनाललाई विभूषण दिइएको थिएन । आइजिपी खनालले माघबाट अनिवार्य अवकाश पाउँदै छन् ।



  • प्रकाशित मिति : असोज ९, २०७६ बिहीबार ९:६:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया